काठमाडौं । हिमालयन र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) नखोल्न दिएको निर्देशन उल्लघंन गरेका छन् ।
विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले अत्यावश्यक वस्तुको एलसी नखोल्न वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई दिएको निर्देशन दिएको थियो । सो निर्देशन उल्लिखित बैंकहरुले उल्लंघन गरेका हुन् ।
केन्द्रीय बैंकले गत सोमबार सम्पूर्ण वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्न भनेको थियो । तर, दुई बैंकले मंगलबार र बुधबार विलासी वस्तुको एलसी खोलेका छन् ।
स्रोतका अनुसार एनसीसीले मंगलबार र हिमालयन बैंकले बुधबार मात्रै अत्यावश्यक सूचीमा नरहेका वस्तुको एलसी खोलेका हुन् । एनसीसीले विलासीको सूचीमा रहेको कस्मेटिक्स आयातका लागि एलसी खोलिदिएको छ । उसले २ लाख ५० हजार डलरबराबरको एलसी खोलेको बैंक स्रोतले बताएको छ ।
त्यसैगरी हिमालयन बैंकले बुधबार मात्रै १ लाख डलरको तयारी कार्पेट र ३ लाख डलरको मोबाइल आयातका लागि नयाँ एलसी खोलिएको हो । यी तीनवटै आइटम विलासीको सूचीमा छन् । तर, दुई बैंकले नियामकीय निर्देशनलाई लत्याउँदै सुटुक्क एलसी खोलिदिएका हुन् ।
कतिपय बैंकले कुन वस्तुको एलसी खोल्ने, कुनको नखोल्ने भनेर राष्ट्र बैंकलाई सोध्न थालेका छन् । तर, हिमालयन र एनसीसीले भने विलासी वस्तुकै एलसी खोलेका हुन् ।
दुई बैंकले एलसी खोलेपछि व्यापारीले ती बैंकको उदाहरण दिँदै अन्य बैंकमा पनि एलसी खोलिदिन आग्रह गरिरहेका छन् ।
रेमिट्यान्स सोचेअनुरुप नआएको, विदेशी ऋण र अनुदान नभित्रिएको, निर्यातमा उल्लेखनीय सुधार आउन नसकेपछि केन्द्रीय बैंक विदेशी मुद्रा कसरी जोगाउने भन्नेमा छ । यसअघि पनि आयातलाई निरुत्साहित गर्न शतप्रतिशतदेखि ५० प्रतिशतसम्म नगद मार्जिन राखेर मात्रै एलसी खोल्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो ।
तर, त्यो नीति प्रभावकारी नभएपछि केन्द्रीय बैंक अझ सशक्त भएर अत्यावश्यकबाहेक अन्य वस्तुको आयात रोक्न बैंकहरुलाई भनेको हो । केही बैंकले औद्योगिक कच्चा पदार्थको एलसी खोल्नसमेत आनाकानी गरिरहेको अवस्थामा दुई बैंक विलासी वस्तुको एलसी खोलिदिए हुन् ।
राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभाग प्रमुख देवकुमार ढकालले ती बैंकसँग रिपोर्ट माग्ने बताए । ‘बैंकहरुलाई विलासी वस्तुको एलसी नखोल्न भनिएको छ,’ ढकालले भने, ‘यो निर्देशनलाई लत्याएको/नलत्याएको हेरिन्छ ।’
विदेशी मुद्रा सञ्चितिका हिसाबले देश अप्ठ्यारो अवस्थामा पर्न थालेका बेला केही बैंकले त्यसको प्रवाह नगरी एलसी खोल्नु राम्रो नभएको बैंकरहरु बताउँछन् ।