काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका सञ्चालकहरु नै कमिसनको खेलमा लागेको गम्भिर आरोप लगाएका छन । अर्थमन्त्री शर्माले आफु निकट व्यवसायी पृथ्वीबहादुर शाहको मुद्रा निर्मलीकरण गर्न राष्ट्र बैंकका एक सञ्चालकले ३० हजार डलर घुस मागेको आरोप लगाएका हुन ।
राष्ट्र बैंकले ‘अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन’ मा बोल्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकको सञ्चालकको नाम नखुलाए पनि कुनै एक सञ्चालकले ३० हजार डलर मागेको आरोप लगाए । ‘सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु । आधिकारिक के हो मलाई थाहा छैन । डलर खुलाउन एक सञ्चालकले ३० हजार डलर चाहियो भनेको रे । यस्ता सञ्चालक भएपछि पार्दशिता हुन्छ कहाँ हुन्छ ? उनले प्रश्न गरेका छन ।
अर्थमन्त्री शर्माले कतिपय गोप्य कुराहरु पनि मिडियालाई बोलाएर सूचना दिएको भन्दै उनले राष्ट्र बैंकको सञ्चालक समितिप्रति भ्रष्ट्राचारको आरोप लगाएका छन ।
राष्ट्र बैंकजस्तो नियमनकारी निकायको कर्मचारी वा सञ्चालकमाथि नै यस्तो प्रश्न उठ्नुलाई निकै गम्भिर विषय मानिन्छ । अर्थमन्त्री शर्माले सार्वजनिक कार्यक्रममा नै राष्ट्र बैंकका सञ्चालकमाथि नै भ्रष्ट्राचारको आरोप लगाउनुले नियमकारी निकायको निष्पक्षतामाथि प्रश्न उठेको छ ।
यद्यपी अर्थमन्त्रीको नियतमाथि पनि शंका गर्नेको कमी छैन । अर्थमन्त्रीले आफुमाथि लागेको आरोपलाई विषयान्तर गर्न राष्ट्र बैंकमाथि दोष थोपरेर उम्किन खोजेकोसमेत बताइएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिका सदस्यमाथि भ्रष्ट्राचारको आरोप अर्थमन्त्रीले नै लगाएपछि यसको प्रमाणित पनि गर्नुपर्छ । नियामक निकायको नियतमाथि प्रश्न उठ्नु जनताको भरोसामाथि आघात पुग्ने भएकाले अर्थमन्त्रीमाथि उक्त कुरा प्रमाणित गर्ने पर्याप्त प्रमाण आवश्यक पर्नेमा पूर्वगर्भनरहरुले जोड दिएका छन ।
अर्थ मन्त्रालयका तर्फबाट अर्थसचिव नै राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य हुने भएकाले अर्थमन्त्रीले राष्ट्र बैंक सञ्चालक समितिमाथि आरोप लगाउनुले गम्भिर शंसय पैदा गरेको छ ।
राष्ट्र बैंकको सञ्चालक समितिमा राष्ट्र बैंककै गभर्नर अध्यक्ष र दुई डेपुटी गभर्नर सदस्य रहन्छन । यसैगरी अर्थसचिव सदस्य रहन्छ भने बैंक तथा वित्तीय वा अर्थिक क्षेत्रमा २० अनुभव हासिल गरेका ३ जना स्वतन्त्र सञ्चालक हुन्छ । स्वतन्त्र सञ्चालकको नियुक्ति सरकारले गर्दछ ।
हाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्धय डा. निलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्र, अर्थसचिव मधुकुमार मरासीनी, प्रा.डा. श्रीराम पौडेल, रामजी रेग्मी र सुवोधकुमार कर्ण छन ।
अर्थमन्त्री शर्माले आफुमाथि लागेको आरोपको विषयान्तर गर्न राष्ट्र बैंकको सञ्चालक समितिमाथि आरोप लगाएको पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
‘अर्थमन्त्री शर्माले आफुमाथि लागेको आरोपको ढाकछोप गर्न केन्द्रीय बैंकका अधिकारीहरुमा दोष देखाएका हुन । सञ्चालक र गभर्नरमाथि आरोप लगाएपछि विषयान्तर हुन्छ र आफु जोगिन्छु भन्ने अर्थमन्त्रीको मनासाय हो’ उनले भने ।
अछामका पृथ्वीबहादुर शाहको नाममा रहेको स्रोत नखुलेको ४० करोड रुपैयाँ बाराबरको विदेशी मुद्रालाई वैधता दिन अर्थमन्त्री नै सक्रिय रहेको आरोप लागेको छ । अर्थमन्त्री शर्माले खण्डन गर्दै १४ करोड रुपैयाँ मात्रै आफुले स्वीकृति दिनका लागि पत्र लखेको र त्यसमा सम्पत्ति शुद्धिकरण विभाग समेतको स्वीकृति रहेको बताएका थिए ।
सम्पत्ति शुद्धिकरण विभागले स्वीकृति दिए पनि राष्ट्र बैंकको वित्तीय सुचना ईकाइले रोकेको भन्दै अर्थमन्त्रीले राष्ट्र बैंकलाई उक्त रकम रिलिज गरिदिन पत्र पठाएका थिए । पृथ्वीबहादुर शाहले समेत पत्रकार सम्मेलन गरी आफुसँग राष्ट्र बैंकका कर्मचारीले नै २५ प्रतिशत कमिसन मागेको आरोप लगाएका थिए ।
अर्थमन्त्री जस्तो व्यक्तिले हचुवाको भरमा यस्ता आरोप लगाउन नमिल्ने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको भनाई छ । अर्थमन्त्रीले आफुसँग यथेष्ट प्रमाण लिएर राष्ट्र बैकको सञ्चालक समितिका बारेमा बोलेका हुनु भनेर सोच्नुपर्ने उनले बताए ।
‘अर्थमन्त्रीले यस्तो बताएका छन भने केही प्रमाण लिएर बोलेका हुन की भनेर सोच्नुपर्यो । उनी पनि जिम्मेवार मान्छे त हुन । यस्तो आरोप लगाएपछि अर्थमन्त्रीले आफुसँग भएको प्रमाण पनि देखाउन सक्नुपर्छ होला’ उनले भने ।
नेपालमा यस्ता प्रकारको आरोप सबैलाई लाग्ने गरेको उनले बताए । ‘केहि दिनअघि मात्रै कराउ, मरिच र सुपारी आयातका लागि प्रधानमन्त्रीले जोड लगाए भन्ने कुराहरु आए । यद्यपी यो आरोपका विषयमा प्रधानमन्त्रीको कार्यालयबाट खण्डन आएको छैन’ क्षेत्रीले भने ‘यहाँ कसले के भन्छ भन्ने विषय पत्याउनै नसकिने अवस्था छ ।’
यस्ता टिकाटिप्पणी अनौपचारिकरुपमा सुनिने गरिएको भए पनि औपचारिकरुपमा आउनुले आफुलाई आश्चर्य लागेको उनले बताए ।
राष्ट्र बैंकको सञ्चालकहरु नै कमिसनको खेलमा लागेको बताएपछि उक्त सञ्चालक नाम पनि खुलाउनुपर्ने पुर्न गभर्नर डा.चिरञ्जीवि नेपाल बताउँछन ।
‘सञ्चालक सदस्यले पैसा मागेको भनेर अर्थमन्त्रीले कसरी भन्नसक्नु भयो ? को थियो सञ्चालक समितिबाट पैसा माग्ने ? पैसा माग्ने मान्छे त खोज्नुपर्यो’ नेपालले भने ‘अर्थमन्त्रीले सिधैं त्यस्तो आरोप लगाएपछि त राष्ट्र बैंकले यो होइन यस्तो हो भनेर क्लियर त गर्नुपर्छ ।’
अर्थमन्त्रीले आरोप लगाएपछि सञ्चालक नाम उल्लेख गर्नुपर्ने र राष्ट्र बैंकले जनतासामु स्पष्टीकरण पनि दिनुपर्नेमा नेपालले जोड दिए ।
पुर्वअर्थसचिव रामेश्वर खनालले अख्तियारले यसबारे छानविन गर्नुपर्ने बताउँछन ।
क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने ‘यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्छ । अख्तियारले सार्वजनिक पदमा वसेका व्यक्तिले आफ्नो दायित्व उचित तरिकाले निर्वाह गरेका छन की छैनन भनेर हेर्ने काम हो ।’
यदि अर्थमन्त्रीले विना तथ्य प्रमाण आफुमाथि दोष पन्छ्याउनका लागि बोलेका हुन भने यसले राष्ट्र बैंकको छविमाथि आँच पुर्याएको हुने छ । उनको अभिव्यक्तिका कारण अर्थतन्त्रलाई आघात पुग्न सक्ने उनको भनाई छ ।
‘यसले नियमनकारी निकायमाथिको विश्वासमा प्रश्न उठेको छ । त्यसैले यसप्रतिको उत्तरदायित्व अर्थमन्त्रीले वहन गर्नैपर्छ’ उनले भने उनी यसबाट उम्किन पाउने वातावरण बन्नु हुँदैंन । यदि राष्ट्र बैंकको सञ्चालक समितिले पनि गल्ती प्रमाणीत भए नियमअनुसार कारवाही हुनुपर्छ ।’
जनताको भरोसाको संरक्षण गर्ने निकायमाथि यस्ता आरोप लाग्नु गम्भिर विषय हो । त्यसैले यस्तो सार्वजनिक महत्वको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थमन्त्री र राष्ट्र बैंकको संचालक समितिमाथि छानविन गरी दोषीउपर आवश्यक कारवाहि हुनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । अर्थमन्त्री पद हुँदा पनि अख्तियारले छानविन गर्नपाउने जानकारहरु बताउँछन् ।