काठमाडौं । राष्ट्रिय गौरवको रानीजमरा-कुलरिया सिँचाइ आयोजनालाई विनियोजन भएकोमध्ये ५० करोड रुपैयाँ बजेट फ्रिज हुने भएको छ । मागभन्दा बढी बजेट विनियोजन भएपछि सो रकम खर्च नभई फिर्ता हुन लागेको हो ।
आयोजनाका सूचना अधिकारी प्रेम लासिवाका अनुसार स्वदेशी लगानीका आयोजनामा बजेट कम र वैदेशिक लगानीका आयोजनामा मागभन्दा बढी बजेट विनियोजन हुँदा खर्च हुन नसकेको हो ।
चालू आर्थिक वर्षमा आयोजनालाई प्राप्त २ अर्ब ३५ करोडमध्ये १ अर्ब ५२ करोड रुपैयाँ विश्व बैंकको ऋण लगानी हो । यसमध्येको ५५ करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता हुन लागेको सूचना अधिकारी लासिवा बताउँछन् ।
रानीजमरामा स्वेदशीका साथै विश्व बैंकको लगानी छ । स्वदेशी लगानीतर्फका आयोजनामा बजेट कम भएपछि थप १० करोड रुपैयाँ माग गरिएको सूचना अधिकारी लासिवा बताउँछन् ।
विश्व बैंकले रानीजमरा कुलरिया सिँचाइ आयोजनाको लागि ५ वर्ष भित्र ६ करोड १० लाख अमेरिक डलर दिने जनाएको छ । उक्त रकममध्ये हालसम्म २० प्रतिशत खर्च भएको आयोजनाले जानकारी दिएको छ ।
मागभन्दा बढी रकम विनियोजन हुँदा आयोजनाको वार्षिक प्रगति कम देखिने गरेको उनको भनाइ छ । ‘ठिक्क बजेट आएको भए डेढ अर्ब रुपैयाँ खर्च हुँदा पनि आयोजनाको प्रगति राम्रो देखिन्थ्यो । अब ५० करोड रुपैयाँले गर्दा प्रगति कम देखिन्छ’, उनले भने ।
चालू आर्थिक वर्षमा २ अर्ब ४५ करोड रुपैयाँ पुगेको रानीजमराले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २ अर्ब ९२ करोड रुपैयाँको बजेट सीमा (सिलिङ) प्राप्त गरेको छ । जसमध्ये २ अर्ब ५२ करोड रुपैयाँ विश्व बैंककाे र बाँकी ४० करोड रुपैयाँ मात्रै मन्त्रालयको बजेट रहेको छ ।
यसरी वैदेशिक सहायता तथा लगानीका आयोजनामा अर्थ मन्त्रालयले बजेट बढी वितरण गरेको यो पहिलो घटना भने होइन । यसअघि नागढुंगा सुरुङमार्गमा पनि ४ अर्ब रुपैयाँ मागभन्दा बढी बजेट विनियोजन भएको पाइएको छ । हाल नागढुंगाले बढी भएको रकम फिर्ता लिन मन्त्रालयलाई पत्राचार गरिसकेको छ । यद्यपि रानीजमराले भने बढी रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको कार्यालयका कर्मचारीहरू अर्थले स्वदेशी लगानीमा बजेट कम दिने र वैदेशिक लगानीका आयोजनालाई प्रत्येक वर्ष बढी बजेट विनियोजन गर्दै आएको बताउँछन् । अर्थ मन्त्रालयका कर्मचारी भने आयोजना तथा सम्बन्धित मन्त्रालयको मागअनुसार अर्थले बजेट वितरण गर्ने बताउँदै आएका छन् ।
आर्थिक वर्ष ०६७/०६८ बाट पश्चिम नेपालको कैलालीमा सिँचाइ सुविधा पुर्याउन रानीजमरा सिँचाइ आयोजनाको निर्माण सुरु भएको थियो । आयोजनाले कैलालीमा ३८ हजार ३०० हेक्टर जमिनमा वर्षभरी सिँचाइ गरी ५ मेगावाट बिजुलीसमेत उत्पादन गर्नेछ ।
चालू आवमा बिजुली बले पनि समग्र आयोजनाको निर्माण कार्य भने समयमा सम्पन्न नहुने भएको छ । आयोजनाको म्याद आर्थिक वर्ष ०८०/८१ सम्म रहेको छ । निर्माण सुरु गर्दा आयोजनाको म्याद आर्थिक वर्ष ०७४/०७५ सम्म थियो । नसकिएपछि म्याद संशाेधन भएर आव ०८०/०८१ सम्म पुर्याइएको हो ।
रानी जमरामा हालसम्म १९ अर्ब ५० करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये १५ अर्ब २ करोड ७९ लाख रुपैयाँ खर्च भएको सूचना अधिकारी लासिवा बताउँछन् ।
निर्माण सुरु गर्दा रानी जमराको लागतअनुमान १२ अर्ब २७ करोड रुपैयाँ थियो । आयोजनाको कुल लागत रकम संशाेधन भएर २७ अर्ब ७० करोड २४ लाख रुपैयाँ पुगेको छ ।
रानीजमरा कुलरिया सिंचाइ: ११ वर्षमा ५२ प्रतिशत मात्र, निर्माणमा समस्यै समस्या