काठमाडौं । सभामुख अग्नि सापकोटा र मुख्यसचिव शंकरदास वैरागीलाई साक्षी राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र राजस्व बुझाउन तयार रहेको र त्यसको अपमान नगरिदिन आग्रह गरेका छन् ।
महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले भने ‘हामीले विस्तृत अध्ययन गरेका छौं, कार्यान्वयनमा सहकार्य गरिदिनुहोस्, हामी लगानी गर्छौं प्रक्रिया सहज बनाइदिनुहोस्, उत्पादन गर्छौं अवरोध नगरिदिनुहोस्, रोजगार दिन्छौं हडताल नगरिदिनुहोस्, निर्यात गर्छौं प्रोत्साहन गरिदिनुहोस् । यस्तै हामी पर्यटक ल्याउँछौं स्वागत पनि गरिदिनुहोस् ।'
अर्थतन्त्रमा ७७ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रलाई सिंहदरबार र राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे कुनै जानकारी नहुने बताउँदै यस्तो नीति किन ल्याइँदैछ र यसको असर के पर्छ त्यो पनि थाहा नहुने बताए । यस्तै उनले पछिल्लो समय मुलुकमा देखिएको संकट रोक्न रकम भित्र्याउने संयन्त्र बालियो पार्नुपर्नेमा जोड दिए ।
अर्थतन्त्रमा के कस्ता समस्या छन् भनेर हालसम्म सरकारले निजी क्षेत्रसँग छलफल नगरेको उनको भनाइ छ । ‘सञ्चारमाध्यममा हेर्दा अर्थतन्त्रमा ठूलै संकट देखिन्छ’, अध्यक्ष गोल्छाले भने, ‘उद्यमी व्यवसायीहरुसँग पनि सल्लाह गरी मिलेर समाधान निकाल्दा के नै बिग्रिन्छ र ?’
आफूहरु पनि यही मुलुकका नागरिक भएको र अर्थतन्त्रमा पनि ७७ प्रतिशत लगानी रहेको स्मरण गराउँदै ७५ प्रतिशत रोजगारी पनि आफूहरुले सिर्जना गरेको बताए । ‘सोही हाराहारीमा राजस्व हामी र हाम्रो माध्यमबाट संकलन हुन्छ’, उनले भने, ‘हामी पनि संकट समाधानार्थ योगदान दिन चाहन्छौं । मुलुकको माया हामीलाई पनि छ ।’
सात महिनाको तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘आठौं र नवौं महिनामा अर्थतन्त्रमा ठूलै संकट पो आयो कि ? हामी गत कात्तिकदेखि नै संकटोन्मुख भएका हौं । आयातमा केही प्रतिबन्ध लगाएर माघमा मंसिरभन्दा करिब ३० अर्ब कम आयात भएको पनि हो’, उनले थपे, ‘यो लम्बियो भने गैरकानुनी आयात हुने सम्भावना बढेको छ । त्यसतर्फ ध्यान दिन जरुरी छ ।’
नेपालको निजी क्षेत्र यसपटक दौडिन खोजेको भएपनि अर्थतन्त्रलले थेग्न नसकेको बताए । ६ प्रतिशत हाराहारी वृद्धि हुने वित्तिकै तरलता अभाव भइहाल्ने भएकोले निर्यात ९० प्रतिशत हाराहारी बढेपनि यसको मुल आधारनै निकै सानो रहेको उल्लेख गरे ।
कोभिड पछि पर्यटन आय ८० प्रतिशतले घटेको छ । रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ४७५ अर्ब रुपैयाँ पुगिसकेकोले यसको अर्थ अव रेमिट्यान्सले घाटा थेग्न नसक्ने नै भन्ने भएको दाबी गरे । ‘त्यसअघि बैंक वित्तीय संस्थालाई ब्याज बढाउ, त्यसले आयात निरुत्साहित हुन्छ भेनियो, बैंकहरुले पनि ब्याज बढाए, अध्यक्ष गोल्छाले भने, तर निक्षेप आउन सकेन ।’
पछिल्लो सात महिनामा निक्षेप करिब डेढ खर्ब हाराहारी मात्रै बढेको, कर्जा लगानी भने त्यसको साढे दुई गुणा बढी भएको, ब्याज बढेको र लागत महँगो भएको महासंघको दाबी छ । अध्यक्ष गोल्छाका अनुसार कहिले केन्द्रीय बैंक त कहिले अर्थमन्त्रालय थाइरहनुपर्यो । तर, केही पार लागेन । यदि यस्तै भएको खण्डमा अब व्यवसाय गर्न सकिँदन ।
पछिल्लो दुई वर्ष कोभिड पुनरुत्थानका लागि केन्द्रीय बैंकमार्फत प्राप्त सहयोगले तंग्रिन सहज भएको भए पनि संकट हुनेबित्तिकै भएका निर्णयले अन्योल सिर्जना भएको भनाइ गोल्छाको छ । ‘हामी बिजुलीमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्न सक्ने भयौं भनिरहँदा एकाएक उद्योगहरुमा बिजुली काट्न थालिएका छ । यसरी पिक आवरमा विद्युत् अवरोध हुँदा जेनेरेटर नचलाई सुखै छैन’ अध्यक्ष गोल्छाले भने ।
यसैबीच सभामुख सापकाटोले निजी क्षेत्रको समस्या समाधानका लागि सरकार सधैं तयार रहेको बताउँदै त्यसका लागि आवश्यक सहजीकरण गरिदिन तयार रहेको बताए । निजी क्षेत्रले अर्थतन्त्रमा दिएको योगदानलाई सम्मान गर्दै त्यसलाई बढाउनका लागि आवश्यक नीतिनियम बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत सापकोटाको थियो ।
यस्तै मुख्यसचिव वैरागीले अर्थतन्त्रको विषयमा सिंहदरबार र राष्ट्र बैंकमा हुने हरेक छलफलमा निजी क्षेत्रको प्रतिनिधित्व गराउने बताए । ‘सरकारले निजी क्षेत्रलाई कहिल्यै पनि बायस गरेको छैन’, वैरागीले भने, ‘प्राविधिक कारणले नबोलाइएको हुनसक्छ, अब त्यस्तो हुँदैन ।’
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सिथिल भएको अर्थतन्त्रलाई उकास्नका लागि नीजि क्षेत्र तयार रहेको बताउँदै आवश्यक सहजिकरण सरकारले गरिदिनुपर्ने बताए । कोभिडले थला परेको व्यवसाय उकास्न सरकारले सहयोग गरे नीजि क्षेत्र लगानीका लागि सदैब तयारहेको उनको भनाई छ ।