म्याग्दी । बेनी नगरपालिका६ बाँसबोटका किसान दुर्गाप्रसाद पौडेलले ५ वर्षदेखि व्यावसायिक भैंसीपालन गरिरहेको छन् । तर, अहिले लागतअनुसार दूधको मूल्य नपाएपछि भैंसी बेचेर विदेश पलायन हुने अवस्था आएको उनको गुनासो छ ।
दाना, घाँस, पराल र ढुवानी खर्चसँगै उत्पादन लागत बढेपछि गाईभैंसीपालक किसान समस्यामा परेको वरदान पशुपन्छी फार्मका सञ्चालक पौडेलको भनाइ छ ।
'२५ वटा भैंसी पालेको छु, २ वर्षअघि प्रतिबोरा १ हजार ३०० रुपैयाँमा पाइने दाना बढेर अहिले करिब ३ हजार पुग्न लागेको छ', उनी भन्छन्, 'दूध र दाना ढुवानी इन्धनको मूल्यवृद्धिले बढाएको छ । दूधको मूल्य पुरानै छ । अहिले हामीजस्ता किसान घाटा व्यहोरेर व्यवसाय गर्नुभन्दा गाईभैंसी बेचेर विदेश जाने मनस्थितिमा छौं ।'
म्याग्दीमा कृषकले प्रतिलिटर १० रुपैयाँ घाटा खाएर दूध बेच्दा डेरी व्यापारीले प्रतिलिटर ३० रुपैयाँ नाफा राखेर १२० का दरले दूध बेचेका छन् । विदेशबाट आएर गाईभैंसी पालेर स्वरोजगार बनेका युवा पुनः विदेश पलायन हुने अवस्था आएको बेनपा–७ कुरिलाखर्कको ढुंगाना पशुपन्छी फार्मका सञ्चाक सुरेश सुनाउँछन् । उनका अनुसार यहाँका किसान पलायन हुने अवस्थामा पुगेको बताए ।
म्याग्दीमा डेढ सयको हाराहारीमा रहेका गाईभैंसी फार्ममा करिब ५ सय जना निर्भर छन् । कोरोना महामारी फैलिएपछि चिज उद्योग बन्द हुँदा अन्नपूर्ण गाउँपालिकाको राम्चे, घार र पाउद्धारका ५० भन्दा बढी किसानले गाई बेचिसकेका छन् । चिज उद्योगबाहेक बजारमा गाईको दूध कम खपत हुने र भैंसीको दूध उत्पादनको लागत महँगाे पर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
बेनपा–५ चुत्रेनीका किसान झलकबहादुर कटुवालले भूगोल र समयअनुकूल दूधको मूल्य समायोजन गर्न नसके पशुपालक किसान विस्थापित हुने अवस्था रहेको बताए ।
'बेनीमा गाईको दूध खपत न्यून भएकाले भैैसी पालेका छौं', उनले भने, 'भैंसीको मूल्य पनि बढेको र दानापानी पनि बढी चाहिने हुनाले दूधको उत्पादन लागत बढी पर्न गएको हो ।'
बिचौलियाका कारण म्याग्दीका किसानले लामो समयदेखि कम मूल्यमा दूध बिक्री गर्न बाध्य छन् । व्यापारीले एक लिटर दूधमै ३० देखि ३५ सम्म नाफा खाइरहेका छन् । किसानहरू आफैं उपभोक्तासम्म पुग्न नसक्दा भाउ पाउन मुस्किल भएको हो । बिचौलियाका कारण लामो समयदेखि व्यावसायिक दूध उत्पादन गर्दै आएका किसानको जीवनस्तरमा सुधार आउन नसकेको कटुवालको गुनासो छ ।
दैनिक उपभोग्य सामग्री र खाद्यान्नमा महँगी बढ्दै गए पनि दूधको मूल्य बढेकाे छैन । दाना र घाँसको मूल्य निरन्तर बढिरहेको छ । तर, दूधको मूल्य बढेन । दैनिक २ हजार ५०० लिटरको हाराहारीमा दूध खपत हुने बेनी बजारका ४२ वटा डेरीमा यसअघि पर्वतको मल्लाज, लेकफाँट, धाइरिङ, पोखरा र बागलुङबाट दूध आयात हुने गर्दथ्यो ।
स्थानीय किसानले व्यावसायिक गाईभैंसी पाल्न थालेपछि केही वर्षयता म्याग्दीमा दूध आयात घटेको छ । आधुनिक कृषि तथा पशुपन्छी स्रोत केन्द्रका कोषाध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार सो केन्द्रमा आवद्ध २२ किसानले मात्र बेनीमा हाल दैनिक १ हजार २०० लिटर दूध ल्याउने गरेका छन् । महँगी र ढुवानी खर्चले बढेको दूध उत्पादनको लागतअनुसारको मूल्य समायोजन गर्न सरकारी निकायले सहजीकरण गर्नुपर्ने डेरी व्यवसायी वीरेन्द्र ढुंगानाको भनाइ छ ।
म्याग्दीको अर्थुङ्गे, खबरा, रत्नेचौर, बगरफाँट, बास्कुना, सिङ्गा, सिमलचौर, बरङ्जा, घतान, तोरीपानी, पात्लेखेत, घार, पाउद्धार र राम्चेमा व्यावसायिक गाईभैंसी फार्म छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांकअनुसार म्याग्दीमा पालिएका ९ हजार ३४७ गाई र १६ हजार २८६ भैंसीबाट वार्षिक ४ हजार ७२४ मेट्रिक टन दूध उत्पादन हुन्छ ।