काठमाडौं । सेयरसहित सम्पूर्ण कर्जा ठप्प पार्न केन्द्रीय बैंकले वाणिज्य बैंकलाई निर्देशन दिएको भोलिपल्ट सेयर बजार उच्च अंकले घटेको छ । उसै पनि कर्जा नपाएर छट्पटीएका सेयर लगानीकर्ता तनाबमा थिए ।
यस्तो बेला केन्द्रीय बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर कर्जा निक्षेप अनुपात (सीडी) असार मसान्तसम्म ९० प्रतिशतमा नझारे कारबाही गर्ने प्रस्ट निर्देशन दिए पछि बैंकहरुले नयाँ कर्जा ठप्प पारिसकेका छन् ।
लगानीकर्ताले अब झन् बैंकबाट नयाँ ऋण नपाउने देखेपछि बजारमा त्यसको नकारात्मक असर परेको हो । बैंकमा लगानीयोग्य रकमको चरम अभाव भएको महिनौ बित्तिसकेको छ । यस्तो अवस्थामा नयाँ सेयर किन्नेभन्दा बेचेर बजारबाट बाहिरिने सोच बढिरहेका बेला केन्द्रीय बैंकको नीतिले बजार झन् प्रभावित बनेको हो ।
एकातिर सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । भएभरको पैसा राज्यको ढुकुटीमा थन्किँदा बजारमा लगानीयोग्य रकम अभाव चरम अवस्थामा पुगेको छ । छिटफुट रुपमा बैंकले दिइरहेको सेयर कर्जा पनि मंगलबारबाट पूर्ण रुपमा रोकिँदा बजारमा मनोवैज्ञानिक त्रास झन बढेको हो । लगानीकर्ताले नयाँ ऋण नपाए सेयर किन्ने अवस्था आउँदैन । बैंककै लगानीमा उनीहरुले सेयर किन्ने हुन् ।
अहिले बैंकहरुलाई क्यापिटल एडुकेसी रेसियो र सीडी मिलाउन हम्मे हम्मे छ । यो परिस्थितिमा बैंकहरुले नयाँ ऋण दिन सक्ने अवस्था नै नभएको बैंकरहरुले बताएका छन् । झन् केन्द्रीय बैंकको मौखिक निर्देशन पछि नयाँ कर्जा दिने सवाल नै नभएको बताइरहेका छन् ।
बजारमा एकपछि अर्को नकारात्मक समाचार आएपछि मंगलबारको सेयर बजार ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा आइपुगेको छ । यद्यपि, यसदिन कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार १ अर्ब ७५ करोड कारोबार भएकोमा मंगलबार २ अर्ब ६७ करोड पुगेको छ ।
बिग्रँदो अर्थतन्त्र, मूल्य वृद्धिको बढ्दो चाप, वित्तीय बजारमा देखिएको तरलता अभाव, अन्तर्राष्ट्रिय रुपमा देखिएको आर्थिक मन्दीका संकेतले नेपालको सेयर बजारलाई पनि प्रभावित बनाउन खोजिरहेको छ । बढ्दो मुद्रास्फीतिले आर्थिक मन्दीको सम्भावना देखाएकाले लगानीकर्ताहरूमा एक खालको मनोवैज्ञानिक प्रभाव परेको छ ।
कतिपय श्रीलंकाको आर्थिक संकट देखाएर नेपालमा पनि त्यही प्रकृत्तिको संकट आउन सक्ने विश्लेषण भइरहेका छन् । जसको असर सेयर बजारको लगानीमा पनि पर्ने देखिन्छ । आर्थिक मन्दी आउने संकेत देखिएमा सेयर बजारमा ठूलो झट्का लाग्न सक्छ । यद्यपि, लगानीकर्ताहरुले पर्ख र हेरको नीतिलाई अंगीकार गरिरहेका छन् ।
वित्तीय क्षेत्रमा पनि वित्तीय सुशासनका पक्षमा प्रश्नहरु उठ्न थालेका छन्, जसको प्रभाव सेयर बजारमा पर्न सक्छ । सरकार र केन्द्रीय बैंकले आर्थिक संकट आउँदैन र हामी के कस्ता कारणले सबल छौं भनेको अवस्थामा बजार तल झर्न सक्छ ।
यसदिन बजार घटाउन १८३ कम्पनीले भूमिका निर्वाह गरे । सबैभन्दा बढी इमर्जिङ नेपालको सेयर मूल्य १० प्रतिशतले घट्यो । उता घटेको बजारमा पनि ३१० कम्पनीको मूल्यमा सुधार आएको छ । नियमित कारोबारमा रहेका राष्ट्र उत्थान र नेष्डो लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।