काठमाडौं । २०७८ असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा प्रेम आलेले सपथ लिए । सपथलगत्तै मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा नेपाल वायुसेवा निगमको जहाज घाम तपाएर नराख्ने उद्घोषसमेत गरे ।
तर, उनको उक्त उद्घोष भाषणमै सीमित भएको छ । अर्थात् उनको बोलीलाई निगमले नै चुनौती दिँदै विदेशमा जहाज घाममा सुकाउँदै आएको छ ।
चर्को भाषण गर्ने र कर्मचारीहरुलाई रुखो व्यवहार गरेकै कारण चर्चामा आइरहने मन्त्री आले आफैं मातहतको निगमको जहाज पटक–पटक बिग्रिएर घाममा सुकाउँदा पनि उनले कुनै निर्णय लिन सकेका छैनन् । अरुलाई तर्साउने तर, आफ्नै विभागमा भने चरम लापरबाही हुँदा पनि चुप लागेको भन्दै अहिले मन्त्री आलेको चर्को विरोध हुन थालेको छ ।
आलेलाई पछिल्लो समय स्टन्ट मन्त्रीका रुपमा पनि लिन थालिएको छ । निगमकै जहाज ५ दिनदेखि थाइल्यान्डमा टायर पन्चर भएर बस्दासमेत हालसम्म मर्मतसम्भार हुन सकेको छैन । गत १८ गते थाइल्यान्डमा न्यारोबडी जहाजका दुइटा टायर पन्चड भएका थिए । घटना सामान्य भए पनि व्यवस्थापकीय कमजोरीका कारण हालसम्म टायर फेर्न नसकिएको र घाममा सुकाएर राख्नुपरेको निगमकै एक अधिकारीले जानकारी दिए ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने शुक्रबार नै यो सामान्य घटना भएको र तत्कालै मर्मत गरी सञ्चालनमा ल्याउने जानकारी दिएका थिए । तर, ५ दिन बितिसक्दासमेत सो जहाजको टायर मर्मत हुन सकेको छैन । जसका कारण निगमलाई दैनिक लाखौ रुपैयाँ घाटा भइरहेको छ ।
जहाजमा लामो समयसम्म समस्या आइरहँदा पनि स्टन्ट मन्त्रीको रुपमा चर्चा कमाएका आले भने देखेर पनि नदेखे झैं गर्दै आइरहेका छन् । अन्य विषयमा आफैं फिल्डमा उत्रिएर निर्देशन दिने र कार्यान्वयन गराउन अग्रसर हुने उनी निगमको समस्या समाधानका लागि भने मौन रहनु रहस्यमय भएको निगमका एक पूर्वअध्यक्षको भनाइ छ ।
आले मन्त्री भएपछि जहाज घाममा सुकेको घटना यो पहिलो होइन । यसअघि पनि २०७८ पुस १३ गते कतारको दोहामा न्यारोबडी जहाज पार्किङ गर्ने क्रममा इन्जिन फेल भई २ महिनाभन्दा बढी घाममा सुकेर बसेको थियो । त्यति बेला पनि उनले जहाज मर्मतसम्भार गरी छिटो चलाउन कुनै निर्देशन भने दिएका थिएनन् ।
मन्त्री आलेले सपथका क्रममा लिएको प्रतिज्ञालाई निगमले नै ठाडो चुनौती दिएको मन्त्रालयका एक सहसचिवको भनाइ छ ।
केही समयअघि मन्त्री आले बतास समूहले भाडामा लिएको दरबारमार्गको कफी सप भत्काउन आफैं गएर चर्चामा आएका थिए । त्यससँगै बतासले नै लिएको पशुपति धर्मशालाको होटल बन्द गराउनुअघि स्थलगत निरीक्षण गरेका थिए । र, तत्काल छानबिन समिति बनाएर कार्यान्वयनमा पनि रातारात लगेका थिए ।
तर, निगमभित्रै भएका ढिलासुस्तीबारे उनले कानमा तेल हालेर बसेको एक पूर्वमहाप्रबन्धकको आरोप छ ।