काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा–पुँजी –निक्षेप अुनपात (सीसीडी) हटाएर कर्जा निक्षेप अनुपात (सीडी) कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले ९० प्रतिशत सीडी अनुपात कायम गर्न बैंक तथा वित्तीय संस्थालाई असार मसान्तसम्मको समय दिएको छ ।
राष्ट्र बैंकले केही दिनअघि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीईओ) हरुलाई बोलाएर असारसम्ममा सीडी अनुपात कायम गर्न निर्देशन दिएको छ ।
उक्त समयभित्र पनि सीडी कायम गर्ने बाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले पेनाल्टी लगाउने चेतावनी दिएको छ । सीडी अनुपात भन्दा बढी कर्जा प्रवाह गरेका बैंकहरुलाई प्रत्येक १५ दिनमा सीडीको विवरण पठाउनसमेत भनेको छ ।
बैंकहरुले आक्रामकरुपमा कर्जा विस्तार गरिरहेको भन्दै राष्ट्र बैंकले सीसीडी खारेज गरेर सीडी अनुपात कार्यान्वयनमा ल्याएको छ ।
सीडी अनुपात ९० प्रतिशत कायम गर्दा तरलतामा संकुचन आएको बताइन्छ ।
सीसीडी अनुपात अन्तर्गत वाणिज्य बैंकहरुले संकलन भएको निक्षेपमा कोर क्यापिटल जोडेर त्यसको ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउथे । सीडी अनुपातमा बैंकहरुले निक्षेप संकलन भएको ९० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न सक्छन ।
सीडी कार्यान्वयनमा आउँदा बैंकहरुले आफ्नो पुँजीकोष जोड्न पाएनन् । यसले तरलता कमी आई बैंकहरुको कर्जा प्रवाह क्षमता घट्यो । बढ्दो कर्जाको माग धान्नका लागि बैंक वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाउन थाले ।
निक्षेपमा बढेको ब्याजदरका कारण बैंकहरुको आधारदर बढ्न गई कर्जाको निक्षेप पनि बढेको छ । हाल कर्जाको ब्याजदर दोहोरो अंकमा पुगेको छ भने मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत भन्दा बढी छ ।
राष्ट्र बैंकले सीडीमा कडाइ गर्ने जनाएसँगै १७ वाणिज्य बैंकहरु दबाबमा पर्ने देखिएको छ । जसमध्ये सबैभन्दा बढी सीडी घटाउनुपर्ने दबाबमा कृषि विकास बैंक रहेको छ । कृषि विकासको सीडी अनुपात कृषि विकास बैंक ९६.१९ प्रतिशत रहेको छ ।
यस बैंकले सीडी अनुपात नपुर्याएसम्म राष्ट्र बैंकले थप कर्जा प्रवाह गर्न नदिने भएको छ । यसैगरी कुमारी बैंकको ९५.५५ छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको ९५.१७, मेगा बैंकको ९४.३०, नेपाल एसबीआई बैंकको ९३.९६,बैंक अफ काठमाडूको ९२.५३,नेपाल क्रेडिट एण्ड कमर्स ९२.९५ र हिमालयन बैंकको ९१.५३ प्रतिशत छ ।
यस्तै नेपाल बैंकको ९१.४९,माछापुच्छे्र बैंक ९०.१७, ग्लोबल आइएमई बैंक ९१.०१, सिटिजन्स बैंकको ९१.७४,प्राइम कमर्सियल बैंकको ९४.७६ ,एनएमबी बैंकको ९०.५५, सिभिल बैंकको ९०.८६ र सेन्चुरी कमर्सियल बैंकको ९०.८३ प्रतिशत रहेको छ ।