काठमाडौं । व्यावसायिक घरना विजय ग्रुपले स्थापना गरेको विजयश्री स्टिलको डन्डी बिक्रीबाट हुने आम्दानी ३५ प्रतिशतले बढेको छ ।
एक वर्षको अवधिमा कम्पनीले ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विजयश्रीले डन्डी बेचेर ३ अर्ब ९५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सन् २०२० को तुलनामा २०२१ मा कम्पनीको आम्दानी १ अर्ब ३९ करोड ४० लाख रुपैयाँ बढेको छ । यो वर्षको ६ महिनाको अवधिमा कम्पनीले टीएमटी बार बेचेर २ अर्ब ५० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले भारतबाट बिलेट आयात गरेर टीएमटी बार उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । दैनिक ७०० टन टीएमटी बार उत्पादन गर्ने क्षमता उद्योगको छ ।
कच्चा पदार्थको भाउ बढेकाले कम्पनीको आम्दानीमा केही कमी आएको छ । यद्यपि गत वर्ष खुदनाफा ३० लाख १० हजार रुपैयाँ मात्र भएको कम्पनीले जनाएको छ ।
उद्योग सन् २०१७ मा स्थापना भएको हो । विजयश्रीले सन् २०१८ को नोभेम्बरदेखि टीएमटी बार उत्पादन थालेको हो । उद्योगको सञ्चालन आम्दानी बढेपछि अल्पकालीन ऋण २ अर्ब ४ करोडबाट घटेर १ अर्ब ५७ करोड ८० लाख रुपैयाँमा आएको छ । यस्तै दीर्घकालीन ऋण पनि ४४ करोड ७० लाखबाट घटेर २४ करोड १० लाख रुपैयाँमा सीमित भएको छ । यस्तै ब्याज खर्च पनि घटेको छ । आम्दानी बढेपछि उद्योगले ऋण दायित्व घटाउँदै लगेको छ ।
।
उद्योगको कारखाना कपिलवस्तुको शिवराज अर्थात् भारतको बरौनी नाकाबाट ११ किलोमिटर उत्तरमा छ । भारतसँगको सीमा नजिक भएकाले कच्चा पदार्थ आयात गर्दा लागत कम हुने लाभ कम्पनीलाई रहेको केयर रेटिङ नेपाल लिमिटेडले औंल्याएको छ । कम्पनीले अहिले भारतको बरौनी बोर्डरबाट कच्चा वस्तु आयात गरिरहेको छ । यस्तै नेपालको पूर्व–पश्चिम राजमार्ग नजिक भएकाले नेपाली बजारमा प्रवेशका लागि उद्योगलाई सहज छ । नेपालका अधिकांश स्टिल उद्योग पूर्वी क्षेत्रमा भएकाले विजयश्रीलाई पश्चिममा बजार विस्तार गर्न ठूलो अवसर देखिएको केयर रेटिङले उल्लेख गरेको छ ।
स्टिल उद्योगको कुल आम्दानीको ८६ प्रतिशत कच्चा वस्तु खरिदमा जाने गरेको छ । कच्चा वस्तुको भाउ, बैंकको ब्याजदर र अमेरिकी डलरमा आउने उतारचढावले उद्योगको आम्दानीमा असर परेको छ । यस्तै डलरको भाउमा आएको उतारचढावले गर्दा विजयको ‘एक्सचेन्ज लस’ ५ करोड ३० लाख रुपैयाँ भएको छ ।
विजय ग्रुप ३ दशकदेखि नेपालको औद्योगिक क्षेत्रमा सहभागी छ । ग्रुपले सिमेन्ट आयात र उत्पादन, ब्याट्री उत्पादन, व्यापार र शिक्षा क्षेत्रमा लगानी विस्तार गरेको छ । ग्रुपअन्र्तगत विजय सिमेन्ट प्रालि पनि रहेको छ । विजय सिमेन्टका देशभरि ४०० भन्दा बढी बिक्रेताहरु भएकाले सिमेन्ट बिक्रेतामार्फत स्टिल बिक्री गरेर थप लाभ लिने सम्भावना छ । स्टिल उद्योगको नेतृत्व विकास केडियाले गरेका छन् ।
सरकारले पूर्वाधार विकासमा धेरै जोड दिएकाले निर्माण गतिविधि बढ्न गई बजारमा स्टिलको माग बढ्ने अनुमान कम्पनीको छ । यस्तै सरकारले भूकम्पपछिको पुनर्निमाणमा ३४ अर्ब, ४१ अर्ब सहरी विकास र १ खर्ब ६३ अर्ब रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा खर्च गर्ने सरकारको लक्ष्य भएकाले अल्पकालका लागि स्टिल उद्योगको बजार बढ्ने केयरले जनाएको छ ।
स्टिलको बिक्री बढ्ने माध्यम सरकारको पुँजीगत बजेट खर्च हो । उद्योगको क्षमताभन्दा कम उत्पादन भएकाले स्टिलको मूल्य अभिवृद्धि (भ्यालु एड) कम देखिएको केयर रेटिङले जनाएको छ । धेरै उद्योग बजारमा आएकाले प्रतिस्पर्धा झनै हुने देखिएको छ ।
उद्योगले क्षमता विस्तारमा ४ अर्ब ६ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । अल्पकालीन तथा दीर्घकालीन ऋणको नवीकरण गर्न कम्पनीले रेटिङ गराएको हो । विजयश्रीले केयरबाट केयर एनपी फोर प्लस रेटिङ पाएको छ ।
नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको ऋणको रेटिङ गर्नुपर्ने बाध्यात्मक नियम बनाएपछि उद्योगले गराएको हो ।