खाेटाङ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण भएको छ ।
संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्डस्टोर निर्माण भएको हो ।
स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख रुपैयाँ र नगरपालिकाको ४० लाख रुपैयाँ गरी कुल ९० लाखको लागतमा निर्मितचिस्यान केन्द्र शुक्रबारबाट सञ्चालनमा आएको हाे । लाखौंको कृषि उपज कारोबार हुने बुइँपास्थित पञ्चदोबाटोको शुक्रबारे हटियामा यसअघि चिस्यान केन्द्र नहुँदा किसानलाई भण्डारणमा ठूलो समस्या हुने गरेको थियो । तर, केन्द्र निर्माण भएपछि वर्षौंदेखि कृषकले भोग्दै आएको भण्डारणसम्बन्धी समस्या अन्त्य भएको बुइँपाका वडाध्यक्ष दिनेश राईले बताए ।
चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरी राख्ने र बाहिरी जिल्लामा समेत निर्यात गर्ने योजना बनाइएको छ । भण्डारण गरेर राखिएकाे हरियो तरकारी महिनादिनसम्म र फलफूल चारदेखि ६ महिनासम्म सुरक्षित रहने बताइएको छ ।
किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणाअनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको स्वामित्वमा रहने साे केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने कार्यविधि बनाइएको छ ।
नगरपालिकाले निर्माण गरेको कार्यविधिअनुसार केही समयपछि बुइँपाका कृषक समूहमध्ये उत्कृष्ट समूह छनोट गरी केन्द्र सञ्चालनको जिम्मा दिइने वडाध्यक्ष राईले जानकारी दिए । कृषक समूहले किसानका कृषि उपज भण्डारण गरेबापत मासिक रूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्ने जनाइएको छ । पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएपछि स्थानीय कृषकहरूसमेत हर्षित भएका छन् ।