काठमाडौं । २०७८ सुरु हुँदा पूर्वाधार क्षेत्रले निकै फड्को मारेको आभाष भए पनि वर्षको अन्त्यसम्म निरन्तरता पाउन भने सकेको छैन । ३ दशक लामो प्रतीक्षापछि २०७८ सालको सुरुवाती चरण अर्थात् २०७७ चैतमा मेलम्चीको पानी काठमाडौं आएर हर्षित बनेका जनता २०७८ वैशाख ११ गते पुनर्निमित धरहरा उद्घाटनले निकै उत्साहित भएका थिए ।
तर, उद्घाटनको एक वर्षसम्म पनि धरहरा चढ्न नपाउँदा सरकारको काम प्रतिसर्वसाधारण निराशा भएका छन् । सरकार परिवर्तन भएसँगै २ पटक आएको बजेटको कारण पनि विकास निर्माणले फड्को मार्न नसकेको बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयका इन्जिनियरका अनुसार जेठ १५ मा बजेट आएपछि सरकार परिवर्तन हुँदा भदौसम्म विकास निर्माणका काम गर्न आयोजनाहरूले सकेका थिएनन् ।
भदौ अन्तिममा आएको प्रतिस्थापन बजेट पछि मात्रै आयोजनाले काम गर्दा विगतका वर्षमा जस्तो प्रगति नदेखिएको उनीहरूको भनाइ छ ।
उद्घाटन भएको धरहराको म्याद थप
२०७८ साल सुरु भएसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमित धरहराको उद्घाटन गरेका थिए । वैशाख ११ गते उद्घाटन गर्दा ७० प्रतिशत भौतिक संरचना तयार भएको धरहरा माघबाट सर्वसाधारणका लागि खुला गर्ने बताइएको थियो ।
तर, उद्घाटनको एक वर्षमा पनि निर्माण कार्य सम्पन्न नभएको भन्दै धरहरा पुनर्निर्माणको जिम्मेवारी लिएको ‘रमन कन्ट्रक्सन’ले १ वर्ष म्याद थप गर्नुपर्ने जनाएको छ । यद्यपि फागुनसम्म ७८ प्रतिशत निर्माणको काम सकिएको जनाएको रमन कन्ट्रक्सनले आगामी दसैंसम्म सर्वसाधारणका लागि धरहरा खुला गर्ने तयारी गरेको छ ।
बन्चरेडाँडामा फोहोर फाल्ने सपना अधुरै
त्यस्तै चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्नु पर्ने बन्चरेडाँडा ल्यान्डफिल साइट पनि यो वर्ष निर्माण सम्पन्न भएको छैन । यसअघि कोरोनाको कारण सरकारले एकपटक म्याद थपेको सो आयोजनामा कालिका कन्ट्रक्सन र लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी २ वटा कम्पनीले काम गर्दै आएका छन् । कालिकाले करिब ४ महिना म्याद थप गर्न माग गरेको छ भने लुम्बिनीले १ वर्षको म्याद मागेका छन् ।
बन्चरेडाँडामा सेल वान र टु गरेर २ वटा फोहोर फाल्ने पोखरी निर्माण गरिएको छ । जसमध्ये सेल वान भने यहि वर्ष निर्माण कार्य सम्पन्न भइसकेको छ । सेल वानलाई काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्न सक्ने निर्माण कम्पनी तथा सहरी विकास तथा भवन निर्माण कम्पनीले जनाएका छन् ।
तर, स्थानीयले स्वास्थ्य, रोजगारी, जग्गाअधिग्रहणसम्बन्धी माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् । स्थानीयको उक्त माग महानगरले सम्बोधन गर्न नसक्ने भएकाले सेल वानमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भएको महानगरअन्तर्गतको वातावरण विभागकी प्रमुख सरिता राईको भनाइ छ ।
सुरुङको क्षेत्रमा सुखद् वर्ष २०७८
गत वर्षबाट नेपालमा सडक सञ्जालका लागि सुरुङ खन्ने कामको सुरुवात भएको थियो । नागढुंगाको सुरुङ खन्न सुरुभएसँगै देश सुरुङमार्गको युगमा प्रवेश गरेको जनाएको सरकारले गत माघमा फेरि सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।
२.७ किलोमिटर नागढुंगामा सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । त्यसमध्ये १६ अर्ब ६० करोड रुपैयाँ जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ भने नेपालले ५ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्ने छ । चैत ११ गतेसम्म नाढुंगाको भौतिक प्रगति ३५ प्रतिशत भइसकेको छ ।
सिद्धबाबा सुरुङमार्ग भने पूर्णरूपमा स्वदेशी लगानीमा निर्माण गर्न लागिएको छ । सिद्धार्थ राजमार्गमा बन्न लागेको ११ सय २६ मिटर लामो सिद्धबाबा सुरुमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँ ५ वर्षमा निर्माण गर्ने सम्झौता गरेको छ ।
सरकारले स्वादेशी लगानीमा १५ वटा सुरुङमार्ग निर्माण गर्न लागेको छ । त्यसमध्ये सिद्धबाबाको ठेक्क सम्झौता भयो भने दोलखाको लामाबगर सुरुङमार्गको अध्ययन सकिए पनि ठेक्का सम्झौता भने हुन सकेको छैन । उक्त २ वटा सुरुङमार्ग बाहेक स्वदेशी लगानीमा बन्ने १३ वटा सुरुङमार्गको सम्भाव्यता र विस्तृत सम्भाव्यता अध्ययनको क्रममा रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
१५ वटा स्वदेशि लगानीका बाहेक ६ वटा सुरुङमार्ग विभिन्न देशले निर्माण गर्ने जनाएका छन् । त्यसमध्ये बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्गको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले पूर्व संभाव्यता अध्ययन (प्रि फिजिबिलिटी स्टडी) अध्ययन गरिसकेको छ ।
जसअनुसार ७.८ किलोमिटर सुरुङ र १.५ किमी सडक निर्माण हुने छ । त्यस्तै ४० अर्ब रुपैयाँ लाग्ने पनि पूर्वसंभाव्यता अध्ययनले देखाएको छ । त्यसबाहेक टोखा–छहरे–गुर्जुभञ्ज्याङ र रसुवागल्छि–बेत्रावति सुरुङमार्ग चीन सरकाले निर्माण गर्ने बताइएको छ । तर, सरकारले विगत डेढ वर्षदेखि चिनियाँ पक्षसँग सम्पर्क भने गरेको छैन । जसको कराण उक्त सुरुङमार्गको विषयमा यो वर्ष कुनै पनि काम हुन सकेको छैन ।
बाहिरी चक्रपथको बजेट फिर्ता
काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन तथा सहरीकरणलाई व्यवस्थित गर्ने उद्देश्य स्वरूप निर्माण गर्न लागिएको बाहिरी चक्रपथ निर्माणको काम यो वर्ष केही पनि भएको छैन ।
चालू आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माणको लागि १ करोड ३६ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । जसमध्ये पुँजीगत अर्थात् निर्माणका लागि ३५ लाख ५० हजार रुपैयाँ प्राप्त भएको थियो । त्यसमध्ये पनि ३० लाख रुपैयाँ मात्रै बाहिरी चक्रपथको काममा खर्च गर्न मिल्ने छ भने बाँकी ५ लाख ५० हजार रुपैयाँ फर्निचर, फ्रिज, औजार मर्मत शीर्षकमा खर्च हुने प्राधिकरणले जनाएको छ ।
यसरी हेर्दा निर्माण खर्च ३० लाख रुपैयाँ हुन आउँछ । तर, उपत्यका विकास प्राधिकरणले उक्त रकम कम भएको तथा सरकारले निर्माणका लागि आवश्यक प्रक्रिया नै नपुर्याएको भन्दै बजेट फिर्ता गरेको हो ।
आयोजनाको मागभन्दा बढी बजेट अर्थले विनियोजन गरेको अर्थ मन्त्रालयले विभिन्न आयोजनामा मागभन्दा बढी रमक विनियोजन गरेको पाइएको छ । अर्थले स्वदेशी लगानीका आयोजनामा कम रकम र विदेशी सहायता तथा ऋण लगानीमा निर्माण हुने आयोजनामा मागभन्दा बढी बजेट विनियोजन भएको पाइएको हो ।
हालम्म राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ५० करोड र नागढुंगा सुरुङमार्गले ४ अर्ब रुपैयाँ बजेट बढी आएको भन्दै खर्च हुन नसक्ने जनाएका छन् । त्यस्तै सडक विभागले पनि बढी बजेट प्राप्त भएको कारण वैदेशिक सहायतातर्फको २० अर्ब रुपैयाँ बजेट खर्च हुन नसक्ने यसअघि नै जनाइसकेको छ ।
सडक विभगलाई चालू आवमा १ खर्ब २७ अर्ब प्राप्तमध्ये ७६ अर्ब रुपैयाँ वैदेशिक लगानीका आयोजनामा खर्च गर्नुपर्ने हुन्छ । चैत २८ गतेसम्म चालू आवको १ खर्ब २७ अर्बमध्ये साढे २७ प्रतिशत खर्च भएको विभागले जनाएको छ ।
संसदबाट एमसीसी पास
नेपालको संसदले फागुन १५ गते अर्थात् मार्च २७ मा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गरेको छ । लामो विवाद पछि यो वर्षबाट नेपाल सरकारले करिब ६० अर्ब रुपैयाँ अमेरीकी सहयोग रकम प्राप्त गरेको छ । एमसीसी कार्यान्वयन गर्ने जिम्मेवारी नेपालमा रहेको मिलेनियम च्यालेन्ज एकाउन्ड नेपाल विकास समिति (एमसीए नेपाल)लाई रहेको छ ।
यही वर्ष एमसीए नेपालले नुवाकोटको रातमाटेमा रहने सब स्टेसनका लागि ४०० रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ । जसका लागि १ अर्ब ४२ करोड रुपैयाँ मुआब्जासमेत वितरण भएको एमसीए नेपालले जनाएको छ । १० वटा जिल्लामा फैलने प्रसारण लाइनमा ८५६ वटा टावर रहने अनुमान एमसीए नेपालको छ ।
मेलम्चीमा बाढीले क्षति र अस्थायी पुनर्निर्माण
३ दशक लामो प्रतीक्षा पछि २०७७ को चैतबाट कठमाडौं उपत्यकावासीले सिधुपाल्चोकस्थित मेलम्ची खोलाको पानी पिउन पाएका थिए । तर, ३ महिना पनि मेलम्चीको पानी उपत्यकावासीले प्रयोग गर्न नपाई असार १ गते राती मेलम्ची खोलामा गाएको बाढीले आयोजनामा क्षति पुर्यायो ।
प्ररम्भिक अनुमानमा १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको भनिए पनि आधिकारिक क्षतिको विवरण आयोजनाले हालसम्म पनि निकाल्न सकेको छैन । अस्थायी रुपमा पुर्ननिर्माण गरेर चैतसम्म काठमाडौंमा ल्याउने सरकारको योजनाअनुसार आयोजनाको निर्माण गरेको पुरानै चिनियाँ कम्पनी सिनो हाइड्रोपावरलाई ३७ करोड रुपैयाँमा ठेक्का दिइएको थियो ।
सोहीअनुसार माघ दोस्रो साताबाट पुनर्निर्माण सुरु भई चैत २९ गते सुरुङमा पानी हालिएको छ । यद्यपि काठमाडौंमा पानी आइपुग्न भने १५ दिन लाग्ने आयोजनाका इन्जिनियर बताउँछन् । यसअघि करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको सो आयोजना निर्माण भएको थियो ।
लामो प्रतीक्षा पछि रेल सञ्चालन
यसै वर्ष प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत १९ गते भर्चुअल रूपमा भारतको विहार र नेपालको धनुषा जोड्ने रेल खण्डको उद्घाटन गरेका छन् ।
जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटरमध्ये ३५ किमी रेलमार्ग सञ्चालनमा आएको हो । रेलमार्ग निर्माणका लागि भारतले ८ अर्ब ७७ करोड रुपैयाँ अनुदान दिने जनाएको छ । ५ वटा डिब्बा रहेको सो रेलमा प्रत्येक डिब्बामा १३ सय जना अट्ने बताइएको छ ।
२०७७ असोजमा नेपाल ल्याइएको रेल जनशक्ति अभाव एवं अन्य प्राविधिक समस्याका कारण लामो समय त्रिपाल ओढाएर राखिएको थियो ।
उपत्यकाकै पहिलो चोभार सुक्खा बन्दरगाह सञ्चालन
२०७८ सालमा काठमाडौं उपत्यकाकै पहिलो चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ । चैत २२ गतेबाट सञ्चालनमा आएको सो बन्दरगाह २२० रोपनी क्षेत्रफलमा फैलिएको छ । बन्दरगाहमा ५०० ट्रक र त्यति नै संख्यामा कन्टेनर अट्ने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
डेढ अर्ब लगानीमा गत असारमा निर्माण सम्पन्न भएको बन्दरगाह ९ महिनापछि मात्रै सञ्चालनमा आएको हो । अब भारत तथा चीनलगायत तेस्रो मुलुकबाट सामान लिएर आएका कन्टेनर चेकजाँचको लागि सिधै काठमाडौं आउन सक्नेछन् ।