काठमाडौं । मुलुकमा पर्याप्त फलामखानीहरू छन् भन्न थालिएको वर्षौं भइसक्यो । तर, फलाम खरिदका लागि बर्सेनि मुलुकबाट अर्बाैं रुपैयाँ बाहिरिने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालका उद्योगीले १ खर्ब ७५ अर्ब रुपैयाँ खर्चिएर २० लाख टन फलाम तथा फलामजन्य वस्तु आयात गरेका छन् । फलामजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भइरहेको भनिए पनि तथ्यहरूले कच्चा पदार्थ सबै विदेशबाटै आउने गरेको पुष्टि हुन्छ ।
मुलुकमा भएको फलामखानीबाट फलाम उत्खनन गर्न नसक्दा नेपालबाट ठूलो रकम बाहिरिइरहेको छ र यसको प्रभाव अर्थतन्त्रको बाह्य क्षेत्रमा नराम्ररी परेको छ । गत वर्षकै तथ्यांकका आधारमा चालू वर्ष थप फलामजन्य आयातमा बढी रकम खर्चनुपर्ने छ किनभने यस वर्ष अन्तर्राष्ट्रिय बजारमा स्टिल/फलामजन्य वस्तुको भाउ आकासिएको छ । गत वर्षकै हाराहारी परिणाममा आयात भए पनि मूल्य बढी तिर्नुपर्ने निश्चित छ ।
सरकारले एक चरण काम अघि बढाइसकेको र नमुनासमेत परीक्षण गरी ल्याइसकेको नवलपुरको हुप्सेकोट गाउँपालिका धौबादीबाट व्यावसायिक रुपमा फलाम उत्खनन गरेको अवस्थामा कुल मागको एक चौथाइ हिस्सा थेग्ने सरकारी अधिकारीहरू बताउँछन् । धौबादी फलाम खानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. जनकबहादुर चन्द कुल मागको एक चौथाइ अर्थात् ५ लाख टन फलाम धौबादीबाट उत्पादन गर्न सकिएमा वार्षिक ४३ अर्ब ७५ करोड रुपैयाँ बाहिर जान रोकिने बताउँछन् ।
आवश्यक कर्मचारीको जोहो भएको अवस्थामा वार्षिक ५ लाख टनभन्दा बढी फलाम धौबादीबाट निकाल्न सकिने चन्दको विश्वास छ । धौबादीमा करिब १० करोड टन फलाम रहेको अनुमान छ । पूर्व–पश्चिम राजमार्गको कावासोती नगरपालिकाको डन्डा र मध्यबिन्दु नगरपालिका चोरमाराबाट १३ किलोमिटर उत्तरतर्फ पर्ने धौबादीमा खानी सञ्चालनका लागि भन्दै संघीय सरकार, प्रदेश र स्थानीय तहको ५८ प्रतिशत र निजी क्षेत्रको ४५ प्रतिशत सहभागिता रहने गरी कम्पनी २ वर्षअघि नै खोलिएको थियो ।
सरकारले चीनको छन्तुस्थित साउथ वेस्ट मेटालर्जिकल सेन्टरमा धौबादीबाट संकलित एक हजार किलो चट्टान नमुना परीक्षणका लागि पठाएको थियो । त्यसमध्ये ५ सय किलो चट्टानको परीक्षणबाट स्पञ्ज आइरन राम्रो भएको नतिजा आइसकेको छ । चट्टानमा फलामको मात्रा ५५–६० प्रतिशतभन्दा धेरै भए प्रशोधन गर्न सहज र सस्तो पर्छ । फलामको मात्रा ६० प्रतिशतभन्दा बढी भएका चट्टानबाट फलाम निकाल्न आर्थिक सम्भाव्यताको हिसाबले राम्रो मानिन्छ ।
धौबादीको चट्टानबाट फलाम निकाल्न एक चरणको स्तरोन्नति गर्नुपर्ने देखिएको अधिकारीहरूको भनाइ छ । फलामको मात्रा थोरै भएका चट्टानबाट पनि फलाम निकाल्न सकिन्छ तर, त्यस्ता चट्टानबाट नचाहिने वस्तु फालेर फलाम छुट्ट्याउँदा अलि बढी लागत लाग्छ ।
छन्तुमा पठाइएका ४२ प्रतिशत फलामको मात्रा भएको चट्टानको पहिलो चरणमा गरिएको ‘बेनिफिकेसन र स्पञ्ज आइरन परीक्षण’बाट ‘स्पञ्ज आइरन’ को मात्रा ९५ प्रतिशत पाइएको थियो । स्पञ्ज आइरन नै फलाम तथा स्टिलका लागि कच्चा पदार्थ हो ।
धेरै र थोरै फलामको मात्रा भएको चट्टानको परीक्षणबाट औसतमा ९० प्रतिशतभन्दा धेरै स्पञ्ज आइरन पाइएमा खानी खोतल्न आर्थिक हिसाबले सम्भव हुने विभागको प्रारम्भिक अनुमान छ ।
देशका ६५ स्थानमा फलामखानी
मुलुकका ६५ स्थानमा फलामखानी रहेको सरकारी अनुमान छ । तर, अध्ययन र परीक्षण नभएकाले परिमाण र गुणस्तरका विषयमा राज्य बेखबर जस्तै छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सन् १९६० को दशकमा मध्यहिमाली क्षेत्रको ३९ हजार वर्ग किमिमा गरेको प्रारम्भिक भू–रासायनिक अध्ययनले फलाम र अन्य धातुका दर्जनौं खानीको सम्भावना देखाए पनि विस्तृत अध्ययन भने अझै भएको छैन ।
फलामलाई विकास र औद्योगिक विस्तारको आधार मानिन्छ । पूर्वाधार निर्माण र औद्योगिकदेखि घरायसी उपकरणका लागि फलामको प्रयोग हुन्छ । कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुँडा बनाउन किटका रुपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधित फलामबाट स्पात, स्टिल, छड आदि बनाइन्छ ।
फुलचोकी फलामखानी उत्खनन नहुने
काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुरको फुलचोकीमा फलामखानी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागले प्रमाणित गरिसकेको छ । विभागको अन्वेषणअनुसार फुल्चोकीमा १ करोड ६ लाख ७० हजार टन फलाम उत्पादन हुने अनुमान गरिएको छ । फुल्चोकीका धाउ (धातु)मा ५४ देखि ५८ प्रतिशतसम्म फलामको मात्रा रहेको विभागका सूचना अधिकारी तथा जियोलोजिस्ट नारायण बाँस्कोटा बताउँछन् ।
तर, उपत्यकाको वातावरणमा असर पर्ने भन्दै फुलचोकीमा खानी स्थापना र उत्खननको प्रक्रिया अगाडि बढाइएको छैन । सूचना अधिकारी बास्कोटा भन्छन्, ‘हामीले प्रस्ताव (टेन्डर) आह्वान पनि गरेका थियौं तर, रद्द भयो । उपत्यकाभित्र खानी सञ्चालन नगरिने भएकाले प्रक्रिया अगाडि बढ्दैन ।’
अलपत्र ठोसे फलाम खानी
रामेछाप जिल्लाको ठोसे फलामखानी राणा शासनको समयमा प्रयोगमा ल्याइएको अनुमान गरिए पनि वर्तमानमा भने प्रयोगमा छैन । विभागले गरेको नमुना परीक्षणअनुसार ठोसेका धाउमा ३० देखि ६६ प्रतिशतसम्म फलाम छ भने १ करोड ५ लाख टन फलाम उत्पादन हुने क्षमता रहेको अनुमान विभागको छ । फलामको मात्रा कम तर, फैलावट बढी भएका कारण सञ्चालनमा समस्या रहेको भन्दै पन्छाउने गरिएको छ ।
तनहुँ र चितवनमा पनि सम्भावना
फलामखानीको सम्भावना रहेको अर्को स्थान हो, तनहुँको लब्दीखोला । विभागकाअनुसार लब्दीखोलाको धाउमा ३५ प्रतिशतसम्म फलामको मात्रा छ भने १ करोड ८ लाख टन फलाम निस्कने क्षमता छ ।
विभागकाअनुसार चितवन जिल्लाको जिरुबाङमा पनि ८ लाख टन फलाम रहेको छ । तर, जिरुबाङमा अन्य ठाउँको तुलनामा कम मात्रामा फलाम भएको र परिमाण पनि थोरै भएकाले कसैको ध्यान गएको छैन । उता, पर्वतको महाशीला, बैतडीको पुरचौडी र सुगरखाल, जाजरकोटको बारेकोटलगायतका स्थानमा फलाम खानी रहेको विभागले जानकारी दिएको छ ।
चालू वर्ष थप ३ ठाउँमा सम्भावनाको खोजी हुँदै
खानी विभागले चालू आर्थिक वर्षमा थप ३ स्थानमा फलामखानीको संभावनाको विषयमा अनुसन्धान गरिरहेको छ । बझाङ्को बुङ्गलमा प्रारम्भिक चरणको अध्ययन सकाएको विभागले बैतडीको मल्लादेवीमा भू–भौतिक अध्ययन र संखुवासभाको लुबाकोटमा अन्वेषण गरेको छ । तर, बैतडीको अध्ययन प्रतिवेदन आइसकेको छैन ।
विभागका जियोलोजिस्ट तथा प्राविधिकहरूका अनुसार फलामखानीको सम्भावना महाभारत क्षेत्रमा बढी हुने गरेको छ । तर, नेपालको उत्तरतर्फ हिमश्रृङ्खला रहेकाले दक्षिणतिर मात्रै खानी भेटिन्छ ।
फलामखानी उत्खननको इतिहास
एक शताब्दी अघिसम्म परम्परागत तरिकाले धाउबाट घरायसी प्रयोजनका लागि आवश्यक सामान बनाउन नेपालकै फलामको प्रयोग हुने गरेको इतिहास रहेको जानकारहरू बताउँछन् । तर, अहिलेसम्म वैज्ञानिक तरिकाले व्यावसायिक उत्पादनको काम भने हुन सकेको छैन ।
विभागका सूचना अधिकारी बास्कोटाका अनुसार राणाकालमा स्थानीय समुदायले ठूला अग्राखका रुखको वरिपरिका ठाउँ खनेर फलाम उत्पादन गर्ने गर्थे । ‘तिनै ठाउँहरूलाई विभागले सम्भाव्य ठाउँको रुपमा अध्ययन गरिरहेको छ’, बास्कोटाले भने, ‘विभागले सम्भाव्य क्षेत्रको अध्ययन गर्दै जाँदा फलाम मात्र नभई अन्य विभिन्न किसिमका खानीसमेत भेटिएको छ ।’ विशेषगरी नेपालमा व्यावसायिक उत्पादनको काम अघि बढाउन मिल्ने गरी तामा र फलामको खानी भेटिएको छ । ‘नेपालमा भाँडाकुँडा, कुटो–कोदालो बनाउन तामा र फलाम प्रयोग हुने भएकाले अन्य खानीतिर ध्यान नदिएको पाइन्छ’, बास्कोटाले भने ।
प्राविधिक जनशक्ति अभाव
हाल विभागमा प्राविधिक, अप्राविधिक र श्रेणीविहीन कर्मचारी गरी १ सय ४४ जनाको दरबन्दी रहे पनि १ सय ४ जना मात्रै क्रियाशील छन् । त्यस्तै प्राविधिक स्तरको अधिकृतको दरबन्दी ७४ जना रहेकोमा ५४ जना मात्रै उपलब्ध छन् । बास्कोटाले अहिलेकै जनशक्ति अनुसन्धानमा संग्लन भएमा आगामी १ सय वर्षमा पनि नेपालमा भएका खानीको पहिचान नहुने दाबी गरे ।
खानी कसरी पत्ता लगाइन्छ ?
सामान्यतयाः तीन चरणको अध्ययन/अनुसन्धान प्रक्रियापछि अध्ययन गरिएको ठाउँमा खानी छ कि छैन भनेर पत्ता लगाउने काम हुन्छ ।
- प्रारम्भिक अध्ययन गर्नेः जसअन्तर्गत भण्डारलाई प्रतिनिधित्व गर्ने गरी ठाउँ–ठाउँबाट नमुना संकलन गरेर अध्ययन गर्ने काम हुन्छ ।
- सतही नमुना धेरैः भण्डारलाई समेट्नी गरी संकलन गरेर अध्ययन गर्ने कार्य हुन्छ ।
- ड्रिलिङ गरेर नमुना संकलन गरी अध्ययन गर्ने
यी ३ चरण पार गरेपछि मात्रै कुनै ठाउँमा खानी छ वा छैन भनेर विभागले प्रमाणित गर्छ । तर, थप अध्ययनका लागि भने विदेश (विशेष गरी भारत वा चीन) को नै भर गर्नुपर्ने हुन्छ । निश्चित मापदण्ड तोकेर निजी क्षेत्रलाई थप अध्ययनको अनुमति दिन सकिने व्यवस्था पनि छ । धौबादीको नमुना परीक्षण गर्न सरकारले चीनमा पठाएको थियो । तर, सबै ठाउँको नमुना सरकारले पठाउँछ भन्ने हँँुदैन । विभागले गर्ने प्रत्येक खानीको प्रारम्भिक अध्ययनमा करिब १० लाख रुपैयाँ खर्च हुने गरेको छ ।
विभागसँग ११ वटा निजी कम्पनीहरूले खोजतलासको अनुमति लिएर अध्ययन/अनुसन्धान गर्दै आएका छन् । विभागले उत्खनन र खोजतलास गरी २ कामका लागि छुट्टाछुट्टै अनुमति दिन सक्छ । केही वर्ष अघिसम्म नेपालमा खानी रहेका क्षेत्रहरू पहुँचमार्ग बाहिर रहेका थिए तर, पछिल्लो समय सहज पहुँचमा पुग्न थालेका छन् ।
छैन प्रयोगमा धाउ परीक्षण गर्ने ल्याब
खानी विभागको रासायनिक प्रयोगशाला (धाउ परीक्षण गर्ने ल्याब) भने लामो समयदेखि बिग्रिएर थन्किएको छ । पर्याप्त जनशक्ति र ल्याब नभएको भन्दै लामो समयदेखि बिग्रिएको मिसिन अहिलेसम्म मर्मतमा भएको छैन ।