काठमाडाैं । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ७ करोड रुपैयाँबराबरको ७ लाख कित्ता सेयर स्थानीयका लागि निष्कासन तथा बिक्री खुला गरेको जनाएको छ ।
साधारण सेयरमा आवेदकले १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । यसका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमी बैंकको खाँदबारी र चैनपुर शाखा, निष्कासन कम्पनीको आयोजना कार्यालय संखुवासभा र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रवर्धन गरिरहेको १०.३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजनाको अनुमानित प्रतिमेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ ।
कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।