काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत चैत महिनाभरि युरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
आगामी शनिबार (चैत २६ गते) पनि युरोलोजीको २ वटा टिम नै निःशुल्क ओपीडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालले यो महिनाको सुरुवातदेखि नै युरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिबार निःशुल्क ओपीडी चलाएको थियो ।
टिमले सञ्चालन गर्ने निःशुल्क ओपिडी सेवाको समय भने सामान्य हेरफेर भएको छ ।
शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म युरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ ।
युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ ।
मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
यसैगरी, चैत २६ गते बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. ईशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ ।
मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अन्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान केही साता अघिदेखि पुनः सुरु भएको छ ।