काठमाडौं । सरकारको घोषणाअनुसार चैतभित्रै मेलम्चीको पानी काठमाडौं आउने सम्भावना टरेको छ । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सीडीई) पदम कुँवरका अनुसार मंगलबारबाट टनेल सफा गर्ने काम सुरु भएको छ ।
‘टनेल सफा गर्न करिब ३ दिन लाग्न सक्छ । गेट खुलिसकेका छन् । सामान्य मर्मत गर्नुपर्ने देखिएको छ’, उनले भने, ‘नयाँ आयोजना होइन । मर्मत गर्नुपर्ने भएकाले यकिन समय निर्धारण गर्न सकिँदैन । तर, चैत्रभित्रै टनेलमा पानी हाल्नचाहिँ सकिन्छ ।’
टनेलमा पानी हालेको करिब १५ दिनपछि मात्रै काठमाडौंमा मेलम्चीको पानी आइपुग्ने उनको भनाइ छ । यद्यपि सीडीई कुँवर चैत्रभित्रै काठमाडौंमा पानी पुर्याउने दाबी गर्छन् । तर, उनकै जवाफले वैशाख १५ सम्ममा मात्रै काठमाडौंवासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने प्रष्ट हुन्छ ।
‘टनेलमा पानी हालेको बढीमा १५ दिनसम्म काठमाडौंमा पानी पुग्छ । हामी चैतभित्रै काठमाडौंवासीलाई पानी पुर्याउने गरी काम गरिरहेका छौं’, उनले भने ।
सरकारले प्रतिस्थापन बजेटमार्फत बाढीले क्षति पुगेको मेलम्चीबाट चैतसम्म काठमाडौंमा पानी ल्याउने घोषणा गरेको थियो । त्यसयता खानेपानीमन्त्री उमाकान्त चौधरीले पटक–पटक सोही प्रतिबद्धता दोहोर्याउँदै आएका छन् ।
तर, आयोजनाको पुनर्निर्माणकार्य माघमा मात्रै सुरु भएको थियो ।