काठमाडौं । भोलि अर्थात् मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची पुगेर सुरुङमा पानी हाल्ने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको अस्थायी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेकाले प्रधानमन्त्रीले सुरुङमा पानी हाल्ने आयोजनाले जनाएको छ ।
प्रधानमन्त्रीसँगै खानेपानीमन्त्री उमाकान्त चौधरी, मन्त्रालयका सचिवलगायतका व्यक्तिहरु आयोजनास्थल अम्बाथानमा पुग्ने बताइएको छ ।
प्रधामन्त्री र खानेपानीमन्त्रीले स्थलगत रुपमा आयोजनाको अध्ययन गर्ने आयोजना प्रमुख बासुदेव पौडेलले बताए ।
तर, प्रधानमन्त्रीले सुरुङमा पानी हाल्नुलाई उद्घाटनको रुपमा नबुझ्न उनले आग्रहसमेत गरेका छन् ।
क्यापिटल नेपालसँग कुरा गर्दै पौडेलले भने, ‘एक पटक उद्घाटन भएको ठाउँमा फेरि उद्घाटन हुँदैन । प्रधानमन्त्रीसहितको टोलीले सुरुङमा पानी हालेर अनुगमन गर्ने कार्ययोजना छ । बाँकी विषयमा छलफल हुँदैछ ।’
खानेपानीमन्त्रीका प्रेस सल्लाहकार लिला खनालका अनुसार गत बिहिबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवा सिन्धुपाल्चोक जाने निर्णय गरेको थियो ।
प्रधानमन्त्री र मन्त्रीले नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने बताइएको छ ।
मंगलबार बिहान ९ बजे प्रधानमन्त्री देउवा र मन्त्री चौधरीले सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गर्ने कार्यतालिका रहेको छ । त्यस्तै १० बजे अम्बाथान पुगेर सुरुङमा पानी हाल्ने तयारी रहेको प्रेस सल्लाहकार खनालले बताए ।
काठमाडौंमा पानी आइपुग्न १५ दिन लाग्ने
आयोजना प्रमुख पौडेलका अनुसार सुरुङमा पानी हालेको १५ दिनसम्ममा काठमाडौंमा पानी आइपुग्नेछ । ‘हाम्रो सिस्टम अनुसार १५ दिन जति लाग्छ । अहिले मोटामोटी काम सकिएकाले सुरुङमा पानी हाल्ने तयारी गरेका हौं, अरु काम पनि भइरहेको छ’, उनले भने ।
गत असार र साउनमा मेलम्ची खोलामा गाएको बाढीले आयोजनामा क्षति पुगेपछि सरकारले प्रतिस्थापन बजेटमा नै चैतसम्म उपत्यकाभित्र पानी ल्याउने जनाएको थियो ।
यसअघि आयोजना निर्माणको काम गरेको चिनियाँ कम्पनी सिनो हाइड्रोले नै अस्थायी रुपमा मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण गरेको हो । सिनोले अस्थायी पुनर्निर्माण गर्न १ अर्ब १७ करोड रुपैयाँमा प्रस्ताव गरे पनि खानेपानी मन्त्रालयले ३७ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।