काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोटमा निर्माणधीन बन्चरेडाँडा ल्यान्डफिल साइटको म्याद फेरि थप्नुपर्ने भएको छ ।
साइट निर्माण सम्पन्न गर्नुपर्ने म्याद चैत मसान्तसम्म भए पनि स्थानीयले अवरोध गरेपछि काम नसकिएको निर्माण कम्पनीले जनाएको छ ।
कालिका कन्ट्रक्सन र लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी निर्माण कम्पनीले साइट निर्माणको जिम्मेवारी लिएका छन् ।
२०७६ वैशाख २२ गते लुम्बिनी कोसी एन्ड न्यौपाने जेभीले एक वर्षभित्र र २०७६ चैत १८ गते कालिकाले २०७८ जेठ २० गतेसम्म सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागसँग निर्माण ठेक्का सम्झौता गरेका थिए ।
कोरोना महामारीका कारण निर्माण कार्यमा बाधा पुगेको भन्दै सरकारले दुवै कम्पनीको म्याद २०७८ चैत समान्तसम्म थप गरेको थियो । दुवै कम्पनीको म्याद यो महिनासम्म मात्र रहेको छ । निर्माण सम्पन्न नभएको भन्दै अन्तिम समयमा आएर दुवै कम्पनीले म्याद थपको प्रस्ताव ल्याएका छन् ।
यसअघि कोरोना संक्रमण र बाढी पहिरोको कारण निर्माण कार्यमा बाधा पुगेको बताउँदै आएको उक्त कम्पनीले चैत लागेसँगै निर्माण स्थलमा स्थानीयले अवरोध गर्दा म्याद थप गर्नुपर्ने जानकारी गराएका हुन् ।
ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेको बेला सरकार र काठमाडौं महानगरपालिकासँग विगतको सहमति कार्यान्वयनको माग राख्दै स्थानीयले अवरोध गरेका थिए । पटक–पटक काठमाडौं महानगरपालिका र सरकारले सहमति गरेर पनि जाजय माग पूरा नगरेको भन्दै स्थानीयले निर्माणकार्य नै प्रभावित पारेको कम्पनीको भनाइ छ ।
दुई साता काम बन्द भएको बताउने कम्पनीका प्रतिनिधिहरू म्याद थप भने ४ महिनादेखि १ वर्षसम्म आवश्यक पर्ने बताउँछन् । कालिका कन्स्ट्रक्सनले ४ महिनाको थप समय मागेको छ भने, लुम्बिनीले १ वर्षको थप समय माग गरेको जनाएका छन् । एक वर्षको समय फेरि थप्न प्रस्ताव गरेको लुम्बिनी कम्पनीका प्रबन्ध निर्देशक (एमडी) विष्णु शर्मा निर्माणको काम ९९ प्रतिशत सकिएको दाबी गर्छन् ।
साथै अबको १५ देखि २० दिनमा निर्माणकार्य सम्पन्न हुने उनको भनाइ छ । ९९ प्रतिशत काम सकिएको ठाउँमा फेरि १ वर्षको समय किन माग्नुभयो ? भन्ने प्रश्नको जवाफ दिँदै एमडी शर्माले भने, ‘मुख्य निर्माणको काम १५/२० दिनमा सकिन्छ, बाँकी साइटका अन्य कामहरू हुन्छन्, मर्मत नै गर्नुपर्ने हुन सक्छ त्यसका लागि १ वर्ष लाग्छ ।’
त्यस्तै कालिका कन्स्ट्रक्सनले भने ९५ प्रतिशत काम सकेको प्रोजेक्ट म्यानेजर सीताराम श्रेष्ठ बताउँछन् । उनका अनुसार करिब एक महिनामा कालिकाले आफ्नो जिम्मेवारी पूरा गर्नेछ । यद्यपि ४ महिनाको म्याद थप माग गरेको श्रेष्ठको भनाइ छ । ‘१ महिनामा काम सकिन्छ तर, ३/४ महिनाको म्याद थप मागेका छौं’, उनले भने ।
बन्चरेडाँडामा २ वटा सेल (फोहोर फाल्ने पोखरी) निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये ‘सेल वान’ निर्माण सम्पन्न भइसकेको निर्माण कम्पनी र सहरी विकास तथा भवन निर्माण विभागले गत असोजदेखि नै बताउँदै आएका छन् ।
काठमाडौं महानगरअन्तर्गतको वातावरण व्यवस्था विभागलाई भवन विभागले पत्र लेखेर नै फोहोर फाल्न आग्रह गर्दै आएको छ । तर, वातावरण विभाग भने पूर्णरूपले बन्चरेडाँडा निर्माण सम्पन्न नभएसम्म फोहोर नफाल्ने अडान लिँदै आएको छ ।
कालिकाले सुरुमा ४६ करोड ५ लाख २० हजार ३ सय ३७ रूपैयाँमा सम्झौता गरेको थियो । अहिले लागत बढेर ४९ करोड ३५ लाख १ हजार ८ सय रूपैयाँ पुगेको छ । त्यस्तै लुम्बिनी कोसी एन्ड न्यौपाने जेभीसँग ३९ करोड १९ लाख ६८ हजार ६ सय ३१ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
बन्चरेडाँडा ल्यान्डफिल साइटमा ५० लाख घनमिटर फोहोर व्यवस्थापन गर्ने गरी २०६६ सालमा १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसमध्ये ३१ हजार वर्ग मिटरलाई ल्यान्डफिलको मुख्यक्षेत्र मानेर काम अघि बढाइएको साइटका लागि करिब ६१ करोड रूपैयाँ मुआब्जा दिइएको थियो ।
साइटमा उपत्यकाको भक्तपुर नगरपालिकाबाहेकका अन्य सबै स्थानीय तहबाट १०४५ देखि ११ सय टनसम्म फोहोर दैनिक (१३५ ट्रिप) पुग्ने अनुमान सहरी विकास मन्त्रालयको छ । तर, हाल उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटकै सिसडोलमा भने दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर पुग्ने गरेको छ ।
विगत १६ वर्षदेखि सिसडोलमा फोहोर व्यवस्थापन गर्दै आएको कारण उक्त स्थानमा फोहोरकै पहाड बनेको छ । सोही फोहोरको पहाडमाथि बाटो बनाएर उपत्यकाबाट जाने ट्रिपर सिसडोल पुग्ने गर्छन् । जसले गर्दा हिउँद अर्थात् पानी नपर्दा केही सहज भए पनि पानी पर्नासाथ बाटो हिलाम्मे भएर सवारी साधन आवतजावतमा समस्या हुन्छ । जसका कारण उपत्यकामा महिनौंसम्म फोहोर थुप्रिने गर्छ ।