म्याग्दी । म्याग्दीका विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ ।
बेनी नगरपालिका सहित रघुगंगा र मंगला गाउँपालिकामा असिनाले गहुँ, जौ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् ।
रघुगंगाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुन्डे, भकिम्ली, डडुवा, मंगलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो ।
भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको हाे । यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ । हावाहुरीसँगै परेकाे असिनापानीले सुन्तला जातका फलफूल र तरकारी खेतीमा पनि क्षति पुर्याएकाे छ ।
क्षतिको पूर्ण विवरण आइनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण संकलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।