काठमाडौं । आयात बढेर विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैंकले निजी सवारी साधन आयातमा प्रतिवन्ध लगाएको छ । निजी सवारी साधन आयातमा प्रतितपत्र (एलसी) खोल्न बन्द गर्ने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाइ यस्तो निर्देशन दिएको हो । केन्द्रीय बैंकले अत्यावश्यक वस्तु बाहेक अन्यमा एलसी खोल्न कडाइ गरेको छ ।
केन्द्रीय बैंकले ऋण लगानी ठप्प पार्दै औद्योगिक कच्चा पदार्थ आयात र अत्यावश्यक वस्तुमा मात्र एलसी खोल्न निर्देशन दिएको छ । आयात बढेपछि विदेशी मुद्रा सञ्चितीमा गिरावट आउनुका साथै भुक्तानी सन्तुलन ऋणात्मक भएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो ।
आयात नियन्त्रण नभएकाले चैतमा शोधानान्तर घाटा बढेको र विदेशी विनिमयको सञ्चिती घटेको छ । वस्तुको आयातमा लगाएको नगद मार्जिनले काम नगरेको ठहर केन्द्रीय बैंकको छ ।
ठूला व्यापारीहरुले वस्तु आयातका लागि आवश्यक पर्ने नगद मार्जिन जोहो गरिसकेको भन्दै त्यही रकम बैंकिङ प्रणालीमा रोलिङ गरिरहेकाले आयात नियन्त्रण नभएको राष्ट्र बैंकको बुझाइ रहेको बताइएको छ ।
चैत महिनाको तथ्याङ्कले निर्यात बढ्न नसकेको, वैदेशिक सहायता परिचालन नभएको , रेमिट्यान्स घट्दै गएको र प्रत्यक्ष वैदेशिक लगानी नआउँदा विदेशी मुद्राको सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैंकले नयाँ कर्जा प्रवाह नगर्नका लागि निर्देशन दिएको बैंकका एक सीईओले बताए ।
‘राष्ट्र बैंकले नगद मार्जिनले काम गर्न सक्दैन भन्ने कुरा अहिले आएर बुझ्यो । ठुला व्यापारीले वस्तु आयात गर्नका लागि रकम जुटाइसकेकाले त्यही पैसा एउटा बैंकबाट अर्को बैंकमा लगेर रोलिङ गरेको राष्ट्र बैंकको बुझाइ रह्यो । थप नयाँ कर्जा नदिनु र अत्यावश्यक बाहेका वस्तुमा एलसी खोल्दै नखोल्नु भन्ने स्पस्ट निर्देशन राष्ट्र बैंकले दिएको छ ’, उनले भने ।
राष्ट्र बैंकले आज बैंकर्सहरुसँग राखेको मिटिङले नयाँ कर्जा प्रवाह बन्द भएको उनले बताए । अब बैंक वित्तीय संस्थाले कर्जा असुली र निक्षेप संकलनमा मात्रै ध्यान केन्द्रीत गर्ने भएका छन् ।