काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई देखाएर स्थानीय तहको चुनावमा भोट माग्ने भएको छ ।
उज्यालोका नायक भन्दै कुलमानलाई देखाएर भोट माग्ने नयाँ रणनीति माओवादी केन्द्रले अवलम्बन गरेको छ । माओवादी केन्द्रले अध्याँरोबाट उज्यालोको यात्रा पोस्टरमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्मासँगै कार्यकारी निर्देशक कुलमानको फोटो राखेर चुनावी पोस्टर सार्वजनिक गरेको हो ।
लोडसेडिङ अन्त्य हुने बेला २०७३ मा प्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान थिए । २०७३ को लक्ष्मीपूजाको दिनदेखि देशबाट लोडसेडिङ हट्न सुरु भएको हाे ।
कुलमानलाई जनार्दनले प्राधिकरणको कार्यकारी निर्देशक बनाएका हुन् ।
कमरेड प्रचण्डको फेसबुकमा पाेस्ट भएको चुनावी पोस्टरमा 'लोडसेडिङ अन्त्य एउटा फड्को अब पालाे निःशुल्क बिजुलीकाे' लेखिएको छ ।
सरकार स्वामित्वको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकजस्तो सार्वजनिक पदमा बहाल रहेका कुलमानलाई देखाएर भोट माग्न मिल्दैन ।
माओवादी केन्द्रले कुलमानलाई पार्टीको चुनावमा प्रयोग गर्न लागेको छ । उसले पोस्टरमा राखेर निर्वाचन आचारसंहिता उलंघन गरेको छ । केन्द्रले चुनावलाई प्रभावित बनाउन कुलमानको फोटो चुनावको पोस्टरमा राखेको हो ।
अध्यक्ष दाहाल र ऊर्जामन्त्री पम्फा भुसालको जोडबलमा कुलमान दोस्रोपटक विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएका थिए ।