काठमाडौं । रेमिट्यान्स कम्पनी ई-सेवा मनी ट्रान्सफर र बेलायतबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यस सम्झौतासँगै बेलायतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै ई-सेवा मनी ट्रान्सफरमार्फत नेपालमा तुरुन्तै रेमिट्यान्स पठाउन सक्नेछन् ।
रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र ई-सेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ। टेंगोपेबाट पैसा पठाउँदा सुरूको ३ महिनासम्म कुनै शुल्क समेत नलाग्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विदेशबाट टेंगोपेमार्फत अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ। त्यस्तै, पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ई-सेवा वालेटमा प्राप्त गरेर अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ।
रेमिट्यान्स्सम्बन्धी सम्झौतापत्रमा ई-सेवा मनी ट्रान्सफरका तर्फबाट सीइओ अजेस कोइराला र टेंगोपेको तर्फबाट निर्देशक बसिर संगर्वालले हस्ताक्षर गरेका हुन्।
टेंगोपे विश्वका ४० भन्दा बढी देशमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको, बेलायतको फाइन्यान्सिअल कन्डक्ट अथोरिटीद्वारा इजाजत प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायक हो। यसले सरल र सस्तो दरमा आफ्ना ग्राहकहरूलाई क्यास पिक अप, तत्काल खाता क्रेडिट, मोबाइल वालेट क्रेडिट लगायतका सुविधा प्रदान गर्दै आएको छ।
उक्त ई-सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। ई-सेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई १८ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दैछ।