काठमाडौं । भनिन्छ, कर्म गरेपछि फल अवश्य पाइन्छ । मान्छेका कर्म गर्ने तरिका फरक–फरक हुन्छन् । तिनै कर्मशील व्यक्तिहरुको साहस र लगनशीलताले व्यवसायमा नयाँ रुप सुरु भएको छ । विषेश गरी युवा उद्यमीको नयाँ आइडिया र सोचले कर्म वा व्यापार गर्दा लोभलाग्दो सफलता हात पारिरहेका छन् ।
विदेशमा रहेका युवाहरु पनि स्वदेशमै केही गर्नुपर्छ भन्दै फर्किन थालेका छन् । विदेशमा रहँदा सिकेको सीप र ज्ञानलाई व्यवसायमा रुपान्तरण गरेकै कारण छोटो समयमा सफलता उन्मुख पुगेको एउटा समूह हो ‘पेपे पिजा’ ग्रुप ।
हुन त, नेपालबाट बिदेसिने युवाहरुको जमात ठूलै छ । विदेशमा गएका केही युवाहरु भने त्यहाँ देखे/सिकेको ज्ञान र सीपलाई नेपालमा कार्यन्वयन गरिरहेका छन् ।
युरोप/अमेरिकामा अध्ययन गरेर फर्किएका र नेपालमै उच्च शिक्षा अध्ययन गरेका ६ जना युवाहरुको समूहले सञ्चालनमा ल्याएको पेपे पिजाले पछिल्लो समय भाटभटेनी सुपरमार्केट ढाकिरहेको छ । जहाँ–जहाँ नयाँ भाटभटेनी खुल्छन् त्यहाँ पेपे पिजाको आउटलेट पनि खुलेकै हुन्छ ।
विषेश गरेर भाटभटेनीमा सपिङका लागि आउनेहरुको खाजा खाने गतिलो गन्तव्य पेपे पिजा बनेको छ । त्यति मात्र होइन, विद्यार्थीहरुदेखि धेरैको रोजाइ पेपे पिजा बनिरहेको छ । पिजा पारखीहरुलाई सस्तो र मीठो पाइने थलोको रुपमा विकास भइरहेको पेपे पिजाले छोटो समयमै ठूलो सफलता हात पार्दै आएको छ भन्दा फरक पर्दैन ।
सन् २०१६ मा महाराजगन्जको भाटभटेनी सुपरमार्केटबाट सुरु भएको पेपे पिजाका हालसम्म १४ वटा आउटलेट खुलिसकेका छन् । ६ वर्षको अन्तरालमा १४ वटा आउटलेट खोलिसकेको पेपेले खाजाको रुपमा पनि पिजालाई सहजै खान सकिन्छ भन्ने उदाहरणसमेत दिइसकेको छ ।
त्यही पेपे पिजा हाँक्दै आएका युवा व्यवसायीहरु हुन्– शिवमान घले, प्रकाश गुरुङ, कौशल तिमलसिना, रामकाजी सिलवाल, सुस्मा गुरुङ र भागवत श्रेष्ठ । उनीहरुमध्ये घलेको झापा, तिमलसिना मोरङ, गुरुङ खोटाङ, सिलवाल सिन्धुपाल्चोक, गुरुङ खोटाङ र श्रेष्ठको घर बागबजार हो ।
छुट्टै ठाउँका उनीहरुलाई अहिले पेपे पिजाले एकै ठाउँमा गोलबद्ध बनाएको छ । उनीहरु मध्ये ४ जना अमेरिकाबाट फर्किएका हुन् भने दुई जना काठमाडौंमै अध्ययन गरेका हुन् ।
यसरी भयो भेट
पेपेका मुख्य योजनाकार भने घले हुन् । उनी अमेरिकामा रहँदा–रहँदै सन् २०१३ मा नेपाल फर्किएका थिए । अमेरिकामै एमबीए गरेका घले नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ फर्किए ।
विदेशमा अध्ययन गरेको विषयलाई नेपालमा केही नयाँ ढंगबाट काम गरेर थोरै भए पनि रोजगारी सिर्जना गराउने सोचका साथ अघि बढिरहेका घलेले सामूहिक रुपमै केही नयाँ गर्ने सोच बनाए । र, बाँकी साथीभाइसँग पनि छलफल अघि बढाए । चिनजान र समूह बनाउने क्रममा घलेसहितका ६ जनाको सोच मिल्यो र पेपे जन्मियो ।
६ जनामध्ये केही साथीहरु अमेरिकामा रहँदा नै चिनजान थियो भने केही नेपालमा आएर भेट भएको थियो । तर, उनीहरु सबैको भावना एउटै थियो कि नेपालमा केही नयाँ गर्नुपर्छ । नेपालमा भेटिएका साथीहरु रेष्टुराँमा अनुभव बटुलिसकेका थिए । त्यही भएर पनि यस क्षेत्रमा काम गर्नका लागि सहज भयो ।
२०१६ को जुनमा छलफल गरियो । अमेरिका र युकेमा पढ्दा र काम गर्दा सबैले सस्तोमा खाने खाजा भनेकै पिजा थियो । विषेश गरेर विद्यार्थीहरुलाई सस्तो र राम्रो खाजाको रुपमा पिज्जालाई लिने र त्यही अनुसारले खाने गरिन्थ्यो ।
‘हामीले पनि अमेरिकामा सबैभन्दा बढी खाने भनेकै पिज्जा र बर्गर नै थियो’, सञ्चालकमध्येका गुुरुङले भने, ‘आफ्नो आर्थिक क्षमताले भ्याउने खालका खाजा भनेकै पिज्जा र बर्गर भएकोले धेरै खाने खाजाभित्र पर्ने गरेको हो । ४/५ डलरमै ३/४ जनालाई पुग्ने पिज्जा र बर्गर खान पाइथ्यो । तर, नेपालमा पिज्जा खानु भनेको त्यो समयमा धेरै महँगो पथ्र्यो ।’
मध्यम वर्गीय र विद्यार्थीहरुलाई नेपालमा त्यति बेला सहजै रुपमा पिज्जा खान सक्ने अवस्था थिएन । यहाँको त्यस्तो अवस्था देखे पनि यो ट्रेन्डलाई केही सहज बनाउनुपर्छ भन्ने सोच आयो र सबैलाई सहज हुने गरी २०० देखि ३०० रुपैयाँसम्ममै पिज्जा उपलब्ध गराउने गरी काम सुरु गरिएको बताए ।
अहिले पेपेमा स्लाइस पिजा १०० रुपैयाँमा पनि पाइन्छ । २ सयदेखि ५ सयभन्दा मुनिको मूल्यमा पिज्जा पाउन सकिन्छ । यसले विद्यार्थीदेखि युवाहरुको मन जितिरहेको छ ।
परिवारलाई भेट्न नेपाल आएकै बेला उनले पनि पिजासम्बन्धी व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका थिए । ‘मलाई पनि बुबा–आमाले अब नेपालमै केही गर्नुपर्छ, अमेरिका छोड भनिरहेका बेला यता साथीहरुले नयाँ व्यवसाय सुरु गरेको थाहाँ पाउँदा म पनि त्यहाँ सहभागी भएँ’, उनले भने ।
अमेरिकामा अध्ययनका लागि रहँदा करिब १० वर्ष रेष्टुराँमा काम गरेको अनुभव उनमा थियो । त्यहाँ चार पाँच वर्ष रेष्टुराँमा व्यवस्थापकको रुपमा समेत काम गरेका थिए उनले । त्यति मात्र होइन, उनले रेष्टुराँमा भाडा माझ्नेदेखि वेटरको काम गरेको अनुभव पनि बटुलिसकेका छन् ।
भाटभटेनीमै किन ?
भाटभटेनीमै मात्र पेपे पिज्जा राख्नुको मुख्य कारण हामीलाई उहाँहरुले धेरै सहयोग गर्नुभएको छ । विदेशबाट फर्किएर नेपालमै केही गर्न चाहनेका लागि सहयोगी बन्ने तथा सस्तो र सुलभ दरमा भाटभटेनीले पेपे पिजाको लागि ठाउँ उपलब्ध गराएका कारणले अधिकाशंमा शाखा विस्तार गर्दै गएको उनी बताउँछन् ।
रोजगारीसमेत सिर्जना गरेका कारणले भाटभटेनीले सहयोग गर्दै आएको छ । यस्तो हुँदा भाटभटेनीमा आउने ग्राहकहरुलाई पनि सहज भएको छ । सपिङ्ग गर्न आउनेहरुलाई पनि खाजा खानका लागि उपयुक्त गन्तव्य बनेको छ ।
अहिले काठमाडौं उपत्यकाभित्र ९ वटा र उपत्यकाबाहिर ५ वटा सञ्चालनमा छन् । इटहरी, भैरहवा, नेपालगन्ज, हेटौंडा, पोखरामामा सञ्चालनमा आइसकेको छ ।
सुरुमा करिब २० देखि ३० लाखको लगानीमा सुरु भएको थियो । तर, अहिले १४ वटा शाखा खुलिसकेका छन् । एउटा शाखा खोल्नका लागि करिब १ करोड रुपैयाँ लगानी लाग्छ । अहिले पेपे पिज्जासँग ३०० भन्दा बढी कर्मचारीहरुले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।
फ्रेन्चाइजीमा छैन सोच
अहिले फ्रेन्चाइजीका लागि धेरैले माग गर्छन् । तर, केही समय आफैं चलाउने भनेर लागेका छन् उनीहरु । तत्कालै आफूहरुले नै चलाउने र सक्षम भएपछि मात्र फ्रेन्चाइजीमा लाने योजना छ ।
धेरै चलाउनेभन्दा पनि सबै भाटभटेनीमा पेपेको शाखा विस्तार गर्ने योजना रहेको उनीहरुले बताए । साथै पोखराको लेकसाइडमा पनि पेपेको शाखा खोल्ने योजना बनाएका छन् ।मार्जिन धेरै नराखेकै कारण अन्यमा भन्दा सस्तो मूल्यमा पिजा दिन सकेको बताइन्छ ।
विद्यार्थी कर्मचारीहरुलाई १५०० रुपैयाँ छात्रवृत्ति
पेपेमा काम गर्नेहरु अधिकांश विद्यार्थीहरु छन् । विद्यार्थीहरुलाई अध्ययनका लागि पनि पर्याप्त मात्रामा समय दिएका छन् । ‘म आफैंले पनि अमेरिकामा भाँडा माझेर कलेज पढ्न जाने गरेको अनुभव सुनाउने गरेको छु’, सञ्चालक गुरुङले भने, ‘काम भनेको सानो र ठूलो भन्ने हुँदैन । त्यसैले सबैले कामको सम्मान गर्नुपर्छ ।’
यस्तै विद्यार्थीलाई पढ्नका लागि सहयोग गर्दै आएका छन् । जति बेलासम्म पढाइ हुन्छ, पढ्न पाइन्छ । यदि कसैको परीक्षा छ भने लामो समयसम्म बिदा दिने गरिएको गुरुङको भनाइ छ ।
पेपेमा ६ महिना काम गरिसकेकाहरुलाई अध्ययनका लागि थप १५०० रुपैयाँ छात्रवृत्तिसमेत दिने गरेको छ । पैसाकै कारण अध्ययनका लागि कसैलाई समस्या नहोस् भनेर प्रतिमहिना १५०० रुपैयाँ दिइएको सञ्चालकहरु बताउँछन् ।
हालसम्म ५० जना भन्दा बढीले यो सेवा पाइसकेका छन् । तर, कोभिडका बेला भने केही समय रोकिए पनि अब त्यसलाई निरन्तरता दिने योजना पेपेले बनाएको छ ।
यस्तै पेपेमा सबैभन्दा बढी महिला कर्मचारीहरु छन् ।
युवाहरुलाई लक्षित गरी पेपेपले मच्छेन्द्र क्लबलाई मुख्य प्रायोजन गरेको छ । यस्तै ह्याप्पी चिल्डर्न नामक बालगृहका लागि एउटा पिजा खाएबापतको ५ रुपैयाँ दिने गरिएको छ । उनीहरुकै ग्रुपले वल्डट्रेड सेन्टरमा घान्द्रुक किचन पनि सञ्चालनमा ल्याएको छ ।
आफ्नै आइसक्रिम उद्योग र पोल्टी फार्म
४÷ ५ वर्ष रेष्टुराँ गरेपछि पेपे पिज्जाकै ग्रुपले आइसक्रिमको उद्योग समेत स्थापना गरिसकेका छन् । केहि महिना अघि मात्र सार्वजनिक गरिएको आइसक्रिम हरिसिद्धिमा रहेको छ । त्योसँगै चिज पनि उत्पादन गर्दै आएको छ ।
यस्तै इटहरीमा पोल्टीफार्म समेत सञ्चालनमा ल्याएको छ । आफ्ना रेष्टुराँहरुमा आवश्यक पर्ने मासुका आयातका लागि पोल्टी फार्म सञ्चालन गर्दै आएका हुन् । योसँगै । कोभिडका बेला होम डेलिभरीका लागि सहज बनाउनका फुटबर्टस पनि सञ्चालनमा ल्याएका छन् ।
सामाजिक काममा पनि सक्रिय
युवाहरुलाई लक्षित गरि मच्छेन्द्र क्लबलाई मुख्य प्रायोजन गरेका छन् । यस्तै ह्याप्पि चिल्डेन नामक बालगृहका लागि एउटा पिजा खाए बापतको ५ रुपैयाँ त्यहाँ दिने गरिएको छ । कोभिडका कारण रोकिएको थियो तर अहिले भने त्यसलाई निरन्तरता दिन थालिएको छ ।