काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई बोलाएर गाडी आयात रोक्न मौखिक निर्देशन दियो ।
निजी सवारी साधन आयातमा प्रतीतपत्र (एलसी) खोल्न बन्द गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै अटो व्यवसायीहरु भने निराश बनेका छन् ।
कोभिड संक्रमणको संकटबाट बिस्तारै तंग्रिन लागेको अटो व्यवसायमा राष्ट्र बैंकको निर्देशनले ब्रेक लगाएको व्यवसायीहरुको भनाइ छ । बैंकको निर्देशनलगत्तै अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) को आकस्मिक बैठक बसेको थियो ।
तर, राष्ट्र बैंकले बैंकका सीईओहरुलाई मौखिक निर्देशन दिएको र लिखित आउन बाँकी रहेकाले तत्कालै आधिकारिक धारणा भने सार्वजनिक नगर्ने निर्णय भएको अध्यक्ष धुव्र थापाले जानकारी दिए ।
तथापि अध्यक्ष थापाले राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटो व्यवसायीहरु व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताए । अटो व्यवसायीहरु सरकारलाई परेको समस्या समधानका लागि सहयोग गर्न तयार रहँदारहँदै पनि एक्कासि गाडी खरिदका लागि एलसी नखोल्ने निर्देशनले व्यवसाय बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
उनले सरकारले केही समयका लागि गाडी आयात रोक्ने निर्णय गरे पनि कस्ता–कस्ता गाडीलाई रोक लगाउने भन्ने स्पष्ट हुन आवश्यक रहेको बताए ।
पछिल्लो समय सरकारले लक्जरीयस गाडीहरु आयातमा कडाइ गरेको छ । तर, सस्तो मूल्य र सामान ढुवानीका लागि आवश्यक हुने गाडीमा भने रोक लगाउन नहुने धारणा उनको छ ।
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले सरकारले के कारणले गाडी आयातमा रोक लगाउन खोजेको हो भन्ने स्पष्ट जानकारी गराउनुपर्ने बताए ।
व्यवसायीहरुसँग कुनै सल्लाह नगरी एक्कासि निर्णय गर्दा समस्यामा परेको भन्दै कहिलेसम्म रोक लगाउने र कस्ता गाडीलाई रोक्ने जानकारीसमेत आफूहरुले पाउनुपर्ने बताए । लहडमा निर्णय गर्दा व्यवसायीहरुलाई मात्र होइन, त्यससँग आबद्ध धेरै क्षेत्रलाई प्रभाव पर्ने भन्दै यस विषयमा सोच्नसमेत आग्रह गरेका छन् ।
यसरी गाडी आयातमा रोक लगाउँदा विकृतिहरु पनि निम्तिने भएकाले त्यसबाट सरकार पनि सचेत हुन आवश्यक रहेको उको भनाइ छ । अर्थतन्त्र बचाउने नाममा गाडी आयातमा रोक लगाएर निश्चित व्यक्ति र व्यवसायीलाई सहज हुने वातावरण सरकारले निर्माण गर्न नहुने उनले बताए ।