काठमाडौं । मौलिक खाना प्रवद्र्धनका लागि मास्टर सेफ सन्तोष साहसहितको टिम नेपाल आइपुगेका छन् ।
बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता साह प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिन नेपाल आएका हुन् ।
पाटाको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा साहसहितको टोलीलाई नेपाल बोलाइएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए ।
साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाटा र नेपाल पर्यटन बोर्डका अधिकारीहरुले स्वागत गरेका छन् ।
नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । निर्धारित कार्यक्रम तालिकाअनुसार सेफ टोली ८ तारिख पोखरा जानेछ भने ९ तारिखमा काठमाडौं फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ ।
उक्त टोली ११ तारिखका दिन काठमाडौँमा आयोजना हुने पाटा नेपाल च्याप्टरको ४५ औं वार्षिक साधारणसभाको औपचारिक समारोहमा सहभागी हुनेछ ।
त्यसैगरी १२ मा काठमाडौंमा ‘फाइनडाइनिङ’ कार्यक्रममा सहभागी भई १३ मा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर भ्रमणको कार्यक्रम छ । उक्त टोली लुक्लाबाट फर्केपछि १५ मा बर्दिया जानेछ । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवर्धनात्मक कार्यक्रमसहित मास्टरसेफद्वारा नेपालली खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।
यस्तै १७ तारिकमा सेफ एसोसिएसनको कुकिङ प्रतियोगितामा सहभागी भएर सेफ टोली फर्किनेछ ।
पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमको मुख्य प्रवर्धक नेपाल पर्यटन बोर्ड रहेको छ । श्रीलंकन एयरलाइन्स, बुद्ध एयर, समिट एयर, नबिल बैंक, सिवेक हस्पिटल, नाथम, केजिएच ग्रुप अफ होटेल्स्, सिद्धार्थ हस्पिटालिटी, कम्युनिटी होमस्टे, गेट कलेजलगायतले कार्यक्रमलाई सहयोग गरेका छन् ।