काठमाडौं । दुईओटा वाइडवडी विमान खरिद गर्न दिएको ऋणको किस्ता नबुझाएपछि नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमसँग नयाँ व्यावसायिक योजना (विजनेश प्लान) मागेको छ ।
कोषले केही दिनअघि निगमलाई पत्र पठाउदै तत्काल नयाँ विजनेश प्लान दिन भनेको हो । निगमले वाइडबडी जहाज किन्न नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिएको छ ।
१५ वर्षभित्र तिरिसक्ने गरी लिइएको ऋणको ब्याज मात्रै १ अर्ब २६ करोड तिर्न बाँकी छ । निगमले कर्मचारी सञ्चय कोषबाट पनि ११ अर्ब ९९ करोड रुपैयाँ ऋण लिएको छ । यो पनि १५ वर्षकै लागि हो ।
नियमित रुपमा किस्ता तिर्न नसकेपछि सञ्चय कोष गत असारमा १ अर्ब रुपैयाँ ब्याजलाई पनि सावाँमा गाभेर ब्याज लगाएको छ । यसअघि सञ्चय कोषले पनि नेपाल वायुसेवा निगमसँग नयाँ विजनेश प्लान मागेको थियो ।
नागरिक लगानी कोषले किस्ता तिर्न नसक्नुको कारणसहित नयाँ विजनेश प्लानअनुसार निगमलाई कसरी अगाडि बढाउने सोच छ ? जस्ता प्रश्नसहितको पत्र पठाएको निगम स्रोतले बतायो ।
सञ्चय कोषलाई यस अघिनै निगमले जवाफ दिइसकेको छ । त्यो बेला निगमले जहाज खरिद गर्दा बनाएको विजनेश प्लानअनुसार कुनैपनि गन्तव्यमा जहाज उडान गर्न नसकिएको र पुँजी वृद्धि गर्न नसकेको कारण समयमै किस्ता तिर्न नसकेको बताउँदै जापान र चीनमा उडान गरेपछि किस्ता तिर्ने जवाफ दिएको थियो । जापानमा उडान सुरु गरेपनि चीनमा भने अझै टुङ्गो लागेको छैन ।
सरकारसँग माग गरिएको २० अर्ब रुपैयाँ नपाएका कारण पनि समस्या भएको जनाएको थियो । अहिले पुनः लगानी कोषले पनि पत्र पठाएको जानकारी दिँदै त्यही प्रकृतिको जवाफ पठाउने तयारीमा निगम रहेको छ ।
जहाज खरिदको बेला तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले जापान, कोरिया, साउदी अरब, अस्ट्रेलिया र चीनमा उडान गर्ने गरी व्यावसायिक योजना बनाएका थिए । तर तीमध्ये भदौ १२ गतेबाट जापानमा उडान गरेको छ ।
सातामा ३ पटक जापान उडान गर्ने कार्यतालिका भए पनि यात्रु नपाएपछि दुई दिनमा झारिएको छ । यात्रु कम भएका कारण एउटा उडान गर्दा निगमलाई १ करोड रुपैयाँसम्म नोक्सान हुँदै आएको छ । यस्तै आगामी जनवरीदेखि जापानको टोकियोमा उडान गर्ने योजना निगमको छ ।
अन्य मुलुकमा युरोपियन युनियन (ईयू)को कालोसूचीलाई लिएर उडान गर्न दिएको छैन् । ईयूले लामो समयदेखि नेपाललाई कालोसूचीमा राख्दै आएको छ । संसदीय समितिमा पनि निगमलाई ऋण दिइएको बारेमा कर्मचारी सञ्चय कोषका पदाधिकारीसँग छलफल गरेको थियो ।