काठमाडौं । पछिल्लो समय विशेष गरी रुस–युक्रेन युद्धले दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासिँदै गइरहेको छ । यसले हाम्रो भान्सालाई दिनप्रतिदिन महँगो बनाउँदै लगेको छ । पेट्रोलियम पदार्थदेखि खानेतेलसम्मको भाउ छोइनसक्नु भइरहेका बेला इन्डोनेसियामा पाम आयलको संकट गहिरिन थालेको छ ।
विश्वमा पाम आयल उत्पादन सबभन्दा धेरै इन्डोनेसियामा हुन्छ । यस्तै निर्यातमा पनि उक्त देश अग्रणी मानिन्छ ।
तर, यति बेला त्यहाँ पाम आयलको आपूर्ति कडा बनिरहेको छ । सोही कारण घरेलु मूल्य प्रतिलिटर २२ हजार रुपी पुगेको छ । इन्डोनेसियाको १ रुपैयाँबराबर नेपाली ०.००८४ पैसा हुन्छ । अर्थात् झन्डै १८५ रुपैयाँ पर्न जान्छ । यो करबाहेकको मूल्य हो ।
गत वर्षको तुलनामा इन्डोनेसियामा पाम आयलको मूल्य ५७.१८ प्रतिशतले बढेको हो । इन्डोनेसियन सरकारले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्दै निर्यात रोक्ने तयारीसमेत गरेको छ ।
इन्डोनेसियामा पाम आयलको मूल्य बढेसँगै भारतमा पनि यसको मूल्य स्वतः बढ्ने देखिन्छ । भारत विश्वकै ठूलो भेजिटेबल्स आयल आयातकर्ता हो ।
भारतको आयातमा पाम आयलको हिस्सा ठूलो छ । प्रत्येक वर्ष उसले १ करोड ५० लाख टन खाद्यतेल आयात गर्छ । यसमा पाम आयलको हिस्सा ९० लाख टन छ । भारतले सबभन्दा धेरै तेल इन्डोनेसियाबाट आयात गर्छ ।
सन् ०२०/०२१ मा भारतले इन्डोनेसियबाट मात्रै ४०.९५ लाख टन क्रुड (कच्चा) पाम आयल आयात गरेको थियो । यद्यपि ०२१/०२२ को पहिलो १० महिनामा इन्डोनेसियाको तुलनामा मलेसियाबाट धेरै तेल आयात गरेको छ ।
अमेरिकी कृषि विभागको अनुमानअनुसार ०२१/०२२ मा इन्डोनेसियामा पाम आयलको उत्पादन ४ करोड ५५ लाख टन हुनेछ । यो वैश्विक उत्पादनको कुल ६० प्रतिशत हो ।
इन्डोनेसियाले प्रत्येक वर्ष २ करोड ९० लाख टन पाम आयल निर्यात गर्छ ।
नेपालमा कस्तो असर ?
इन्डोनेसियामा पाम आयलको मूल्य बढेसँगै नेपालमा पनि बढ्ने निश्चित छ । कारण, इन्डोनेसियाबाट ठूलो परिमाणमा नेपालमा पाम आयल आयात हुन्छ ।
भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको ८ महिनामा १८ करोड ८८ लाख ७४ हजार ९५५ लिटर कच्चा तथा प्रशोधित तेल आयात भएको देखिन्छ ।
नेपाली बजारमा पाम आयलको मूल्य प्रतिलिटर २६० रुपैयाँ हाराहारी छ । नेपाल पनि ठूलो आयातकर्तामध्ये एक भएकाले त्यहाँ मूल्य बढ्दा नेपाली बजारमा पनि बढ्ने लगभग निश्चित छ ।