रुकुम । रुकुम (पूर्व) मा कृषि गणना गर्न १८ गणक र ५ सुपरिवेक्षक खटिने भएका छन् ।
केन्द्रीय तथ्यांक विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौं कृषि गणना हुन लागेको हो ।
गणनामा खटिने जिल्लाका गणक रसुपरिवेक्षकका लागि रुकुमकोटमा तालिम आयाेजना गरिएकाे छ । तालिम आगामी वैशाख ३ गतेसम्म चल्ने कृषि गणना कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । गणनाका लागि जिल्लामा ४९ गणना क्षेत्र तोकिएकोे कार्यालय प्रमुख शतिसकुमार चौधरीले जानकारी दिए । उनका अनुसार कृषि गणना वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ ।
४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ । गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिँचित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारीबाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, तथा प्रमुख बालीको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोगलगायतको विवरण संकलन हुनेछ ।
जातअनुसार पाल्तु पशुपन्छीकाे संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउखेती, पुष्पखेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको प्रर्याप्तताका बारेमा पनि जानकारी संकलन हुनेछ ।