काठमाडौं । सोमबारदेखि काठमाडौं उपत्यकामा सुन्दर यातायातले बिजुली बस चलाउँदैछ । चाइनाको बीएके कम्पनीमार्फत खरिद गरिएका बिजुली बस सोमबार पुलिस क्लब भृकुटीमण्डपबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गरी सञ्चालन गरिने कार्यक्रम छ ।
अहिले सुन्दरले बिजुली बस चार्जिङका लागि चाबहिल भत्केको पुल नजिक चार्जिङ स्टेसन सञ्चालनमा समेत ल्याइसकेको छ । सोमबार ५ ओटा बिजुली बस भृकुटीमण्डपबाट माइतीघर, बानेश्वर हुँदै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम रहेको प्रालिका सञ्चालक अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
वातावरणीय स्वच्छता र प्रदूषण कम गर्दै यात्रुमैत्री सेवा विस्तारका लागि निजी क्षेत्रको लगानीमा पहिलो पटक बिजुली बस सञ्चालन गर्न लागिएको अध्यक्ष थापाको भनाइ छ ।
थापाका अनुसार एउटा बिजुली बस १ करोड २० लाख रुपैयाँमा खरिद गरिएको हो । अन्य सार्वजनिक यातायातको तुलनामा सुन्दर यातायातका बिजुली बसको भाडा ५ रुपैयाँ सस्तो हुने उनले बताए ।
बसमा यात्र गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सक्नेछन् । मोबाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ । अहिले कम्पनीले यो प्रणालीको परीक्षण गरिरहेको छ ।
बसमा नै आधुनिक स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । जसमा यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् । बसको भित्री बनोट पनि मजबुत रहेको कम्पनीका अध्यक्ष थापा बताउँछन् । आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने उनको भनाइ छ ।
कम्पनीका अनुसार नेपाल ल्याउन लागिएका बस युरोपियन गुणस्तरका भएकाले डिजिटल सिस्टमका हुनेछन् । बस एक पटक तीन घण्टा चार्ज गर्दा २ सय ६८ किलोमिटरसम्म गुड्ने कम्पनीले जनाएको छ ।