काठमाडौं । पर्यटन क्षेत्रका लागि २०७८ साल सुखद भएन । कोभिड-१९ महामारीका कारण नेपालसहित विश्वको पर्यटनक्षेत्र पूर्णरुपमा ठप्प भयो ।
त्यसो त कोभिडको असर ०७६ को मध्यतिरबाटै देखिन थालेको थियो । विदेशी पर्यटकहरु आउने क्रम रोकिइसकेको थियो भने भएका पर्यटकहरु पनि धमाधम स्वदेश फर्किन थालेका थिए ।
अन्ततः नेपालमा पनि ०७६ साल चैत ११ गतेबाट लकडाउन (बन्दाबन्दी) सुरु भयो । सोही वर्षलाई सरकारले भ्रमण वर्ष २०२० मनाउने र २० लाख पर्यटक भित्र्याउने घोषणासमेत गरेको थियो ।
तर, घोषणा फापेन । भ्रमण वर्षको सुरुवातमै कोभिड संक्रमण बढेपछि स्थगित भयो । र, त्यसपछिका वर्ष अर्थात् हालसम्म पनि कोभिड पूर्णतः नियन्त्रणमा आइसकेको छैन । यसले गर्दा पर्यटन क्षेत्रमा उत्साह पनि अझै थपिइसकेको छैन ।
यद्यपि, कोभिडविरुद्धको खोप लगाउन थालेदेखि संक्रमणदर न्यून हुँदै गइरहेको छ । नेपालमा अधिकांश व्यक्तिहरुले कोभिडविरुद्धको खोप लगाइसकेका छन् भने विदेशमा पनि खोपको मात्रा पूरा गर्नेको संख्या अधिक छ ।
अहिले अधिकांश मुलुकले पूर्ण खोप लगाएकालाई सहज रुपमा यात्रा गर्न दिएका छन् । यसै सन्दर्भमा नेपालले पनि खोपको मात्रा पूरा गरेका विदेशीहरुलाई सहजै प्रवेश दिने निर्णय गरिसकेको छ । जसका कारण केही महिनायता नेपालमा विदेशी पर्यटक भित्रिने क्रम बढेको छ ।
फेब्रुअरी र मार्च महिनाको तथ्यांक हेर्दा पर्यटन क्षेत्रमा उत्साह थपिएको देखिन्छ । यसलाई व्यवसायीहरु पनि स्वीकार गर्छन् । नेपाल पर्यटन बोर्डले दिएको तथ्यांकअनुसार २०२२ को मार्च महिनामा मात्रै ४२ हजार ६ जना विदेशीहरु नेपालमा आएका छन् । २०२१ मा यही महिना १४ हजार ९७७ जना पर्यटक भित्रिएका थिए भने २०२२ फेब्रुअरीमा १९ हजार ७६६ आएका थिए । यो संख्या गत महिनाभन्दा २२ हजार २४० जनाले बढी हो ।
यो तथ्यांक हेरिरहँदा व्यवसायीहरु भने सरकारका निर्णय र नीति नियमका कारण आजित छन् । पछिल्लो समय सरकारले निर्यातमा रोक लगाएकोदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अभिव्यक्ति र कार्यशैलीप्रति आजित भएका हुन् ।
भर्खरभर्खरै तंग्रिन थालेको थियो पर्यटन व्यवसाय । तर, आयातमा रोक लगाएपछि नेपाल आउने पर्यटकलाई के खुवाउने भन्ने चिन्तामा व्यवसायीहरु पर्न थालेका छन् ।
विदेशी पर्यटकहरु नेपाल आउदा महँगा ब्रान्डका मदिरा खान खोज्छन् । त्यति मात्रै होइन, विदेशी पर्यटकका लागि होटलमा प्रयोग गर्ने अधिकांश सामान विदेशबाटै निर्यात हुन्छ । अन्य मुलुकले पर्यटकका लागि विभिन्न प्याकेज दिइरहेका बेला नेपालमा भने अधिकांश वस्तु आयातमा रोक लगाइएको छ । यसले नकारात्मक असर पुग्ने व्यवसायीहरु बताउँदै आएका छन् ।
पर्यटनमन्त्री प्रेम आलेको स्टन्टबाजीबाट हैरान
कोभिडले थला परेको पर्यटन क्षेत्रमा तालुकदार मन्त्री आलेको स्टन्टबाजीले व्यवसायी हैरान बने । विषेश गरी पर्यटन क्षेत्रलाई उकास्न मन्त्रालयले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने बेला स्टन्टबाजीको नाउँमा व्यवसायीलाई अनावश्यक दुःख दिएको भन्दै आलोचना भयो ।
मन्त्री आलेले बतास समूहले पशुपति धर्मशालामा सञ्चालन गरेको होटल आनन्द बन्द गर्ने निर्णयदेखि नारायणहिटी संग्रहालयभित्र बनाउँदै गरेको कफी सप भत्काउने काममा आफैं फिल्डमा उत्रिएको विषयलाई पनि चर्चाको रुपमा हेरियो । अन्ततः अदालतले होटल आनन्दलाई सञ्चालनमा रोक नलगाउन आदेश दिइसकेको छ ।
यस्तै दरबारमार्गमा सञ्चालनमा रहेको पाँचतारे होटल याक एन्ड यतीलाई पनि बन्द गराउने निर्णय विवादमा पर्यो । सो होटल अहिले सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर सञ्चालन भइरहेको छ ।
अर्कोतर्फ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई गरेको निलम्बन पनि सर्वोच्चको आदेशद्वारा रोकियो । अन्तरिम आदेश लिएर व्यवसाय सञ्चालन गर्दै आएका र काम गर्दै आएकाहरुमा अझै पनि मनोसामाजिक त्रास भने कायम नै छ । निलम्बन गरेकै बेला मन्त्री आलेले प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई ‘साँढे’ को सज्ञा दिएर सार्वजनिक रुपमै गालीगलौज गरेका थिए ।
यसै त कोभिडले पर्यटनक्षेत्र तहसनहस पारेको थियो । त्यसमाथि पर्यटनमन्त्रीले क्षणिक चर्चाका लागि गरेका अपरिपक्व निर्णयले व्यवसायीहरु त्रास फैलिएको बताउँछन् ।
नियुक्तिमा विवादै विवाद
मन्त्री आलेले नियुक्त गरेका अधिकांश व्यक्तिहरु विवादित छविका छन् । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेत विवादित छवि भएका व्यक्तिहरु हुन् । तर, मन्त्री आलेले सीमित स्वार्थपूर्तिकै लागि निम्न निकायमा नियुक्त गरेको भन्दै चौतर्फी विरोध भएको थियो ।
के चाहन्छन् व्यवसायी
०७८ साल जसोतसो रुपमा बिते पनि अब आउने नयाँ वर्षमा भने सरकारले पर्यटन क्षेत्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा व्यवसायीहरुको भनाइ छ ।
होटल एसोसिएसन अफ नेपाल (हान) का केन्द्रीय सदस्य एवं क्राउन प्लाजा ग्रुपका अध्यक्ष युवराज श्रेष्ठले सरकारले अघि सारेको १० दिने पेड होलिडेलाई तत्काल लागू गर्न सुझाव दिएका छन् । आन्तरिक पर्यटक चलायमान बनाउन पेड होलिडे महत्वपूर्ण रहने भएकाले यसमा ध्यान दिन आवश्यक रहेको बताउँछन् ।
यस्तै विदेशी एयरलाइन्सहरुले नेपाल आउने विदेशीहरुबाट हवाई भाडाबापत लिने चर्को शुल्कलाई घटाउनका लागि पहल गर्नुपर्ने र नेपाल एयरलाइन्सले विदेशमा धेरैभन्दा धेरै गन्तव्यमा उडान विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सरकारी संयन्त्रबाट पर्यटन क्षेत्रमा हुने हस्तक्षेप रोक्नुपर्ने बताउँछन्, ट्रेकिङ व्यवसायी नीलहरि बास्तोला । व्यवसायीहरुकै बलबुँताका कारण नेपालको पर्यटनक्षेत्र अहिलेको अवस्थामा ल्याउन सफल भएको बताउँदै आवश्यक नीति–नियममा सहजीकरण गर्नेदेखि अनावश्यक हस्तक्षेप बन्द गरे सहज हुँदै जाने बताए ।
उनका अुनसार पर्यटन क्षेत्रसम्बन्धी हुने निर्णयमा पर्यटन व्यवसायीहरुलाई पनि समावेश गर्नुपर्छ ।