काठमाडौं । निर्माण सम्पन्न भएको ९ महिनापछि चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आउने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले गत असारमा डेढ अर्ब रुपैयाँको लागतमा चोभारमा सुक्खा बन्दरगाहा निर्माण सम्पन्न गरेको थियो । सञ्चालनको मोडालिटी बन्न नसक्दा सुक्खा बन्दरगाहा सञ्चालनमा ढिलाइ हुन गएको हो ।
प्रधामन्त्री शेरबहादुर देउवाले आज मंगलबार बन्दरगाहको उद्घाटन गर्ने भएका छन् । उद्घाटनपछि औपचारीक रुपमा बन्दरगाह सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
मंगलबार दिउँसो २ बजे सुक्खा बन्दरगाह उद्घाटनको तयारी छ, प्रधानमन्त्रीसहित अर्थमन्त्री, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, व्यापारीसहितको टोली सहभागी हुने कार्यक्रम रहेको छ । बन्दरगाह सञ्चालनको लागि आवश्यक तयारी पुरा भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।
डिजिटल लकिङ लगाएर वीरगञ्जमा जाँचपास नगरी सामान लिएर सिधैं काठमाडौं आएको कन्टेनरलाई प्रधानमन्त्री देउवाले भित्र्याएर बन्दरगाह सञ्चालनको शुभारम्भ गरिने बताइएको छ । बन्दरगाहलाई भन्सार क्षेत्र घोषणा, आन्तरिक परिवहनको सुविधा, चार किल्ला निर्धारण, भन्सार प्रमुख नियुक्ति र सुरक्षाको प्रवन्ध भइसकेको छ ।
गत मंगलबार अर्थात् चैत १५ गते नेपाल राष्ट्र बैंकले बन्दरगाह सञ्चालनको अनुमति दिएसँगै उद्घाघानको तयारी गरिएको थियो । राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार मेची, विराटनगर, वीरगन्ज, सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट भित्रिएका सवारीको जाँचपास अब सिधै चोभार सुक्खा बन्दरगाहमा गर्न सकिन्छ ।
चोभारस्थित बन्दरगाह अहिले सरकारले नै सञ्चालन गर्ने समितिका कार्यकारी निर्देशक गजुरेलको भनाइ छ । अहिले नै निजी क्षेत्रलाई सञ्चालन गर्न दिने अवस्था नभएकाले सरकार आफैंले बन्दरगाह सञ्चालन गर्न लागेको हो ।
बन्दरगाह निर्माणको लागि नेपाल र विश्व बैंकबीच सन् २०१३ मा ऋण लगानी सम्झौता भएको थियो । जस अनुसार सन् २०१९ भित्रै चोभारको सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना महामारी र निर्माण सामग्रीको उपलब्धतामा भएको कठिनाइले ढिला भएको समितिले जनाएको छ ।
कुल २२० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा ५०० ट्रक र त्यति नै संख्यामा कन्टेनर अट्नेछन । बन्दरगाह सञ्चालन पछि विषेशगरी काठमाडौंको व्यापार व्यवसायमा सहज हुने विश्वास व्यवसायीहरुले गरेका छन् ।
काठमाडौं तराई–मधेस द्रुतमार्ग निर्माण भएर सञ्चालनमा आएपछि मात्रै बन्दरगाह पूर्णरुपमा सञ्चालनमा आउन सक्ने छ ।
द्रुतमार्ग सञ्चालनमा आएपछि वीरगन्जबाट हिँडेको मालवहाक सवारी तीनदेखि चार घण्टामा चोभार आइपुग्छ । बागमतीमा निर्माण हुने पुलले बन्दरगाह र दु्रतमार्गलाई जोड्नेछ । यस्तै, रक्सौल–काठामाडौं रेलमार्गलाई पनि बन्दरगाहसँग जोड्ने सरकारको योजना छ ।
चीनबाट आउने भनिएको रेललाईसमेत चोभार लैजाने तयारी छ ।
पहिलो चरणको काम सम्पन्न भएसँगै दोस्रो चरणको निर्माणका लागि पनि प्रशस्त ठाउँ रहेको छ । समितिले वीरगन्जमा सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको छ । यस्तै, रसुवाको टिमुरेमा २ अर्ब रुपैयाँको लागतमा सुक्खा बन्दरगाहको काम भइरहेको छ ।
यस्तै, समितिले ओलाङचुङगोला, मुगुको नाक्च्यालग्न र मुस्ताङको कोरलामा पनि भौतिक पूर्वाधार निर्माण गर्न योजना अघि सारेको छ । नेपाल चीनबीचको व्यापार सहजीकरण गर्ने लक्ष्यका साथ कोरलाको काम छिट्टै प्रक्रियामा लैजाने तयारी रहेको कार्यकारी निर्देशक गजुरेल बताउँछन् ।