काठमाडाैं । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन् । मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दसैंमा कालिका मन्दिर दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ ।
४ दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि बागलुङ कालिका दर्शनका लागि एक दिन बागलुङलाई छुट्याएर आएको चितवन भरतपुरका पर्यटक सुन्दरकुमार बरालले सुनाए । उनले सामाजिक सञ्जालमा देखेको लामो पुल, पञ्चकोटलगायतका स्थानले अफूलाई बागलुङ आउने प्रेरित गरेको बताए ।
भरतुपर महानगरपालिका–२ क्षेत्रपुर चितवनको मितेरी आमा समूह, चितवनकै बिस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र धादिङ जिल्लाको श्री विशाल आमा बचत तथा ऋण सहकारी संस्थालगायतका संस्थाहरू बस लिएरै बागलुङ भ्रमणमा आएका छन् । यस्ता सामाजिक तथा संघसंस्थाहरू दैनिक सयौंको संख्यामा बागलुङ आउन थालेका छन् । अहिले कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोकेका सवारीसाधनहरूको चाप थेगिनसक्नु छ । चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको पर्यटन व्यवसायी बताउँछन् ।
बागलुङको धार्मिक पर्यटकीय क्षेत्रमा अहिले पर्यटकको घुइँचो नै लाग्ने गरेको पाइएको छ । बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम संग्रहालय र लामो झोलुंगे पुलमा पर्यटकको चाप बढेको पाइएको छ । चैते दसैं सुरु भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकहरूसमेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बागलुङलाई मानेर यहाँ आउने गरेको पाइएको छ । कोरोनाले २ वर्षदेखि रोकिएको ऐतिहासिक चैत्राष्टमी मेलाको तयारीसमेत गरिएको छ ।
बागलुङको चैत्राष्टमी मेला नेपालमै प्रसिद्ध मेलामध्येको एक हो । चैत २४ देखि २८ गतेसम्म चैत्राष्टमी मेलाको आयोजना गरिएको र अहिले यसको तयारीले तीव्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताउँछन् । यही चैत दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटलहरू भरिभराउ भएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिए ।
'पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो । तर, पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटकहरू बागलुङ कालिका र पञ्चकोटमा समेत आएको पाइयो । पञ्चकोट र कालिका मन्दिर दर्शनले गर्दा दर्शनार्थीको भ्रमण समय लम्बिएको छ', चोखालले भने, 'बागलुङका ठूला होटलहरू पर्यटकले भरिभराउ भएका छन् । यो पर्यटन व्यवसायीहरूका लागि सुखद कुरा हो । बागलुङमा थप ठूला तारे होटलहरूको समेत आवश्यकता खड्किएको छ ।'
चोखालका अनुसार बागलुङ आउने भारतीय र नेपाली पर्यटक मध्य अधिकांश धार्मिक पर्यटक आएको बताए । पर्यटकीय क्षेत्रका रूपमा अघि बढेको बागलुङमा बिस्तारै पर्यटकीय गतिविधि बढ्दै गएकाले यहाँका नागरिकहरूको आर्थिक सबलीकरणमा समेत उल्लेख्य सुधार हुन थालेको छ । धार्मिक पर्यटकहरू मात्र नभएर अध्ययन अवलोकन भ्रमणको समेत गन्तव्य बन्दै आएको छ बागलुङ । अहिले विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवर्धनका कारण जिल्लामा पर्यटक बढ्दै गएका पाइएको छ ।
अहिले होटलमा पाहुनाको व्यवस्थापन गर्न हम्मे-हम्मे पर्दै आएको बागलुङका सफल पर्यटन व्यवसायी एन्जिल शाक्यले बताए । उनका अनुसार पाहुनाको मागअनुसार आफूले होटलको सुविधा थपिएकाे छ ।