काठमाडौं । एकातिर एलसी बन्द, अर्कोतिर व्यापारीले दिएको उधारो उठ्ने र त्यो रकम सेयर बजारमा भित्रिने सम्भावना बढेपछि सेयर बजारमा चमक देखिएको छ ।
केन्द्रीय बैंकले वाणिज्य बैंकलाई एलसी खोल्न रोक लगाएपछि बजार बुधबार पनि प्रभावित भएको थियो । तर, एलसी खोल्न बन्द गरेपछि उधारो उठेको रकम सामान किन्न विदेश नजाने र त्यो रकम यही बस्ने सम्भावना बढे पछि बजारमा उछाल आएको हो ।
व्यापारीका अनुसार डेढ खर्ब भन्दा बढी रकम उधारोको रुपमा बजारमा छ । दैनिक रुपमा १० प्रतिशत हाराहारी उधारो उठ्ने व्यापारीको आँकलन छ । त्यसो हुँदा दैनिक १० अर्ब रुपैयाँभन्दा बढी उधारो उठ्ने र त्यो रकम बैकिङ सिस्टममै जाने हल्लापछि बजारमा चमक आएको हो ।
बुधबार केन्द्रीय बैंकको निर्देशनपछि बजार घटेको थियो । हुन त केही दिन अघिदेखि बजार निरन्तर पेनिक बनिरहेको छ । सरकारले लिएका नीति, तरलता अभाव, उच्च व्याजदर प्रमुख कारण बनेका छन् ।
यदि उधारो तिरेपछि आउने रकमबाट नयाँ व्यापार हुन सक्दैन । किनभने, एलसी बन्द छ । भनेपछि त्यो रकम सेयर बजारमा भित्रिन्छ वा बैंकिङ च्यानलमा जाने सम्भावना बढेपछि बजार तातेको हो ।
तरलता सहजको सम्भावना बढेपछि पनि बजारलाई घटाउनेहरू सक्रिय भएको देखिन्छ । एउटा समूह बजार घटाउने र एउटा समूह बजार बढाउन लागेको देखिन्छ ।
तर, बिहीबार बजार घटाउनेभन्दा बढाउने समूह हाबी भएका छन् ।
यो साता बिहीबारबाहेक अन्य कारोबार दिन सेयर बजार घटेरै बन्द भएको थियो । तर, साताको अन्तिम दिन सूचक बढेर बन्द भएको हो । यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.६६ अंकले बढेर २४६४.३१ बिन्दुमा रोकिएको छ ।
बजारलाई हरियाली बनाउन १७४ कम्पनीको भूमिका रह्यो भने बढ्दो बजारमा पनि १७ कम्पनीको सेयर मूल्य घटेको छ ।
यस दिन २ अर्ब १२ करोडको सेयर किनबेच भएको छ । साताको अन्तिम दिन हिमालयन पावर पार्टनर र नेस्डाे लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।