काठमाडौं । वैदेशिक मुद्राको सञ्चिति जोगाउन नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुको प्रतीतपत्र (एलसी) खोल्न बन्द गरेपछि अहिले बजारमा ती वस्तुको अभाव देखिन थालेको छ ।
बैंकले एलसी खोल्न बन्द गरेको एक हप्तामै बजारमा वस्तु अभाव हुन थालेको हो । व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गराएर उपभोक्ताबाट बढी मूल्य असुल्न लागेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई करिब ३०० प्रकारका वस्तुको सूची दिँदै एलसी नखोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले विलासिताका वस्तुको आयातमा मात्रै कडाइ गरेको बताए पनि वाणिज्य बैंकहरुलाई दिएको सूचीमा विलासिताका वस्तुहरुबाहेक अन्य वस्तु पनि छन् ।
एलसी खोल्न प्रतिबन्ध लगाएका गाडी, सुनचाँदी, केही कस्मेटिक वस्तुको मात्रै चर्चा भएको छ । यद्यपि चिनी, चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य पदार्थ, परफ्युम, कस्मेटिक सामान, काठका वस्तु, जुत्ताचप्पल, छाता, लठ्ठी आदि छन् । त्यस्तै िमार्बल, सिमेन्ट, प्लास्टर, सेरामिकका सामानको पनि एलसी खोल्न बन्द गरिएको छ ।
त्यस्तै मेकअपका सामान, कपालमा लगाउने क्रिम, स्याम्पु, काठ, फर्निचर, बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुस, छातासम्मको एलसी खोेल्न बन्द गरेको छ । त्यस्तै ढुंगाका सामग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, फर्निचर तथा फर्निसिङ, खेलौना, खेलकुदका सामग्रीहरुको पनि अब आयात नहुने भएको छ ।
यसबाहेक खाद्य बस्तुमा कफी, चिया, दुग्धजन्य पदार्थ, प्राकृतिक मह, अन्डा, प्लान्ट, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स, छोकडा, मरिच, मासु, माछा पनि प्रतिबन्धि रहेका छन् ।
यसबाहेक अप्टिकल, मेडिकल तथा सर्जिकलका सामग्रीको पनि एलसी खोल्न बन्द गरिएको छ । त्यस्तै गाईवस्तुको दाना, शरीरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विडका साथै साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामग्री, कार्पेट र फ्लोरमा लगाउने सामग्री, कपडा, मोती, बहुमूल्य ढुंगा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, एन्टिक, डिजाइन गाडी, मोपेड, साइकल, गाडी तथा यसमा लाग्ने पाट्स, मेसिनरी तथा पार्टपुर्जा, धान, चामल, सुन, रेडिमेड कपडा, विद्युतीय उपकरण, कपडाजन्य वस्तु, चाँदी, धागोलगायतको पनि एलसी बन्द गरिएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बोलाएर यस्ता वस्तुको एलसी नखोल्न भन्दै पत्र थमाएको थियो । त्यसपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले आफ्ना शाखामा पत्राचार गर्दै एलसी बन्द गर्न भनेको थियो । राष्ट्र बैंकले एक साता अघि मात्रै एलसी बन्द गरेको थियो । एक सातामै बजारमा यस्ता वस्तुको अभाव देखिन थालेको छ ।
राष्ट्र बैंकले आयात बन्द गरेका वस्तुहरुको सरकारसँग यकीन तथ्यांक छैन । खाद्यन्नतर्फको अनुमानित ६ महिना धान्ने तथ्यांक भए पनि अन्य वस्तुहरुको छैन । नेपाल खुद्रा व्यापार संघले खाद्यन्नतर्फ प्रतिबन्ध नलगाएका कारण त्यस्तो समस्या नआएको बताएका छन् । तर, उपभोक्तामा भने मनोवैज्ञानिक त्रास भएको बताइएको छ ।
खुद्रा व्यापारी संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार व्यापारीसँग सामान्य तथा ६ महिनाको मौज्दात हुन्छ, आयात बन्दै गरिए पनि ६ महिनालाई पुग्छ, त्यसमाथि खाद्यन्न आयात बन्द भएको छैन । कतिपय व्यापारीले मौका छोपेर यसै बेला पुराना सामान बेच्ने तयारीमा समेत रहेको उनले बताए ।
राष्ट्र बैंकले आयात बन्द गर्नुपूर्व सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर वस्तुको यर्थाथ विवरण लिनुपर्ने थियो । तर, त्यस्तो हुन सकेन ।
बजारमा वस्तुको कृत्रिम अभाव हुन थालेको जानकारी आफूलाई भए पनि त्यसले झन् त्रास फैलिने भन्दै अरुलाई जानकारी नगराएको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् ।
‘एलसी बन्द गरिएका वस्तु बजारबाट हराउन थाले भनेर हिजो सुनें’, उनले भने, ‘बाहिर भन्दा थप त्रास फैलिने भएर भनेको छैन । म विभाग र मन्त्रालयसँग छलफल गर्ने तयारीमा छु ।’
त्यस्तै उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना शतप्रतिशत मार्जिनको व्यवस्था गरेदेखि नै बजारबाट सामान हराउन थालेको बताउँछन् ।
‘वाणिज्य विभाग निकम्मा भयो कम गर्न सकेन । लामो समयदेखि मन्त्रायल खाली थियो, अहिले मन्त्री आउनुभएको छ । भोलि मन्त्रीलाई भेटेर यो विषयमा कुरा राख्छु’, तिमिल्सिनाले भने ।
बजारमा व्यापारीले बस्तुको कृतिम अभार सिर्जना गर ेपनि नियमनकारी निकाय मौन रहेको छ । यस्तो अवस्थामा वाणिज्य विभगले के गरिरहेको छ भनि हामीले पटक पटक सम्पर्क गर्न खोज्दा पनि विभागका प्रवक्ता हरि पंगेनिले फोन उठाएनन् ।