काठमाडौं । आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट निर्माण प्रकृया सुरु भइसकेको छ । अर्थ मन्त्रालयले चैत १ गतेबाटै बजेटको कार्यतालिका बनाएर बजेट तयार गरिरहेको छ । राष्ट्रिय योजना आयोगले मध्यकालिन खर्चको संरचना तयार पारेर बजेटको सीमा (सिलिङ) अर्थ मन्त्रालयलाई दिइसकेको छ ।
अर्थले चैत ४ गते कार्यतालिका तयार पारेर बजेट निर्माण गरिरहेको छ । अर्थले जेठ १२ गते बजेट वक्तव्य मस्र्यौदालाई अन्तिमरुप दिने गरी काम गरिरहेको छ ।
वैशाख १५ गतेभित्रमा बजेट लेखन समितिले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्र्यौदा तयार पार्ने र २० गते अर्थमन्त्री जनार्दन शर्माले उक्त विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्ने कार्यतालिका बनाएको छ ।
जेठ १४ गते मन्त्रालय बजेट छपाईका लागि पठाउने र सोही दिन संघीय संसदका दुबै सदनमा अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षेण, , संस्थान प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेस गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन बजेट प्रस्ताव मन्त्रिपरिषदमा प्रस्तुत गरी जेठ १५ गते संघीय संसदमा बजेट भाषणको तयारी गरिएको छ । नेपालको संविधानले जेठ १५ गते संघीय संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्वसचिव कृष्णहरी पुष्कर र बजेट मस्र्यौदा लेखन टोलीमा रहेका सहसचिवहरु आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यमा संलग्न रहेका छन ।
राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बरालको नेतृत्वमा गठन भएको बजेट लेखन टोलीमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संस्था समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी रहेका छन । यसैगरी अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती पनि बजेट निर्माणमा संलग्न रहेका छन ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४५ अर्ब रुपैयाँको बजेट सिलिङ अर्थ मन्त्रालयलाई दिएको छ । जसमध्ये राजस्वबाट १३ खर्ब ५९ अर्ब, वैदेशिक अनुदान ५१ अर्ब, वैदेशिक ऋण २ खर्ब २८ अर्ब र आन्तरिक ऋण २ खर्ब ५८ अर्ब रुपैयाँको सीमाभित्र रही स्रोत व्यवस्थापन गर्न आयोगले अर्थलाई भनेको छ । आयोगले आगामी आर्थिक वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यभित्र रहेर बजेट बनाउन भनेको छ ।
क्यापिटल नेपाललाई अर्थ मन्त्रालयले निर्माण गरेको कार्यतालिका नै प्राप्त भएको छ ।हालसम्म बजेट तथा कार्यक्रम महाशाखाले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलव्धि तयार पारिसकेको छ ।
महाशाखालाई चैत १ गतेदेखि २० गतेसम्मको समय उपलव्ध गराइएको तालिकामा उल्लेख छ । यसैगरी उक्त महाशाखाले चैत १ गते नै बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना आव्हान गरी सुझाव संकलन गर्ने, विषयगत मन्त्रालयहरुले प्रस्ताव गरेको बजेट एलएमबीआईएसमा प्रविष्टि गरेको छ ।
योजना आयोगमा चैत १ गतेदेखि १५ गतेसम्म बजेटको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको थियो । यसैगरी सोही समयमा राजस्व व्यवस्थापन महाशाखाले बजेट तर्जुमा सम्वन्धी नीतिपत्र (पोलसी पेपर) तयार पार्ने र राजस्व वोर्ड विकास समितिमा प्राप्त सुझावहरुमा छलफल गरेर प्रतिवेदन तयार पारेको थियो ।
बजेट तथा कार्यक्रम महाशाखा र वित्तीय संघियता समन्वय महाशाखाले संयुक्तरुपमा बजेटको उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रम बारे सांसदहरु र अन्तर सरकारी वित्त परिषदसँग छलफल गरेको छ । उक्त महाशाखाहरुले चैत ३१ गतेसम्म प्रदेश तथा स्थानीय तहमा जाने ससर्त अनुदानका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल गरिरहेका छ ।
बजेट तथा कार्यक्रम महाशाखाले चैत १६ गतेबाट चैतमसान्तसम्म बजेट कार्यक्रम र खर्चका विषयमा विषयगत मन्त्रालयहरुसँग छलफल गरिरहेको छ । वैदेशिक स्रोतमार्फत प्राप्त हुने सहायता यकिन गर्न चैत १६ गतेबाटै अन्तर्राष्ट्रिय आर्थिक साहयता तथा समन्वय महाशाखा तयारीमा छ ।
वैशाख १ गते नयाँ वर्षको विदा रहेकाले २ गतेबाट बजेटमाथि छलफल अगाडी बढ्ने छ । वैशाख २ गतेपछि बजेट निर्माणका मुख्य कार्यतालिका यस्तो रहेको छ ।
२०७९ वैशाख २ देखि १५ गतेसम्म राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, पूर्व अर्थसचिव, अर्थशास्त्री एवं विज्ञबाट अर्थसचिवको नेतृत्वमा सुझाव संकलन गर्ने ।
वैशाख १५ गतेभित्रमा बजेट मस्यौदा लेखन समितिले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्र्यौदा तयार पार्ने ।
वैशाख २० गते अर्थमन्त्री शर्माले उक्त विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्ने ।
वैशाख २० गतेसम्म अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखाले प्रावधिक सहायता तथा अन्य गैरसरकारी संस्थामार्फत प्राप्त हुने साहयता परिचालनको यकिन गर्ने ।
वैशाख २० गते बजेट मस्र्यौदा लेखन समितिले बजेट वक्तव्यको पहिलो मस्यौदा तयार पार्ने ।
वैशाख ३० गते प्रशासन महाशाखाले मन्त्रालयगत प्रगति विवरण र वित्तीय क्षेत्र व्यवस्थापन र संस्थान समन्वय महाशाखाले सार्वजनिक संस्थानहरुको प्रगति विवरण छपाईका लागि प्रेसमा पठाउने, राजस्व बोर्ड विकास समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्री समक्ष प्रस्तुत गर्ने ।
जेठ ६ गते बजेट मस्र्यौदा लेखन समिति, राजस्व व्यवस्थापन महाशाखा र बजेट तथा कार्यक्रम महाशाखाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बजेटको बिफ्रिङको मस्र्यौदा तयार पार्ने ।
जेठ ८ गते अर्थमन्त्री शर्माले राष्ट्रपति भण्डारीसमक्ष बजेट ब्रिफिङ गर्ने ।
जेठ ८ गते बजेट तथा कार्यक्रम महाशाखाले व्ययको अनुमानको प्रारम्भिक मस्र्यौदा (त्रीवर्षिय वर्षको खर्च अनुमानसहित) तयार पार्ने ,व्यय अनुमानको खर्च र खर्च शीर्षक अनुमानको अंक रुजु गर्ने ।
जेठ १० गते प्रशासन र बजेट महाशाखाले व्ययको अनुमानसम्वन्धी किताव छपाईका लागि प्रेसमा पठाउने ।
जेठ १२ गते राजस्व व्यवस्थापन महाशाखा र कानुनी तथा फैसला कार्यान्वय महाशाखाले आर्थिक विधेयक तथा विनियोजन विधेयकलाई अन्तिम रुप दिने ।
जेठ १२ गते अर्थमन्त्री शर्मा र बजेट वक्तव्य मस्यौदा लेखन समितिले बजेटलाई अन्तिमरुप दिने ।
जेठ १३ गते अर्थमन्त्री र अर्थसचिवले बजेटका बारे योजना आयोगलाई बिफ्रिङ गर्ने
जेठ १३ गते प्रशासन महाशाखा र बजेट तथा कार्यक्रम महाशाखाले स्रोत पुस्तिका छपाईका लागि पठाउने ।
जेठ १४ गते अर्थमन्त्रीले र अर्थसचिवले मन्त्रिपरिषदमा बजेट प्रस्ताव पेस गर्ने ।
जेठ १४ गते राजस्व व्यवस्थापन महाशाखा,बजेट तथा कार्यक्रम महाशाखा र कानुन तथा फैसला कार्यान्वयन महाशाखाले आर्थिक विधयेक, विनियोजन विधयेक, राष्ट्रको ऋण उठाउने विधयेक र ऋण तथा जमानत विधयेक छपाईका लागि पठाउने ।
जेठ १४ गते बजेट वक्तव्य प्रशासन महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक साहयता तथा समन्वय महाशाखाले बजेट वक्तव्य (अंग्रेजी र नेपाली) माध्यममा छपाईका लागि पठाउने ।
जेठ १४ गते संघीय संसदका दुवै सदनमा अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण, संस्थान प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेस गर्ने ।
जेठ १५ गते संसदको दुवै सदनमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने ।