काठमाडौं । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ ।
उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका वरिष्ठ उपाध्यक्ष डा.महेन्द्रनाथ लोहनी, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नबिल दिगो बैंकिंङका प्रबन्धक लिलाप्रसाद ओझाको उपस्थिति थियो ।
कृषि अन्तर्गत तरकारी खेती तथा माछापालन एवम बाख्रापालन, गाईपालनमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले दिगो बैंकिङ अन्र्तगतका कर्जा तथा वित्तीय साक्षरता प्रदान गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको हो ।
यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मुल्यांकन र विकाशमा केन्द्रित गर्ने रहेको छ ।
उक्त योजनामा हेफर इन्टरनेसनल नेपालका तर्फबाट सामाजिक उद्यमी, महिला सहकारी र विभिन्न स्थानका स्थानिय सरकार समेत आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन् ।
सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दीगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।