काठमाडौं । बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको कारोबार साढे २१ प्रतिशतले बढेको छ ।
प्रतिष्ठित सौरभ ग्रुपको कम्पनी सर्वोत्तमले सिमेन्ट तथा कच्चावस्तु क्लिङ्कर बिक्रीबाट ८ अर्ब ९५ करोड रुपैयाँको कारोबार गरेको छ ।
अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ३७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
एक वर्षको अवधिमा सर्वोत्तमको कारोबार १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बढेको छ । उद्योगमा ग्रान्डिङ मेसिनको क्षमता बढेपछि आम्दानीमा सुधार आएको हो ।
अत्याधुनिक ग्रान्डिङ युनिट सञ्चालनमा आएकाले उत्पादन बढ्ने प्रक्षेपण उद्योगको छ ।
सिमेन्ट बिक्रीले सर्वोत्तमको ब्रान्डिङ भ्यालु बढाएको दाबी कम्पनीको छ । आम्दानी बढे पनि गत वर्ष क्लिङ्करको बिक्री ८ प्रतिशतले घटेको थियो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा उद्योगले ३ अर्ब ८१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी स्वस्थ्य रहे पनि चालू आवमा १९ प्रतिशतले घटेको छ ।
बर्खाका कारण सिमेन्ट बिक्रीमा आएको गिरावटले कम्पनीको आम्दानीमा गिरावट आएको हो । साथै प्रतिस्पर्धाले गर्दा सिमेन्ट र क्लिङ्कर दुवैको बिक्रीमा कमी आएको उद्योगले जनाएको छ ।
यस्तै अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य आकासिएपछि उत्पादन लागत बढेको जानकारी सर्वोत्तमले दिएको छ । सिमेन्ट तथा क्लिङ्कर बिक्रीमा सुधार आई आम्दानी बढ्ने अनुमान उद्योगको छ । यद्यपि कच्चावस्तु, कोइला, आस र जिप्सनको भाउमा आएको उतारचढावले उद्योगको नाफामा असर गर्ने अनुमान गरिएको छ ।
सरकारको पुँजीगत खर्च नहुँदा पनि सिमेन्टको व्यापारमा असर गरेको कम्पनीले जनाएको छ । उद्योगले कच्चावस्तु, क्लिङ्करका साथै सर्वोत्तम ब्रान्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
उद्योगको सिमेन्ट उत्पादन क्षमता वार्षिक १० लाख टन छ । कच्चावस्तुको मूल्यले सिमेन्ट उद्योगलाई बढी प्रभावित पारेको छ ।
उद्योगका देशभर २४०० डिलर छन् ।
सन् २०१० को अक्टुबरमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा स्थापना भएको सर्वोत्तम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न सन् २०१९ मा कम्पनी लिमिटेडमा परिणत भएको हो ।
गत माघमा बसेको कम्पनीको सञ्चालक समिति बैठकले बुक बिल्डिङबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरिसकेको छ । सौरभ ग्रुप दुई दशकदेखि सिमेन्ट उद्योग तथा स्टिललगायत अन्य व्यापारमा सक्रिय छ ।
ग्रुपको जगदम्बा सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्टमा पनि लगानी रहेको छ । सर्वोत्तमले यी दुई उद्योगलाई क्लिङकर बिक्री गर्दै आएको छ ।
उद्योगले ४ अर्ब ६८ करोड रुपैयाँको ऋणलाई इक्रा नेपालले रेटिङ गरेको छ ।
इक्राले ऋणलाई इक्राएनपी आईआर बीबीबी प्लस रेटिङ दिएको छ । कारखाना नवलपरासीको रामनगरमा छ ।