काठमाडौं । एनएमबी बैंकले ११ औं विस्तारित काउन्टर शुभारम्भ गरेको छ ।
किसान तथा सर्वसाधारण सेवाग्राहीका सुविधा दिने उद्देश्यअनुरुप नरहा–३, सिरहास्थित हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारित काउन्टरको शुभारम्भ गरेको हो ।
मिल्सका तर्फबाट महाप्रबन्धकद्वय अवधकिशोर यादव र एसएन कुशवाहा तथा बैंकका मधेस प्रदेश प्रमुख कमल पोखरेललगायतले मिल्स परिसरमा विस्तारित काउन्टरको विधिवत् उद्घाटन गरेका हुन् ।
उक्त काउन्टरको स्थापनापूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ ।
बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ ।
बैंकका प्रदेश प्रमुख पोखरेलले निजी क्षेत्रको सहकार्यअन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गरे । साथै विस्तारित काउन्टरबाट नगदरहित सेवा लिन सम्पूर्ण महानुभावहरुलाई अनुरोधसमेत गरे ।
एनएमबी बैंकले दी फानान्सियल टाइम्स, लन्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भइसकेको छ । यस्तै बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
बैंकले देशभरि ११ एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटिएममार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।