कुनै पनि पेशा व्यवसायहरु अर्थतन्त्रको विकास र सुदृढीकरणसँग सम्बन्धित हुन्छ । त्यो भनेको उत्पादन हो । उत्पादन नभई उत्पादनसँग जोडिएका सबै क्षेत्रलाई समस्या हुन्छ । आर्थिक वृद्धि भएन भने रोजगारी, राजश्व, राज्यले दिने समाजिक सुरक्षा र पत्रकारले पाउने पारिश्रमिक तथा स्वरोजगार मिडियाले पाउने विज्ञापन पनि प्रत्यक्ष असर पर्छ । आज देशमा त्यही आर्थिक वृद्धि सकारात्मक भइरहेको छ । ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको छ । सरकारले बढी बोल्यो भन्ने हो भने विश्व बैङ्कको प्रतिवेदनमा पनि त्यहि कुरा लेखिएको छ ।
यत्रो आर्थिक वृद्धि भैरहँदा पनि यो चैँ भएन, त्यो चैँ भएन भन्ने कुरा के हो ? हामीले त्यहाँ भित्र केही कुरा मिलेका छैनन् भने मिलाउने कुरा हो । तर समग्रमा मुलुकको क्षमता बढेको छ । आर्थिक वृद्धि दर बढेको छ । त्यो आर्थिक वृद्धिसँगै राज्यले थप काम गर्ने क्षमता बढेको छ । व्यावसायिक वातावरण त्यसकै जगमा बन्ने हो । भारतमा ७ बाट ५ प्रतिशत आर्थिक वृद्धि हुने भयो भन्दा नेपालमा धेरै रुवाबासी छ, त्यो किन भैरहेको छ, मैले बुझ्न सकिरहेको छैन् । हाम्रै आर्थिक वृद्धिदरका बारेमा अलि बढी चिन्ता गरौं । त्यसको केही हदसम्म हामीलाई असर पर्न सक्छ । त्यो हामीले हेर्छाैं । सरकारलाई सचेत पनि गराउनुस् । तर, युरोपियन र अमेरिकी मुलुकहरुले ५ प्रतिशतको आर्थिक वृद्धि नखेको दशकौं भयो ।
भारतले त्यो देखिरहेको छ । ३ देखि ३.५ प्रतिशतको वृद्धि हुँदा अर्थतन्त्र बुम भयो भन्छन् उनीहरु । एसियाली देशहरुले २ दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल गरेर हाम्रो बानी बिगारिदिए । ८ देखि १० प्रतिशतको वृद्धि दुई दशकसम्म हासिल गरिदिनुभयो । त्यसलाई म मिराकल भन्छु । त्यो मिराकर धेरै दिन टिक्दैन् । उच्चदरको आर्थिक वृद्धि निश्चित समयमसम्म मात्रै हुन्छ, सधै हुँदैन् । विश्वव्यापी प्रकाशनहरुले पनि अविकसित अवस्थाबाट विकासशिल देश बन्छ, तब त्यो आयको ट्रयापमा आफैं पर्छ । यसलाई मिडल इनकम ट्रयाप भन्छ । किन भने ज्याला बढ्छ, मानिसले श्रम र विश्रामका बीचमा विश्राम रोज्छन् । श्रमभन्दा विश्रामलाई ध्यान दिएर बढी ज्याला नपाएसम्म मान्छेले काम गर्दैन् । मान्छेले धेरै आराम खोज्न थालेपछि उत्पादन घट्छ । अनि मुलुकको प्रतिस्पर्धात्मक क्षमता घट्छ । प्रतिष्पर्धात्मक क्षमता घटेपछि मुलुकको निर्यात पनि घट्छ । आफ्ना उत्पादनहरु भनेजति प्रतिष्पर्धी नभएपछि अािर्थक वृद्धिमा अलिकति असर गर्छ । अहिले भारतमा पनि भएको त्यति मात्रै हो ।
अहिले विश्व व्यापारमा देखिएको तनाबले निर्यातलाई अलि बढी नै आर्थिक वृद्धिमा योगदान गरिरहेका मुलुकहरुको आर्थिक वृद्धिमा केही समस्या देखिइरहेका छन् । तर यी समस्या क्रमशः हल हुँदै जानेछन् । विश्व आर्थिक र व्यापारिक रुपमा खुला नीतिबाट पछाडि जान सक्दैन् । हामी जस्ता साना मुलुकहरुले भन्ने पनि यहि नै हो । अर्काे कुरा मुलुकभित्र आर्थिक वृद्धि त हुन्छ तर त्यसले रोजगारी सिर्जना गरेन र असमान भयो भने के हुन्छ ? तपाईंहरुले उठाउनुपर्ने कुरा चाँही यो हो । हाम्रो आर्थिक वृद्धिले कति रोजगारी सिर्जना गर्यो ? किन गरेन् ? ५ लाखभन्दा बढी रोजगारी चाहिन्छ भनिएको थियो, कति सिर्जना भयो त ? यसलाई छलफलको विषय बनाउनुपर्छ ।
हामीले रोजगारी सिर्जना भएन की भन्दा त अरुका लागि पो रोजगारी सिर्जना भैरहेका रहेछन् । प्यान अनिवार्य गरेपछि पोल खुलिरहेको छ । भारतका र देशै नचिन्नेहरुले रोजगारी पाइरहेका छन् । नागरिकतै छैन, प्यान लिन सकिन्न भन्दै आइरहेका छन् । देशमा सिर्जना भएको रोजगारी त अरुले नै पो लाभ लिइरहेका रहेछन् ।
कुराहरु उदाङ्गीदै आएको छ, हामीले सिर्जना गरेको रोजगारीको अवसर नेपाललाई दिन सकिएन, वा नेपालीहरुले काम गर्नै चाहेनन् वा अरु यस्तै केही भयो । त्यसमा हामीले छलफल गर्नुपर्छ । पत्रकारले अनुसन्धान मुलुक कलम चलाइ दिनुपर्नेछ । अर्काे कुरा, हामीले आर्थिक वृद्धि त गर्यौँ तर त्यो कसको कारणले भयो ? त्यसमा कुन कुन क्षेत्रको योगदान बढी देखियो ? कुनै एक दुई वटा उद्योगहरुले धेरै आम्दानी गरेर पो आर्थिक वृद्धि भएको हो की ? वित्तिय क्षेत्र वा उद्योग वा कृषि वा व्यापार मात्रै बढेर हो की ? भन्नेबारे छलफल गर्नु पर्छ ।
म तपाईहरुलाई एउटा कुरा चाँही स्पष्ट साथ भन्न चाहान्छु की गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सबै क्षेत्रको सन्तुलित योगदान छ । कृषि क्षेत्रको वृद्धि ५ प्रतिशतभन्दा माथिको छ । अरु केही क्षेत्रको वृद्धि ८ प्रतिशत भन्दा बढी छ । र समग्र आर्थिक क्षेत्रको वृद्धि ७.१ प्रतिशत माथी छ । कृषि बाहेक सबै क्षेत्रको योगदान ५ प्रतिशत भन्दामाथि रहेपछि ७.१ प्रतिशतको वृद्धिदर हासिल भएको हो ।
सबै क्षेत्रका अािर्थक क्रियाकलाप सन्तुलित ढङ्गले हासिल भएको छ । यो फेरी राजधानी, काठमाडौं, तराई क्षेत्रको मात्रै आर्थिक वृद्धिले मात्रै यो सफलता पाएको होइन् । सबै प्रदेशहरुको आर्थिकवृद्धिदर ८ प्रतिशतको हाराहारीमा छ । प्रदेश र स्थानीय तहरुहरुमा साधन र श्रोत समन्यायिक ढंगले वितरण हुन थालेपछि त्यसले अर्थतन्त्रको विकासमा ठुलो भूमिका खेलिरहेको छ । जगबाट नै आर्थिक वृद्धिको आधार खडा भैरहेको छ ।
सङ्घीयताको सन्दर्भमा यस्तो तथ्याङ्कको विश्लेषण गरिनुपर्छ । त्यसमा तथ्याङ्कको अभाव हुन सक्छ । कहिलेकाँही हामीलाई भ्रम पनि हुन सक्छ । अहिले ७६१ सरकार छन् । तिनको राजश्व र बजेट छुट्टा छुट्टै छन् । साझा अधिकारका कुरा पनि छन् । अब वित्तीय सङ्घीयता कार्यान्वयनका सवालमा प्रदेश र स्थानीय तहबाटै वित्तिय अनुशासन कायम होस्, लगानीको प्रतिफल नागरिकले पाउन भन्ने हाम्रो शुभेक्षा हो । राज्यले उठाएको स्रोतको दुरुपयोग रोक्न पनि कलम चलाउनुस्, हामी स्वागत गर्छाै ।
मुलुक रुपान्तरित हुँदै गर्दा हामी आफूले पनि रुपान्तरण हुनुपर्छ । मिडिया हाउसको प्रदेशमा पहुँच, सोही अनुसारको सामग्री उत्पादनमा पनि ध्यान दिनुपर्छ । अब मिडियाहरु पनि स्थानीयदेखि प्रदेशसम्म संरचना बनाइनुपर्छ । तपाईँहरुले आफ्नो संगठनलाई प्रदेश तहसम्म पुर्याउनु भएको रहेछ, त्यो चाँही मलाई पनि खुसी लाग्यो ।
पूँजी बजारबारे
हामीले कतिपय वित्तिय संस्था र सेवालाई पनि प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्नेछ । त्यो अर्थमा पूँजी बजारलाई पनि त्यही पुर्याउने हो । त्यसको पहिलो आधार भनेको वित्तिय क्षेत्र नै हो । २ वर्षमा बैंकका शाखा ५० प्रतिशतले बढेका छन् । डेढ वर्षको अवधिमा साढे ६ हजारबाट साढे ८ हजार पुगेछन् । मन्त्री हुनुभन्दा अघि बीमाको पहुँच ५ प्रतिशतभन्दा माथि पुग्यो भन्नै पाइन् । राष्ट्र बैंकको गभर्नर हुँदा निक्षेपको बीमा गर्ने व्यवस्था गरेपछि अढाई करोड खाता निक्षेप बीमाको दायरामा आएका छन् ।
त्यसमा लघु बीमा, सावधिक बीमा, अग्नि बीमाको हिस्सा पनि निकै कम छ । बीमाको पहुँच १० प्रतिशत भयो भन्ने सुन्दा निकै हर्षित हुनुपर्ने अवस्था थियो मै अर्थ मन्त्री हुँदा । अघिल्लो आर्थिक वर्षमो १९ प्रतिशत नागरिक बीमाको दायरामा आएको भन्ने सुनेको थिएँ । अहिले सुन्दै छु, त्यो २५ प्रतिशत पुग्यो रे । यो खुसीको कुरा हो । पाँच वर्षमा ५ प्रतिशतबाट २५ प्रतिशत नागरिक बीमाको दायरामा आएको कुुुरा सानो प्रगति होइन् ।
वित्तीय क्षेत्र पनि ३६५ स्थानीय तहबाट ७ सय ३५ स्थानीय तहमा वाणिज्य बैङ्क पुगिसकेका छन् । बैंकहरुको नाफा बढेको छ, बीमाको पहुँच पनि बढेको छ । त्यति धेरै बीमा कम्पनीहरु थपिँदा बजारले स्वीकार्न सक्ला त भन्ने थियो । ती कम्पनी पनि पहिलो वर्षदेखि नै नाफामा गएका छन् । बैंकिङ क्षेत्र नाफामा, बीमा क्षेत्र नाफामा, उद्योगको क्षमतामा अभिवृद्धि, औद्योगिक उत्पादनमा बढोत्तरी भएकै छ । सेवा क्षेत्रका अरु व्यवसाय पनि विस्तार भएकै छ । अनि तिनै क्षेत्रको प्रतिनिधित्व हुने सेयर बजारमा तपाईँहरुको गुनासा सुन्नु परिरहेको छ । करका विषय होलान् भन्ने सुनियो । भ्याटको कुरा अर्थमन्त्री हुुनुभन्दा अघि नै नलगाउनु भनेको थिएँ । पूँजीगत लाभकर गणनाका विषयमा केही दुविधा छन् ।
नेप्सेका जीएम यहिँ हुनुहुन्छ, उहाँलाई मैले स्पष्टसँग भनिदिएको छु । धितोपत्र बोर्डलाई पनि भनिदिएको छु । नेपाल राष्ट्र बैंकका हकमा पनि मैले स्पष्टसँग भनेको छु कि तपार्इंहरु नियामक हो, त्यहीअनुसार काम गर्नुस् । अर्थ मन्त्रालयलाई नियामकको पनि नियामक बनाउने मौका नदिनुस् । तपाईंहरुले काम गरुञ्जेल हामी केही गर्दैनौं । आफ्नो काम जिम्मेवारीपूर्वक गर्नुुस् । हामी तपार्इँलाई स्याबासी दिन्छौं । हस्तक्षेप गर्ने अवसर हामीलाई नदिनुस् । हामी आरोपित हुन चाहादैनौं । आफ्नो काम ढङ्गसँग गरुञ्जेल हामी छुँदैनौं । तपाईँहरुले बल पास गर्ने काम नगर्नुस् ।
अँग्रेजीमा एउटा उखान छ ‘यु क्यान टेक हर्स टु द वाटर बट यु कान्ट मेक इट ड्रिङक’ । घोडालाई पानीसम्म लैजान सक्नुहुन्छ तर पानी पिउने काम घोडाको हो । मलाई लाग्छ, हाम्रो घोडासक्षम छ, पानी पिउँछ, काम पनि गर्छ ।
अर्थतन्त्रका बारे केही कुरा गरौं । तपाईँहरुलाई सेयर बजार उकास्नुपर्ने चिन्ता छ । अर्थमन्त्रीलाई सिङ्गो अर्थतन्त्र नै उकास्नुपर्ने चिन्ता छ । मैले अलि ठूलो चिन्ता लिएर हिड्नुपर्छ, सोच्नुपर्छ । त्यसैले तपाईँहरुसँग सधँै संवाद र छलफल गर्ने समय मसँग हुन्न । समग्र अर्थतन्त्र उकास्ने जिम्मेवारी बोकेर हिडिरहँदा अरु त्यसकै अङ्ग हुन भन्ने मेरो बुझाई हो । ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नलाई के के गर्नुपर्छ, त्यो हामीलाई थाहा छ । कति लगानी गर्नुपर्छ, कति पूँजीगत खर्च गर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ ।
हामी पूँजी बजारबाट पैसा उठाउनै पर्छ भन्ने निष्कर्षमा छौं । आईपीओ, एफपिओ वा दोश्रो बजार नै किन भन्नुस्, सबै ढंगले धितोपत्र बजारको भूमिका अपरिहार्य हुन्छ । त्यसका लागि सुदृढ पूँजी बजार चाहिन्छ भन्ने सरकारको निकर्ष हो । तर सेयर निष्काशन गर्दा सेयर बिकेन भने त्यसलार्ई चाँही राम्रो मान्न सकिन्न । मेरो एउटा अनुरोध छ, बजारलाई खेलौना नबनाउनुस् । खेलाउन बनाउन लागियो भने आगोलाई खेलाउन थाल्दा कहिले काहीँ आफै जल्ने अवस्था आउँछ ।
सरकारको काम बारे
बजेट भाषणपछि म २।३ महिना खुल्ला कार्यक्रममा आइन् । त्यो अवधिमा चामल बेच्नेहरु आएनन् भनेर पिठो बेच्नेहरुले हैरान पारे । चामल बेच्नेहरु त कामै नलाग्ने हुन थालियो । चामल बेच्नुपर्ने रहेछ भनेर म यहाँ आएको हुँ ।
विद्धानहरु सहनशील हुन्छ भन्ने सुनियो, तर गालैमा चड्कन हानिरह्यो भने पनि सहेर बसिरहनु पर्ने हो र ? विद्धता पनि अचम्मको हुने रहेछ, महात्मा गान्धी चाँही एउटा गालामा थप्पड हान्यो भने पनि अर्काे गाला थाप्नु हुन्थ्यो रे । हामीले चाँही त्यस्तो गर्न सकेनौं अब । दुई चार चड्कन हानी सक्नु भयो, अब हाम्रा कुरा सुन्नुस् । हामी चड्कन चाँही हान्दैनौं ।
कहाँ अर्थतन्त्र बिग्रिएको छ, छलफल गरौं । गलत सूचना नदिनुस् । तपाईँको चड्कनले तपाईँलाई नै पीडा होला । तपार्इँको करिअर बिग्रेला । तर चश्मै दोषी भएपछि के गर्ने ? म पनि प्रोफेसनल करिअरबाट आएको मान्छे हुँ । हिजो पनि तपाईँहरुसँगै थिएँ र भोलि पनि हुनेछु ।
तपाईँहरुले भोलि पनि मसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था बनिरहोस् । म पनि त्यही गर्नेछु । म हिजो सत्य बोल्थेँ, आज सत्य बोल्छु र भोलि पनि सत्य नै बोलिरहने छु । तपाईँहरुले पनि त्यसै गर्नु होला ।
हाम्रो चामललाई कनिका नभन्नुस् । मक्किएको छ नभन्नुस्, जे देख्नु भएको छ त्यही भन्नुस् । हामीले गत वर्षलाई समृद्धिको आधार वर्ष भन्यौं । यससपालीलाई विकास वर्ष भनेका छौं । हाम्रो मात्रै प्रयासले त्यो उद्देश्य पूरा हुँदैन् । निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नुपर्नेछ । विदेशी लगानी पनि भित्र्याउनुपर्नेछ । त्यसको वातावरण बनाउने चाँही तपाई पत्रकारले हो । त्यसका लागि सकारात्मक भूमिका खेलिदिनुस् ।
सरकारले गरेको राम्रो काम बताइदिने र नराम्रो काम गरेको छ भने झकझकाइदिने कामलाई निरन्तरता दिनुस् । हामीले गरेका सुधारका प्रयासले राम्रो नतिजा दिनेवाला छ । म आजै यो वर्ष यस्तो यस्तो हुनेछ भन्दिन त्यो ज्योतिष जस्तो हुन्छ । तर हरेक ढङ्गले गतवर्षभन्दा यो वर्ष राम्रो हुनेछ । सरकारी खर्च र निजी क्षेत्र तथा वैदेशिक लागनीकै सन्दर्भमा पनि राम्रो हुनेछ ।
यहाँ कसैकसैले पिठो बेच्ने प्रयास गरिरहेका छन् । दाताहरुले पत्याएनन्, वैदेशिक सहायता आएन, विदेशी लगानी कम भयो भनेर । गत आर्थिक वर्षभन्दा अघिल्लो आवमा ५५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको रहेछ । गत वर्ष ५७.५ अर्बको प्रतिबद्धता आएको देखियो । हामीले स्वीकृत गरेको लगानीलाई रकममै परिवर्तन गरेर ल्याउन भने सकेका छैनौं । लगानीको प्रतिबद्धता, सम्झौता र लगानी भित्रिने कुरा फरक फरक चरण हुन् । कहिले वन, कहिले जमिन, कहिले के समस्याका कारण अलि ढिलो हुने गरेको छ । त्यसलाई सुल्झाउन एकद्धार प्रणाली पनि कार्यान्वयनमा ल्याएका छौं । कानूनहरु पनि संशोधन गरिसकेका छौं । अब विदेशी लगानी पनि बढ्छ ।
दाताहरुले दिन्छु भन्ने रकमको हिस्सा पनि बढिरहेकै छ । १३ खर्ब रुपैंयाँ दाताहरुले दिन्छु भनेका छन् तर हामी जम्मा २ खर्ब खर्च गरेर बसिरहेका छौं । यति धेरै स्रोत छ तर सरकारले खर्च गर्न सकेन् । यसपाली हामीलाई खर्च नगर्ने छुट छैन् । बजेटमै सहयोग गर्ने क्रम पनि बढिरहेकै छन् । सरकारको वित्तीय अनुशासन प्रतिको विश्वसनीयता हो । तर पनि दाताले पत्याएनन् भन्न पनि भ्याउँछन मान्छेहरु । त्यसकारण पनि म पिठो बेच्नुपर्ने रहेछ भनिरहेको छु र सार्वजनिक कार्यक्रमको उपयोग गरिरहेको छु ।
कुन मुलुकमा लगानीको वातावरण कस्तो छ भनेर हेर्दा कानूनदेखि नियमन, सुशासन, प्रशासकीय व्यवस्था, गोदाम घर, कुरियर, यातायात सेवासम्म जोडिन्छन् । यसमा ५ नम्बर ल्याउने देशलाई राम्रो मानिने रहेछ । हाम्रो देशले २.५ अंक ल्याएको रहेछ । आगमी वर्ष हामीले ३ अंक ल्याउने सोँच बनाएका छौं ।
डुइङ बिजनेशमा पनि त्यही नै हो । कतिपय अवस्थामा देशकै बारेमा पनि गलत तथ्य रिपोर्टिङ भइरहेको पायौं । नेपाल सरकारले दिएको तथ्याङ्क गलत छ भनेर लबिङ भैरहेको छ । आफ्नै देश र अर्थतन्त्रबारे गलत ब्रिफिङ भैरहेको छ । अजम्बरीको बुटी लिएर को नै आएको छ र लाइफ ज्याकेट नै लगाएको रहेछ भनेसँगै डुबाउने हो अब । देशकै विरुद्ध लबिङ नगर्नुस्, देशको साख गिराउने काम नगर्नुस् । हामी एउटै डुङ्गाका यात्री हौं । सरकार आइरहन्छ, गैरहन्छ । अर्थतन्त्र एउटै हो, त्यसलाई डुबाउने काम नगरौं ।
तपाईंहरुका कुरा बुझ्न म पनि तयार छु, तपाईंहरु पनि तयार हुनुहोस्, सहकार्य गरौं । अर्थतन्त्रमा विश्वास जगाउने अभियानमा तपाईंहरुको कलम चलोस् । सबै कुरा हाम्रो हातमा हुन्न तर धेरै कुरा हाम्रो हातमा हुन्छ । हामीसँगै मिलेर देश बनाउने अभियानमा लागौं । साधारण सभा सफलताको कामना गर्दछु ।
अर्थमन्त्री खतिवडाले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त गर्नुभएको विचारको संपादित अंश