काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, बोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेन्ड्ली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो ।
चम्पादेवीले एक पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो । कम्पनीका तर्फवाट सञ्चालक कमलेशकुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार अबको ३ वर्षमा निर्माण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउने छ ।
यो केबलकार परियोजना २०७६ वैशाख ०२ मा बसेको ७१ आंै नगर कार्यपालिकाको निर्णयअनुसार वैशाख ६ मा केबलकार निर्माण तथा सञ्चालन अनुमति प्राप्त भएको हो ।
अहिले कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वेको जग्गा खख्रिद गर्ने काम सम्पन्न भइसकेको छ । बीचमा आएको विश्वव्यापी महामारी कोभिडले ६ महिना काम रोकिएको थियो । हाल उक्त क्षेत्रको खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ एरिया सर्भे गरिएको, रोप–वेको सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउन्टेन–१ र २ सर्भेको काम भएको छ ।
कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाइज अस्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ । कम्पनीका अनुसार यहाँ आउने केबलकार युरोपियन केबलकार हुनेछ । चम्पादेवी माताको मन्दिर डिजाइन वरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो ।
कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको जानकारी गराएको छ । विसं २०७९ (२०२२) को अन्त्यमा सुरु गरी २०८१ (२०२५) को अन्त्यमा सक्ने जनाएको छ ।