काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएकाे छ । मन्त्री श्रेष्ठले सन् २०२० देखि नविकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुंगाेमा पुर्याउन राजदूत पार्कसँग आग्रह गरेका छन् ।
राजदूत पार्कले ईपीएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए ।
सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लोपटक सन् २०१८ मा नवीकरण भएको र त्यसपछि २०२० देखि नवीकरण प्रक्रियामा रहेको छ ।
मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रकृयामा रहेकोले उनिहरुलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरेका छन् । रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उनले आग्रह गरे ।
दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । ईपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन् । ईपीएस अन्तर्गत नेपाली कामदारको संख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताए ।
सन् २०१८ मा भाषा परीक्षा पास गरेका दुई हजार जना नेपाली रोष्टरमा रहने म्याद सकिएकाले प्रक्रियामा सहभागी हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रकृयामा सहभागि गराउन आग्रह गरे। मन्त्री श्रेष्ठले रोजगार अनुमती प्रणालीअन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरुका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए ।
नेपाली नागरिक ठूलो संख्यामा दक्षिण कोरिया जाने गरेकाले नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमलाई पनि कोरियामा सूचीकृत गर्न, कोभिड महामारीका कारण सीधा उडान मात्र हुने गरेकोले ट्रान्जिट हुँदै समेत जाने व्यवस्था गर्न पनि उनले आग्रह गरे ।
निगमले पनि काठमाडौं-कोरिया उडानको प्रयत्न गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए । सो अवसरमा मन्त्री श्रेष्ठले कोरियामा प्राप्त हुन सक्ने मौसमी कामदारको अवसरबारे पनि राजदूतसँग चासो राखेका थिए ।
यस्तै कोरिया गई फर्केर आउने नेपाली नागरिकलाई पुनः कीकरणका लागि सहयोग गर्ने दक्षिण कोरिया सरकारको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए । यसका लागि कोरिया सरकारले ८० लाख डलर सहयोगको प्रस्ताव गरेको छ ।
कोरियामा ६५ हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।
नेपालीहरु मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको राजदूत पार्कले बताए ।