काठमाडौं । कोभिडका कारण दुई वर्षदेखि थला परेको पर्यटन क्षेत्रमा नयाँ आशा जागेको छ । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा अधिकाशं होटल तथा रिसोर्टहरु भरिभराउ भएको छ । जसको कारण लामो समयदेखि थला परेको पर्यटन क्षेत्रमा नयाँ आशा जागेको पर्यटन व्यवसायीहरुको भनाई छ ।
काठमाडौंबाट बाहिरी क्षेत्रमा नयाँ वर्ष मनाउनका लागि जानेहरुको संख्या बढेसँगै आसपासका डाडामा रहेको होटल तथा रिसोर्टहरु भरिभराउ भएका छन् । भक्तपुरको रानिकोटमा रहेको होटल क्षेत्रमा पनि पर्यटक भरिभराउ भएको हाइल्याण्ड होटलका सञ्चालक रामसुन्दर बाकेले जानकारी दिए ।
गर्मि मौसममा सितल वातावरणमा नयाँ वर्षको स्वागतका लागि आउनेहरुको संख्या उत्साहजनक रहेको उनको भनाई छ । त्यस क्षेत्रमा रहेका अधिकाशं होटलहरु पूर्ण रुपमा भरिएको बताए ।
यस्तै नगरकोट क्षेत्रका होटल पनि पूर्ण रुपमा भरिभराउ रहेको व्यवसायीहरुको भनाई छ । काठमाडौंबाट नजिकको गन्तव्यको रुपमा रहेको नगरकोट,चन्द्रागिरी,लाकुरीभन्जाङ ,ललितपुरको गोदावरी लगाएतका स्थानमा रहेका होटल तथा रिसोर्टमा पनि पर्यटकहरुले भरिएको जनाएको छ ।
पर्यटकीय गन्तव्यको रुपमा विस्तार भएको धुलिखेल,कालिञ्चोक,चरिकोट र जिरीमा पनि पर्यटकहरुको भिड लागेको बताइएको छ ।
कालिञ्चोक र भिमेश्वर मन्दीरको दर्शनका लागि आउने पर्यटकहरुका कारण चरिकोट बजारमा रहेका होटलहरुको रौनक फेरिएको किस्मत होटलका सञ्चालक शान्त जिरेलले जानकारी दिए । चरिकोट लगाएत त्यस आसपासका क्षेत्रमा रहेका होटलहरु भरिभराउ भएको उनले बताए ।
योसँगै पोखरा र चितवनमा रहेका होटलहरु पनि पूर्ण रुपमा भरिएको व्यवसायीहरुको भनाई छ । पर्यटकहरुलाई लक्षित गरि पोखरामा नबौं फेवा महोत्सव सुरु भएको छ भने सौराहामा तीन दिने फुड फेष्टिबल सुरु भएको छ । यस्तै काठमाडौंको दरबारमार्गमा पनि १ गते सडक महोत्सवका लागि तयारी भएको छ । होटल व्यवसायी एवंम रेष्टुराँहरुको सयुक्त आयोजनामा सडक महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवले थप उत्साह दिएको जगल सफारी लज सौराहका सञ्चालक सुमन घिमिरेले जानकारी दिए । गर्मिको सिजन भएकोले बढी मात्रामा भारतीय पर्यटकहरु सौराहामा आएको उनको भनाई छ । भारतमा बढीनै गर्मि हुने र सौराहामा सितल खोज्न आउनेहरु पछिल्लो समय संख्या धेरै भएको उनले बताए ।
नयाँ वर्ष मनाउन आएका पर्यटकहरुलाई नयाँ स्वाद चखाउने उद्धेश्यका साथ मेलाको आयोजना गरिएको व्यवसायीहरुको भनाई छ ।