काठमाडौं । सरसरर्ती हेर्दा विक्रम संवत २०७८ साल उद्योगी व्यवसायीसहित आम मानिसका लागि खासै राम्रो भएन । कारणतः कोभिडको संक्रणदर बढ्ने र घट्ने गरेको कारण वर्षको सुरुवाती दुखद नै रह्यो ।
विस्तारै कोभिड संक्रमणदर कम हुँदै जानु र खोप पर्याप्त मात्रामा उपलब्ध हुँदै गएपछि भने जनजीवन सहज हुँदै गयो र अन्नतः वर्षको मध्यदेखि सामान्यकरण नै भयो । तथापि, अहिले पनि कोभिडको संक्रमण शून्य भने भइसकेको छैन ।
कठिन समयका बाबजुद पनि २०७८ मा आधा दर्जन ठूला उद्योग र व्यवसायहरू सञ्चालनमा आए । लामो समयदेखि निर्माण सुरु भएर पनि सञ्चालनमा ढिलाइ भइरहेका उद्योग तथा आयोजनाहरूका लागि ०७८ शुभारम्भका लागि सहज बन्यो ।
करिब ११ वर्षदेखि निर्माणधिन रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना असारको पहिलो साताबाट सञ्चालनमा आयो । ४५६ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको जुन आयोजनालाई राष्ट्रिय गौरबको आयोजनाका रूपमा राखिएको थियो ।
यी हुन् ०७८ सालमा सञ्चालनमा आएका ठूला उद्योग र आयोजना
हुवाासिन सिमेन्ट
लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले परीक्षण उत्पादनको सुरु गरेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा रहेको सो सिमेन्ट उद्योगमा नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको छ ।
आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने नेपाली लगानीकर्ता सुरज वैद्यले जानकारी दिए । अत्याधुनिक कम्प्युटर प्रविधि (सीसीआर)बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्न सकिने उनले बताए । अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल (भीआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने बताइएको छ । भीआरएम अत्याधुनिक प्रविधि हो । यो हुवासिनको आफ्नै उत्पादन हो । उद्योगले दैनिक ३ हजार टन सिमेन्ट र क्लिन्कर उत्पादन गर्छ ।
कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो ।
गोल्याण ग्रुपको पाँचतारे होटल ‘हायात प्लेस’
औद्योगिक घराना गोल्याण समूह लगायतको लगानी कोभिड महामारीका बीचमा पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा आएको छ । करिब ५ अर्ब रुपैयाँ लगानीमा काठमाडौंको ताहचलमा पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको हो । करिब एक दशकअघि सुविधासम्पन्न अपार्टमेन्ट बनाउने भन्दै निर्माण थालिएको भवनलाई होटलमा रूपान्तरण गरिएको हो ।
१० रोपनी क्षेत्रफलमा फैलिएको होटलसँगै अर्को भवन पनि छ । जुन अपार्टमेन्टका रूपमा प्रयोग गरिएको छ । सुुरुमा ४ अर्ब लगानी गर्ने योजना भए पनि कोरोना महामारीका कारण निर्माणले गति नलिँदा रकम बढेर करिब ५ अर्ब रुपैयाँ पुगेको होटलका अध्यक्ष शक्ति गोल्यानको भनाइ छ । हायात अन्तर्राष्ट्रिय चेन होटल हो ।
यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजारभन्दा बढी होटल सञ्चालनमा छन् । यो होटलको सञ्जाल विश्वका ६९ वटा देशमा फैलिएको छ । सन २०१६ देखि निर्माण सुरु भए पनि कोरोना महामारीका कारण निर्माणको काम लम्बिएको थियो ।
होटलमा कुल १५३ वटा कोठा छन् । जसमा ३ वटा स्वीट रुम छन् भने १५० वटा स्ट्यान्डर्ड रुम छन । त्यसमध्ये पनि ७ वटा रुममा टेरेसको सुविधा पनि छ । भवनको २ तला बेसमेन्ट छ । जुन पार्किङका लागि छुट्याइएको छ । त्यसपछिको तलामा लबी छ । जहाँ नेपालीपन झल्कने गरी कलाकृति देख्न सकिन्छ । लबीसँगै रेष्टुराँ र कन्फ्रेन्स हल पनि छ । कन्फ्रेन्स हलमा ४ सय जनासम्म अटाउन सक्छन् ।
गुण एयर
करिब ७ वर्षपछि आफ्नै ब्रान्डमा गुण एयरलाइन्सले उडान सुरु गरेको छ । दुई विचक्राफ्ट र पाँच जेट स्ट्रिमसहित सातवटा जहाजमार्फत उडान गर्दै आएको छ । गुण ग्रुपद्धारा सञ्चालनमा ल्याएको सो एयरलाइन्सले काठमाडौंबाट पोखरा, भरतपुर, तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान गर्दै आएको छ ।
गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । सन २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो । सिम्रिकसँग दुई अमेरिकी विचक्राफ्ट विमान थिए । त्यसमा थप पाँचवटा विमान खरिद गरी संख्या सात पु¥याइएको हो । गुण एयरलाइन्सले हालै यती एयरसँग रहेका पाँचवटा विमान खरिद गरेको थियो । गुणसँग दुई विचक्राफ्ट १८ सिट क्षमताका छन । जेटस्ट्रिम भने ३० सिट क्षमताका हुन ।
मस्ताङ हेली
उड्डयन क्षेत्रमा ०७८ मा नयाँ हेलिकप्टर कम्पनीको रुपमा मुस्ताङ हेलिकप्टरले उडान सुरु गरेको छ । १ वटा हेलिकप्टरमार्फत उडान सुरु गरेको सो कम्पनीले रेस्क्यू, चार्टर, कोभिडका बिरामी उद्धार, एरियल फोटोग्राफी, कार्गाे, कार्गो सिलिङलगायतका सेवा दिँदै आएको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्धक निर्देशक रोनन लामिछाने हुन् ।
पोखरामा अन्नपूर्ण केबलकार
पोखरामा अन्नपूर्ण केवलकार पूर्ण्यपमा सञ्चालनमा आएको छ । करिब २ अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको केवलकारले नेपालीहरूका लागिप्रति व्यक्ति ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर शुल्क निर्धारण गरेको कम्पनीले जनाएको छ ।
केबलकारबाट फेवाताल, अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुली लगायतका हिमाल श्रृखला, पुम्दीकोट महादेवको मूर्ति, विश्व शान्ति स्तुपाः पोखरालगायतको मनोरम दृश्य अवलोकन गर्न सकिने छ । केवलकार व्यवसायी कालु गुुरुङ सहितका समूहले सञ्चालनमा ल्याएका हुन् । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा तल्लो स्टेसन निर्माण भएको अन्नपूर्ण केवलकार सराङकोट डाँडासम्म करिब २.४ किलोमिटर दूरीमा रहेको छ । केवलकारमा हाल १८ वटा गुण्डला जडान भएको छ ।
चितवनमा सिराइचुली होटल
चितवनको भरतपुरमा चारतारे होटल सिराईचुली सञ्चालनमा आएको छ । सिराईचुली होटल प्रालिले होटल सञ्चालनमा ल्याएको हो ।
करिब ९० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो होटल १० कट्ठा क्षेत्रफलमा फैलिएको अध्यक्ष चूडामणि खनालले जानकारी दिए । उनले लामो समयदेखि चितवनलाई बेस बनाएर शिक्षा, स्वास्थ्य र हस्पिटालिटी क्षेत्रमा लगानी बढाउँदै आएका छन् । उनी युनाइटेड टेक्निकल कलेजका अध्यक्ष हुन भने नेपाल पोलिटेक्निक इन्स्टिच्युटका उपाध्यक्ष हुन ।
यस्तै नारायणी अस्पताल, पटियानी रिसोर्ट र कविलास रिसोर्टका डाइरेक्टरसमेत छन । होटलमा स्वीट्स, लक्जरी, डिलक्स, एजुकेटिभ र स्टान्डर लेभलका गरी ७१ वटा कोठाहरू छन् । आन्तरिक एवं बाह्य पर्यटकहरूलाई लक्षित गरी निर्माण गरिएको सो होटलले चारतारेको मान्यताका लागि प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।
४५६ मेगावाटको तामाकोसी आयोजना सञ्चालनमा
माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा आएको छ । करिब ११ वर्षदेखि निर्माणधिन अवस्थामा रहेको सो आयोजना दोलखाको लामाबगरमा बनेको हो । नेपालको जलविद्युत विकासको इतिहासमा नयाँ कोशेढुंगासमेत कायम भएको छ । स्वदेशी लगानीको हालसम्मकै सबैभन्दा ठूलो आयोजना निर्माण सुरु भएको झन्डै ११ वर्षपछि सम्पन्न भएको हो।
सुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण भने बढेर झण्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको जनाएको छ ।