काठमाडौं । मुलुकको वस्तु तथा सेवाको अवस्था मापन गर्ने चालू खाताको घाटा बढेर करिब ४६३ अर्ब पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको करिब ११ प्रतिशत हो ।
बढ्दो आयातका कारण चालू खाता घाटा निकै उच्च भएको छ । यसले मुलुक गम्भीर आर्थिक संकटतर्फ उन्मुख भएको प्रष्ट पारेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू खाताको घाटा ८ प्रतिशतभन्दा जानुलाई खतरा मान्छ । मुख्यगरी चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ८ प्रतिशतभन्दा माथि जानु, कुल कर्जा प्रवाह जीडीपीको शतप्रतिशत हुनु, बजारमा तरलता संकट हुन र ब्याजदर उच्च हुनुलाई आर्थिक संकटको सूचक रूपमा लिने गर्छ ।
अहिले नेपालमा यी सबै आर्थिक सूचकहरू ऋणात्मक रहेका छन् । चालू खातामा वस्तु तथा सेवाको आयात निर्यात र वस्तु तथा सेवाको व्यापारघाटा, विप्रेषण आप्रवाह लगायत नेट ट्रान्सफर समावेश हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्यमा भएको मूल्यवृद्धि , उच्च आयात तथा कमजाेर निर्यात, रेमिट्यान्समा आएको गिरावट, कोभिडले प्रभावित पर्यटन क्षेत्रमा सुधार नभएका कारण नेपालको चालू खाता घाटा करिब ११ प्रतिशत हाराहारीमा पुगेको हो ।
मुलुकमा आर्थिक संकट आइरहेको समयमा सरकारले भने राष्ट्र बैंकमाथि हस्तक्षेप बढाएको छ ।
अर्थमन्त्री र गभर्नरबीचको बढ्दो द्वन्द्वका कारण मन्त्रिपरिषदले गभर्नरलाई निलम्बन गरेको छ । सरकारलाई गभर्नर महाप्रसाद अधिकारीले असहयोग गरेको भन्दै छानबिन कमिटी बनाएपछि गभर्नर स्वत: निलम्बनमा परेका हुन् ।