म्याग्दी । गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ ।
दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति पुर्याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुन बताउँछन् ।उनका अनुसार विद्युत् पोल र लाइनमा क्षति पुगेकाले मर्मतकार्य जटिल हुँदा तीन दिनदेखि गाउँमा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, कुटानी पिसानी गर्न र विद्यार्थीलाई नजिकिँदै गरेको एसइईलगायत विद्यालय तहका परीक्षाको तयारी गर्न समस्या उत्पन्न भएको छ ।
यसैगरी बेनी–२ बगरफाँटमा बाढीले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढीले मुहान र पाइपलाइन बगाएपछि २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । गाउँमा रहेका २८ धारामा पानी नआएपछि स्थानीयवासी कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका छन् ।
विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । बगरफाँट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर कार्कीका अनुसार पाइपलाइनको मर्मतकार्य भइरहेकोले अझै केही समय खानेपानीको समस्या हुने देखिएको छ ।
गाउँका पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायत पानीका आधा दर्जन बढी स्रोत भए पनि तिनलाई व्यवस्थित गर्न नसक्दा वर्षौंदेखि खाने पानीको समस्या झेल्दै आएका छन् ।