एजेन्सी । अडानी ग्रुपका अध्यक्ष गौतम अडानीको नेटवर्थ रकेटको गतिमा बढिरहेको छ । सोमबार उनका सबै लिस्टेड कम्पनीको सेयरमा उछाल आयो । जसकारण उनको नेटवर्थमा ८.५ अर्ब डलर अर्थात् ६५ हजार ९१ करोड भारुको बढोत्तरी भयो ।
ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार अडानी ११८ अर्ब डलरको नेटवर्थसहित विश्वका छैटौं धनी बनेका छन् ।
एकै झट्कामा उनले अमेरिकी कम्प्युटर साइन्टिस्ट तथा उद्यमी लेरी पेजल एवं गुगलका को–फाउन्डर सर्गेई ब्रिनलाई पछि छाडे ।
अडानीको नेटवर्थमा यो वर्ष ४१.६ अर्ब डलर वृद्धि भएको छ । यो अन्य धनी व्यक्तिहरुको तुलनामा सबभन्दा बढी हो । यसै वर्ष विश्वका १० धनाढ्यहरुमा अडानीबाहेक सेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटको नेटवर्थमा पनि वृद्धि भएको छ भने अन्य अर्बपतिहरुको नेटवर्थमा गिरावट आएको छ ।
सोमबार भारतीय सेयर बजारमा गिरावट आउँदा पनि अडानी ग्रुपको सेयर भने १६ प्रतिशतले वृद्धि भयो ।
अडानी टोटल ग्यासको सेयरमा १० प्रतिशत, अडानी पोर्टमा १.८३, अडानी पावरमा ४.७८, अडानी विल्मरमा ४.९९, अडानी इन्टरप्राइजेजमा ०.३७ र अडानी ट्रान्समिसनमा ८.४० प्रतिशतले बढ्यो ।
यस्तै दुबईको इन्टरनेसनल होल्डिङ कम्पनी आईएचसीले ग्रुपका तीन कम्पनीमा प्रिफेरेन्सियल इस्यूमार्फत २ अर्ब डलर लगानी गर्न सहमत भएको छ । यससँगै सेयरमा पनि वृद्धि देखिएको हो ।
भारतकै अर्को कम्पनी रिलायन्स इन्डस्ट्रिजका चेयरमेन मुकेश अम्बानी विश्वका धनीहरुको सूचीमा ११ औं नम्बरमा पुगेका छन् । सोमबार मात्रै रिलायन्सको सेयमा गिरावट आउँदा उनको नेटवर्थमा ४.८२ करोड डलरको गिरावट आयो । उनी ९७.४ अर्ब डलरसहित ११ औं नम्बरमा पुगेका हुन् ।
यस वर्ष उनका नेटवर्थमा ७.४५ अर्ब डलर वृद्धि भएको हो ।
अडानी–अम्बानीको नेटवर्थमा २०.४ अर्ब डलरको अन्तर छ ।
मस्कको नेटवर्थ पनि ओरालो
टेस्लाका सीईओ एलन मस्क २९४ अर्ब डलरसहित विश्वका धनीहरुको टप सूचीमा छन् । सोमबार उनको नेटवर्थमा ११.५ अर्ब डलरको कमी आयो ।
यस्तै अमेजन फाउन्डर जेफ बेजोस १७६ अर्ब डलरसहित दोस्रो नम्बरमा छन् । तेस्रोमा १३९ अब डलरको नेटवर्थसहित बर्नार्ड आरनल्ट र चौथोमा १३० अर्ब डलरसहित बिल गेट्स छन् ।