काठमाडौं । केही महिनायता पर्यटकहरु बढेसँगै हेलिकप्टर व्यवसायमा चहलपहल सुरु भएको छ । कोभिडका कारण लामो समयदेखि ठप्प रहेको पर्यटनक्षेत्र बिस्तारै चलायमान हुँदै गएको छ । सोसँगै आबद्ध व्यवसायमा पनि नयाँ भाइब्रेट सुरु भएको हो ।
यति बेला हेलिकप्टरहरु पनि पर्यटक ओसारपसारमा व्यस्त हुन थालेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मार्च महिनामा मात्रै ४२ हजार ६ जना विदेशीहरु नेपालमा आएका छन् । २०२१ मा यही महिना १४ हजार ९७७ जना पर्यटक भित्रिएका थिए भने २०२२ फेब्रुअरीमा १९ हजार ७६६ आएका थिए । योसंख्या गत महिनाभन्दा २२ हजार २४० जनाले बढी हो ।
गत वर्ष भन्दा ७ गुणाले पर्यटक नेपाल भित्रिएसँगै हेलिकप्टर क्षेत्रमा पनि आशा जागेको छ । त्यसमाथि हिमाल आरोहणको सिजन भएकाले पनि हेलिकप्टरलाई उडानमा भ्याइनभ्याइ भएको हो । तर, विगतका दुई वर्षको तुलनामा अहिले धेरै पर्यटक आएका र व्यवसायीहरुमा पनि उत्साह जागेको कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जानकारी दिए ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढेको हवाई इन्धनको मूल्यबृद्धिमा हेलिकप्टर क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उनी बताउछन् । हवाई जहाजमा जसरी स्वचालित प्रणालीमा मूल्यवृद्धि नहुने भएकोले पछिल्लो समय व्यस्तता बढेपनि नाफाँ भने नहुने बताए ।
हिमाल आरोहण गर्न आउनेहरुको संख्या बढेसँगै हेलिकप्टर क्षेत्रमा पनि व्यस्तता बढेको हेली एभरेस्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पाले जानकारी दिए । पर्यटकको संख्या वृद्धि भएसँगै अहिले मागअनुसारको सेवा दिनसमेत मुस्किल हुन थालेको उनको भनाइ छ ।
‘पहिलेभन्दा धेरै माग बढेकाले समय मिलाउनै मुस्किल परेको छ’, प्रबन्ध निर्देशक शेर्पाले भने, ‘अहिलेको व्यस्तताले नाफा नदिए पनि घाटा भने छैन ।’
कोभिडका कारण विगत दुई वर्षदेखि हेलिकप्टर क्षेत्र समस्यामा परेको थियो । यसले गर्दा अधिकाशं हेलिकप्टर कम्पनीहरु घाटामा थिए । उनीहरुले घाटा विवरण सार्वजनिक नगरे पनि करोडौं घाटामा रहेको एक व्यवसायीले जानकारी दिए । यसअघि हेलिकप्टर उडानमा रहे पनि तीव्र प्रतिस्पर्धाका कारण सस्तोमा उडान भर्दा तत्कालीन फाइदा पुगे पनि दीर्घकालका लागि भने घाटा भएको व्यवसायीहरुले नै स्वीकार गर्दै आएका छन् ।
अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले पछिल्लो केही साता हिमाली जिल्लामा मौसममा समस्या आउँदा जहाज जान नसकेको र हेलिकप्टर प्रयोग बढेकाले पनि व्यस्तता देखाएको बताए । यसले एकातिर हेलिकप्टर व्यवसायीलाई राहत दिए पनि समग्रमा उत्साह भइहाल्नुपर्ने अवस्थामा नआएको बताए ।
यस्तै समिट हेलिकप्टरका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीले पनि पर्यटक आगमनको वृद्धिले व्यवसायीहरुमा केही आशा थपेको बताए । ‘पछिल्लो समय केही उत्साह बढेको छ’, कार्कीले भने, ‘यो क्रम निरन्तर रहे अब व्यवसायीहरु पलायन हुनबाट बच्नुहुन्छ ।’
तर, केही महिनादेखि बढेको हवाई इन्धनले अर्को समस्या थपिएको उनको भनाइ छ । पर्यटक बढेसँगै होटल व्यवसाय पनि तंग्रिन थालेको छ । अहिले काठमाडौंका होटलहरुमा ९० प्रतिशत अकुपेन्सी रहेको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय सबैभन्दा बढी भारतीय पर्यटकहरु नेपालमा आएका छन् ।