काठमाडौं । चिनी ल्याउँदा ४० प्रतिशत भन्सार तिर्नुपर्ने भएपछि आयातकर्ता व्यापारीहरु चोर बाटो अपनाउन थालेका छन् ।
उनीहरुले चामलको कन्टेनरभित्र चिनीका बोरा राखेर चामलकै भन्सार तिरी धमाधम चिनी भित्र्याउन थालेका हुन् ।
अहिले आयातकर्ताले भन्सार अधिकृत र जाँचकीलाई आफ्नो वशमा लिई चामलकै भन्सारदरमा धमाधम चिनी भित्र्याइरहेका छन् । सरकारले चामलको भन्सारदर ९ प्रतिशत तोकेको छ भने चिनीको झन्डै ४ गुणा बढी छ । यसरी महँगो पर्ने भएपछि उनीहरुले भन्सार अधिकारीसँग सेटिङ गरी नयाँ तरिकाले चिनी भित्र्याएका हुन् ।
‘कन्टेनरमा चामल र चिनी सराबरी बनाएर ल्याउने र भन्सार दाखिला चामल भनेर गर्ने प्रचलन व्यापक छ,’ एक आयातकर्ताले भने, ‘चामल भनेर उल्लेख गरेपछि सरकारी अधिकारीले ९ प्रतिशतका दरले भन्सार निर्धारण गर्छन् । तर, त्यहाँ ठूलो परिमाणमा चामलभन्दा चिनी हुन्छ ।’
‘कतिपय आयातकर्ताले सेतो बोरामा चामल ल्याउने गरेका छन् । उक्त बोरामा चामल छ कि चिनी छ भनेर कसैले सोधीखोजी पनि गदैनन्,’ ती आयातकर्ताले भने, ‘चामलको भन्सार तिरेर चिनी छिराउन पाए के चाहियो ?’
बजारमा अहिले पनि ४० प्रतिशत भन्सार तिरेर चिनी भित्र्याउने व्यापारी छन् । तर, जति परिमाणमा ४० प्रतिशत तिरेर चिनी भित्रिन्छ, त्यसको दोब्बर चामल भनेर चिनी भित्र्याउने खेल चलिरहेको छ ।
वीरजन्ग, विराटनगर, भैरहवालगायत मुख्य नाकाबाटै चामल भनेर चिनी भित्रिँदा पनि भन्सारका अधिकारीले कुनै चासो नदिएको आयातकर्ताले बताएका छन् ।
नेपाल चिनी उद्योग संघका अनुसार नेपालमा वार्षिक २ लाख ७० हजार टन चिनीको माग छ । यो वर्ष नेपालमा जम्माजम्मी १ लाख २० हजार टन मात्रै चिनी उत्पादन हुन्छ । यो भनेको ४४ प्रतिशत हाराहारी हो । बाँकी ५६ प्रतिशत चिनी आयात र चोरीबाट भित्र्याएर परिपूर्ति भइरहेको देखिन्छ ।
खास गरी, गाउँघरमा खुलेका जुस बनाउने कुटिर उद्योगमा चोरी भएर आएको चिनी पुग्छ । नेपालका बहुराष्ट्रिय कम्पनीले नेपाली उद्योग तथा वैधानिक तवरबाट आयात भएको चिनी प्रयोग गर्छन् । तर, कुटिर उद्योगमा भने चोरी–पैठारी भएर आएको चिनी खपत भइरहेको छ ।
भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले आफूले नयाँ सूचना पाएको र यसलाई सूक्ष्म रुपमा निगरानी गर्ने बताए । ‘भन्सार छलीको नयाँ तरिका अपनाएका हुन सक्छन् । त्यसलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्छौं,’ खड्काले भने ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) मा १ लाख ७० हजार ६०१ टन चिनी आयात भएको देखिन्छ भने चालू आवको ८ महिनामा ८१ हजार ६२२ टन चिनी आयात भएको देखिन्छ । यस्तै गत आवको फागुनसम्ममा १ लाख ३१ हजार टन चिनी विभिन्न देशबाट आयात भएको देखिन्छ ।
जबकि बजारमा चिनीको माग वार्षिक २० देखि ३० प्रतिशत बढिरहेको छ । यसरी हिसाब गर्दा गत आवको फागुनको तुलनामा २० देखि ३० प्रतिशत चिनी आयात बढ्नुपर्ने हो । तर, चालू आवको तुलनामा झन्डै ६२ प्रतिशतले आयात घटेको देखिन्छ ।
वास्तविक रुपमा चिनीको माग घटेको भन्दा पनि गैरकानुनी तवरबाट चिनी भित्रिन थालेको भन्सारकै तथ्यांकले देखाउँछ ।