चितवन । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुंगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ । सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ ।
सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ । तीन प्याकेजमध्ये अहिले नागढुंगा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुंगा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यससँगै अहिले परामर्शदाताको पनि छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ ।
नागढुंगा–नौबिसे सडकको लम्बाई १२ किमी र नौबिसे–मलेखु साढे ४३ किमी हो । कार्कीका अनुसार दुवै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ ।
नागढुंगाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ । यसका लागि नेपाली र अन्तर्राष्ट्रिय दुवै निर्माण कम्पनीले आवेदन हालेका छन् । नागढुंगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए ।
तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीकाे भनाइ छ । ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैंकलाई पठाएको थियो । उनले भने, 'अहिले विश्व बैंकले त्यसमा अध्ययन गरिरहेको छ । सकिएपछि ठेक्कामा जान सकिन्छ ।'
हाल प्रक्रियामा रहेका २ ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जानसक्ने भन्दै प्रमुख कार्कीले अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने बताए ।
सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भए पनि बजार ठाउँमा चार लेन हुनेछ । विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनेछ ।
सडक विभागले यस अघि नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुंगा–मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ ।