काठमाडौं । सेयर बजारमा गिरावट आउनेक्रम बुधबार पनि जारी रहेको छ । तथापि, यस दिन बजार घट्नेदर भने केही खुम्चिएको छ । विस्तारै प्यानिक सेल कम हुँदै गएको यसले केही संकेत गरेको छ । बुधबार नेप्से सूचक २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा अडिएको छ । १ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
बजार पछिल्लो समय निरन्तरजसो घट्दा सेयर भाउहरु निकै तल्लो विन्दुमा आइसकेको छ । पीइ रेसियो हेर्दा पनि भाउहरु सस्तो हुँदै गएको देखिन्छ । राम्रा फन्डामेन्टल बेस भएका कम्पनीहरुको भाउ पनि तुलनात्मक रुपमा हेर्दा निकै तल आइसकेको छ । तथापि, बजारमा अझै पनि खरिद माहोल बनिसकेको अवस्था छैन ।
लामो समयदेखि तरलता अभाव, अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब लगायतका विषयमा बजारमा विभिन्न हल्ला र बहस चलेकाले पनि लगानीकर्ताको मनोबल कमजोर भएको अनुमान गरिएको छ । कतिपयले हाम्रो अर्थतन्त्रलाई श्रीलंकको अवस्थासँग तुलना गरेर बजारमा विभिन्न नकारात्मक हल्ला फैलाएकाले पनि आम लगानीकर्ता त्रसित भएका हुन् ।
तर, हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्रले केही दबाबको सामना गरे पनि ट्रयाक बाहिर गएको छैन । श्रीलंकासँग तुलना गर्नै नमिल्ने अर्थविद्हरुले बताइरहेका छन् । यस्ता, हल्ला र त्रासहरु विस्तारै कम हुँदै जाने र बजारले पनि क्रमशः आफ्नो लय समात्ने अनुभवीहरुको भनाई रहेको छ ।
यतिबेला बजार प्रभावित हुनुमा चैत मसान्तको प्रभावलाई पनि प्रमुख कारण मानिएको छ । मसान्तमा बैंकको साँवा र ब्याज तिर्नुपर्ने तथा यही बेला राज्यलाई कर तिर्नुपर्ने भएकाले पनि सेलिङ प्रेसर देखिएको अनुमान गरिएको छ । कर तिर्नुपर्ने भएकाले पनि वित्तीय प्रणालीमा तरलता दबाबको थप सामाना गर्नुपर्ने हुन सक्छ ।
वित्तीय प्रणालीमा तरलता अभाव, चर्को ब्याजदरको प्रभाव थेग्दै आएको बजारमा अहिले एकैसाथ चैत मसान्तको पनि प्रभाव पर्दा सूचकमा थप दबाब उत्पन्न भएको हो । यी समस्या र नकारात्मक पाटोहरुका बीचमा सकारात्मक भएर हेर्ने बेला पनि भइसकेको छ । किन भने अब सेयर बजारको प्रमुख सिजन सुरु हुँदैछ । वैशाख लागेपछि सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पनि आउन थाल्नेछ ।
निर्वाचनको मिति नजिकिंदैछ । नयाँ बजेटको तयारी सुरु हुनै लाग्दा चालु आवको सरकारी खर्च पनि वृद्धि हुन थालेको छ । यी सन्दर्भहरुमा चैत मसान्तको प्रेसर साम्य भएपछि बजारले गति लिने विश्लेषकहरुको अनुमान रहेको छ ।
तथापि, आम लगानीकर्ताले भने आफ्नै हिसाबले लगानी रणनीति तय गर्नुपर्ने हुन्छ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको निकै ठूलो भूमिका रहने गर्छ । यसर्थ, लगानीकर्ताको सकारात्मक मनोभावना विकास गराउनका लागि नीतिनिर्माता र नियामकहरुले काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।
बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।