काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा राजस्व असुली लक्ष्य पूरा नभएको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ । आयकर, मूल्यअभिवृद्धि (भ्याट) र अन्तःशुल्क लक्ष्यभन्दा कम संकलन भएको छ ।
चालू आर्थिक वर्षको ९ महिनामा १ खर्ब ७६ अर्ब ८५ करोड आयकर संकलन गर्ने लक्ष्य राखेकोमा १ खर्ब ६५ अर्ब ४६ करोड रुपैयाँ मात्रै संकलन भएको छ । जुन असुली लक्ष्यको ९४ प्रतिशत मात्रै हो ।
गत वर्षको यसै अवधिमा आयकर १६ प्रतिशतले बढी संकलन भएको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ । सरकारले भ्याट ९२ अर्ब ८५ करोड रुपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा ८० अर्ब ८८ करोड रुपैयाँ मात्रै संकलन भएको छ । जुन लक्ष्यको ८७ प्रतिशत मात्रै हो ।
अन्तःशुल्क लक्ष्यको ९६ प्रतिशत मात्रै संकलन भएको छ । ७४ अर्ब १८ करोड रुपैयाँ अन्तःशुल्कको लक्ष्य राखिएकोमा ७१ अर्ब ५६ करोड रुपैयाँ मात्रै संकलन भएको छ ।
आयकर, भ्याट, अन्तःशुल्क, ब्याज, घरवहाल कर, शैक्षिक कर लगायतका करसहित कुल आन्तरिक राजस्व लक्ष्यको ९१ प्रतिशत असुल भएको विभागले जनाएको छ ।
चालू आर्थिक वर्षको चैत महिनासम्ममा ३ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ कर संकलन गर्ने लक्ष्य राखिएकोमा ३ खर्ब ४२ अर्ब ७० करोड मात्रै उठ्ती भएको विभागले जनाएको छ ।
चैतमा मात्रै करिब ७१ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ८० प्रतिशत मात्रै असुल भएको विभागले जनाएको छ । बढ्दो आयातका कारण भुक्तानी सन्तुलन ऋणात्मक र विदेशी मुद्राको सञ्चिति घट्दै जादा प्रतितपत्र (एलसी)मा गरिएको कडाईले राजस्व संकलन प्रभावित भएको विभागले जनाएको छ ।
यसैगरी सरकारले पुँजीगत खर्च नबढाएकोले सेवा क्षेत्रबाट प्राप्त हुने भ्याटमा कमी आएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले बताए । गत वर्ष यस अवधिमा ५० प्रतिशत भ्याट कट्टी गर्न पाउनेमा यो वर्ष ३० प्रतिशत मात्रै भएकाले राजश्वमा कमी आएको उनले बताए ।
‘अहिले आयात सहज छैन । राष्ट्र बैंकले आयात गर्दा खोलिने एलसीमा गरेको कडाइले कतिपय व्यवसायको आम्दानी घटेको छ । पुँजीगत खर्चमा कमी र गत वर्ष ५० प्रतिशत भ्याट कट्टा गर्न पाउनेमा यो वर्ष ३० प्रतिशत मात्रै कायम गरिएकाले कर संकलनमा कमी आएको छ । तर, आयकर र अन्तःशुल्क गत वर्ष भन्दा राम्रै संकलन भएको छ’, प्याकुरेलले भने ।
खासगरी ठेक्कापट्टाबाट प्राप्त हुने भ्याट कम संकलन भएकाले उनले बताए । चैतमा मात्रै भने करिब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । ७१ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा करिब लक्ष्यको ८२ प्रतिशत मात्रै उठेको छ ।